बेलायतमा जुलाई ४ मा सम्पन्न आमनिर्वाचनमा भारी बहुमत ल्याउन सफल लेबर पार्टीले सरकार गठन गरी काम थालिसकेको छ । प्रधानमन्त्री किअर स्टार्मर आफ्नो वाचाअनुरूप बेलायतलाई परिवर्तनको अनुभूति दिलाउन प्रयत्नरत छन् । तर सोही निर्वाचनबाट एक युवा भने निकै चर्चामा आए । ती हुन्, साम कार्लिङ । २२ वर्षको उमेरमै बेलायती संसद्मा निर्वाचित भएपछि उनी एकाएक चर्चामा आएका हुन् । क्याम्ब्रिज विश्वविद्यालयबाट विज्ञानमा स्नातक सामले भेट्रान कन्जरभेटिभ सांसद शैलेश बारालाई पराजित गर्दै सांसद भएका हुन् । बाराले नर्थ वेस्ट क्याम्ब्रिजसायर क्षेत्रबाट विगत २० वर्षदेखि चुनाव जितिरहेका थिए । तर यसपालिको चुनावमा भने उनी नवयुवा सामसँग ३९ मतले पराजित भए । त्योसँगै सामले भने बेलायती सांसद हाउस अफ कमन्समा पाइला राख्न पाएका छन् । हाउस अफ कमन्सको सबैभन्दा कान्छा सदस्य सामलाई कतिपयले एउटा अनौपचारिक उपाधि दिएका छन् ‘बेबी अफ द हाउस’ ।
सामकै शब्दमा उनी आफ्नो विजयलाई एउटा ‘राजनीतिक भूकम्प’ मान्छन् । उनलाई विश्वास छ आफ्नो जितले अरू थप युवा पनि सार्वजनिक पदमा उभिनेछन् । तर, वेस्ट मिनिस्टरमा आफ्नो उमेरलाई ध्यान केन्द्रित गर्न नचाहेको उनको भनाइ छ । ‘म चाहन्छु कि हामी युवाहरूको उमेरको यो अनौठो मानसिकताबाट टाढा जानुहोस् । जहाँसम्म मलाई सरोकार छ हामी अरू कोही जस्तै छौं । म केवल काममा केन्द्रित हुन चाहन्छु,’ उनले बीबीसीसँग भनेका छन् ।
बेलायतमा पछिल्लो समय देखापरेको सामाजिक र आर्थिक क्षयीकरण तथा वेस्ट मिनिस्टरमा गरिएका निर्णयहरूबीचको सम्बन्ध देखेर आफू राजनीतिमा होमिएको उनको भनाइ छ । कार्लिङ इंग्ल्यान्डको उत्तर–पूर्वको एउटा ग्रामीण सहरमा हुर्केका हुन् उनी । साम उक्त स्थानलाई ‘धेरै थोकबाट वञ्चित क्षेत्र’ बताउँछन् ।
प्रतिक्रिया