अष्टिम्की : प्रकृति र मानव जीवनको महिमा

अष्टिम्की : प्रकृति र मानव जीवनको महिमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हरेक समुदायमा रहेको चाडबाड, उत्सवलगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ। नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति, समुदायको आ–आफ्नै कला, संस्कृतिहरू रहेका छन्। चाडपर्व, चालचलन रहेका छन्।

यसले देशको सांस्कृतिक महत्वलाई जीवन्त बनाउँछ र एक अर्को समुदायबीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ। आज थारू समुदायमा मनाइने एक महत्वपूर्ण चाड ‘अष्टिम्की’ को बारेमा केही चर्चा गरिनेछ

अष्टिम्की मूलतः थारू समुदायमा महिलाहरूको पर्व हो। र स्वेच्छा अनुसार पुरुषहरू पनि ब्रत बस्न सक्छन्। यो पर्वमा दिनभरि ब्रत बस्ने चलन छ। अब लागौं यो पर्व के हो ? किन मनाइन्छ ? कसरी मानिन्छ भन्नेतिर।

हरेक पर्वसँग पौराणिक, ऐतिहासिक अथवा लोक मान्यता जोडिएका हुन्छन् र यिनै मान्यताहरू नै चाडपर्वका खास आधार पनि हुन्। यसकारण अष्टिम्कीका लोक मान्यताहरू के के हुन् यस बारेमा जान्न जरुरी छ। खास गरेर अष्टिम्की सम्बन्धी तीनवटा मिथकीय मान्यता प्रचलनमा रहेका छन्। १. लोककथा, २. अष्टिम्की गीत ३. कृष्ण लीला। यसैले अष्टिम्की बुझ्नका लागि यी तीनवटा मिथकहरूका बारेमा चर्चा गरौं।

लोककथा-१

जब गुर्बाबा (सृष्टिकर्ता) जल, थलको सृष्टि गरिसकेपछि वनस्पति हुँदै जीवजन्तुहरूको उत्पत्ति भयो। पृथ्वीमा मानिस सर्वश्रेष्ठ प्राणीको रूपमा देखा पर्‍यो। विभिन्न चरण पार गर्दै जब कृषि प्रणालीमा प्रवेश गर्छ त्यसैबेला एक एउटा संयुक्त परिवार थियो। उनीहरू सात भाइ छोराहरू थिए। सबै भाइहरू मिलेर काम गर्थे र वर्षभरिलाई खेतबाट अन्न उत्पादन गर्थे। उनीहरू खेतीपाती सकिएपछि प्रत्येक वर्ष हलो, जुवा काट्न जंगल जान्थे।

एक पटक साउन–भदौमा खेती सकिएपछि उनीहरू सातै भाइ हलो–जुवा काट्न जंगल निस्किए। जंगल टाढा थियो, यसकारण उनीहरूले एक दुई दिनको खर्च बोकेर गएका थिए। यसरी जंगल गएका श्रीमानहरू समयमा नआएपछि तिनीहरूका श्रीमतीहरू पनि आत्तिन थाले। उनीहरू गएकै दिनदेखि प्रत्येक दिन घर भित्तामा धर्को तानेर चिनो चलाउँथे।

दिन बिर्सिन्छ भनेर पहिले घरको भित्तामा धर्को तान्ने चलन थियो। जब सातौं दिनसम्म पनि कोही नआएपछि उनीहरू चिन्तामा परे र उनीहरूको आश पनि टुट्यो। चिन्ताले गर्दा आठौं दिन उनीहरूले चुलो बारे। कुनै खाना पाकेन, पानी समेत खाएनन्। बालबच्चाहरू बासी भात र बारीमा फलेका काँक्रा खाएर रहे।

ठीक त्यसै साँझ सातै भाइ छोराहरू टुप्लुक्क आइपुगे। घरमा निकै खुशियाली छायो। सबैले खाना, भात–भान्सा पनि वास्ता गरेनन्। सबै वृत्तान्त सुन्न र सुनाउनमै मस्त रहे। रात त्यसै बित्यो। तर घरमा एकजना कान नसुन्ने बूढीआमा थिइन्।
उनले आँखाले देखे पनि कानले भने केही सुन्दिनथिन्। त्यसैले उनलाई पनि बुझ्न सजिलो होस भनेर एक भाइ छोराले सबै वृत्तान्तहरू भित्तामा चित्रहरूमार्फत जनाउने कोसिस गरे।
जब भाले बास्यो सबै बुहारीहरू रातभरि खाएका काक्रो लगायतका फलफूल बोक्राहरू लिएर खोलातिर नुहाउन गए र मीठो पकवान तयार गरे। आफ्नो श्रीमानहरूलाई खुवाइबरी सुखद् सन्देश बोकेर केही पाहुर लिएर आफ्नो चेलीबेटी कहाँ गए र सुख–दुःखका कुरा गरेर फर्किए। यसरी कालान्तरमा अष्टिम्की एउटा पर्वको रूपमा स्थापित भयो। अहिलेसम्म यो चलन कायमै छ।

लोककथा-२

थारु समुदायमा एउटा लोकगाथा छ ‘गुर्वावक जल्मौटी’। जुन लोकगाथा थारु समुदायको सबैभन्दा पुरानो गाथाको रूपमा मानिन्छ। जसको सार यस्तो छ: कुनै समय यो पृथ्वी कुनै आकार थिएन अथवा पृथ्वी नै थिएन। पछि गुर्वावाले एउटा आकार दिए। सुरुमा यो पृथ्वी पूरै जलमग्न थियो। यहाँ कुनै प्राणीहरू थिएनन्। गुर्वावा यो शून्यतामा रहन सकेनन्। उनले पातालबाट माटो ल्याएर थलको विकास गरे। जहाँ सुरुमा कुशको सृष्टि गरे। कुश उम्रिएर हरियो भयो। त्यसपछि क्रमश: अन्नबाली लगायत अन्य वनस्पतिहरूको सृष्टि गरे। त्यसैगरी मान्छे लगायत अन्य जीवजन्तुहरूको पनि सृष्टि गरे।

जीवन प्रणालीको विकास पनि गरे। हरेक वनस्पतिहरू समय अनुसार फुल्ने फल्ने भयो। जीवजन्तुहरूमा कुन जीव कति महिनामा जन्मने औसत उमेरसम्म बाँच्ने ? बनाए। मानिस सबैभन्दा बौद्धिक प्राणी बनाए। मानिसले अलग्गै जीवनशैलीको विकास गर्‍यो। खेती प्रणालीको विकास गर्‍यो आफ्नै शैलीमा बाँच्न थाल्यो।

लोककथा-३

अष्टिम्कीको गीत हेर्ने हो भने गुर्बाबाले यो पूरै सृष्टि गरेको देखाउँछ। जब गुर्बाबाले यो पृथ्वीको सृष्टि गरे, त्यसबेला यो पूरै जलमग्न थियो। पछि गुर्बाबाले पातालबाट माटो ल्याउनको लागि गँगटोलाई पठाए। गँगटोलाई पाताललोकका पहरेदारहरूले नियन्त्रणमा लिन्छन्।

त्यसपछि कुमालकोटी, बिच्छी लगायतका जीवहरूलाई माटो लिन पठाइन्छ तर सबै समातिन्छन्। अन्तिममा गड्यौलालाई पठाइन्छ र उसले आफ्नो पेटमा माटो बोकेर ल्याउँछ। त्यही माटोले यो हामीले टेकेको जमिन बनाउँछ। त्यसपछि यहाँ विभिन्न वनस्पति, जीवजन्तुहरूको उत्पत्ति हुन्छ।

मानिस सबैभन्दा बौद्धिक र सचेत प्राणीको रूपमा देखा पर्छ। मानिसले अन्य जीवजन्तुभन्दा भिन्नै सभ्यताको विकास गर्छ। जीवनयापनका लागि विभिन्न विकल्पहरू खोज्न थाल्छ। खेती प्रणालीको विकास हुन्छ।

इसरू प्रमुख पात्र। उनी एउटा किसान परिवारमा जन्मिन्छन्। उनको विवाह जासुसँग हुन्छ। खेतीकिसानी भएकोले एक दिन हलो जुवा काट्न जंगल जान्छन्। जब काठ लिएर आएपछि हलो कसरी बनाउने उनलाई थाहा हुँदैन उनकी श्रीमती जासुले सिकाएपछि उनी हलो तयार गर्छन् र त्यसैले खेतीपाती गर्छन्। समयक्रम अनुसार जासु गर्भवती हुन्छन्।

गर्भवती भएपछि गाउँको एकजना डेगिया भन्नेलाई इसरूले सोडेनी बोलाउन पठाउँछन्। सोडेनीको घर उनलाई थाहा हुँदैन। बोलाउन जाने आदेश भएपछि ऊ सोध्दै–सोध्दै जान्छ। बाटोमा सुरुमा बाख्रा चराउनेलाई सोध्छ, उसलाई थाहा हुँदैन, उसले भेडा चराउनेलाई सोध्न पठाउँछ, भेडा चराउनेलाई पनि थाहा हुँदैन उसले सुँगुर चराउनेलाई पठाउँछ।

यस्तै गाई–गोरु, भैंसी, घोडा, ऊँट, हात्ती चराउने सबैसँग सोध्दै, उसले कुवामा पानी लिन आएका महिला, जुत्ता सिउने सार्की, लुगा सिउने दमाई, फलाम पिट्ने लोहार, सुनको गहना बनाउने सुनार सबलाई सोध्छ तर कसैले भन्न सकेको हुँदैन। अन्त्यमा लुगा धुने धोबीकहाँ पुग्छ र धोबीले सुडेनीको घर बताइदिए पछि, उनी सुडेनी कहाँ पुग्छन्।

पुगेर सुडेनीलाई इसरूले लिन पठाएको सुनाउँछ। तर सुडेनीले ससम्मान हात्ती लिएर आए मात्रै जाने सुनाउँछिन्। डेगिया फर्किन्छ र इसरुलाई सुडेनीको सन्देश सुनाउँछ। इसरू हात्ती लिएर डेगियालाई पठाउँछन्। हात्ती लिएर सुडेनीको घर पुगेपछि हात्तीको सुपा जस्तो कान अजंगको शरीर देखेर उनी मूर्छा पर्छिन्।

अर्कोपालि घोडा लिएर आउने आग्रह गर्छिन्। घोडा लिएर जाँदा घोडा कराएको सुनेर घोडामा पनि नआउने कुरा गर्छिन्। एवं प्रकारले ऊँट लगायतका सवारीको माग गर्छिन् अन्तिममा उनी सुनको खाटसहितको डोलीमा जान मन्जुर हुन्छिन्। उनी इसरूको घर पुगेर आफ्नो कर्तव्य पालना गर्छिन्। इसरू र जासुको पहिलो सन्तानको रूपमा कान्हा जन्मिन्छ।

सुस्त–सुस्त कान्हा बढ्दै जान्छन्। गाउँका केटाकेटीहरूसँग खेल्न थाल्छन्। बाख्रा चराउन सक्ने भएपछि आमाले उनलाई बाख्रा, गाई–गोरु चराउन जाने आग्रह गर्दा उनले आफूसँग काठको पौवा, लट्ठी, छाता नभएकोले नजाने अडान लिन्छन्। उनकी आमाले आज तेरो मामालाई बनाउन भन्छु, बनायो भने दिन्छु भनेर सम्झाएर पठाउँछिन्। उनी मामाको सबैभन्दा प्यारो भान्जा थिए। उनको मामाले उनले मागेको सबै चिज बनाएर पठाइदिन्छन्।

उनी केही समयमा जवान हुन्छन्। गाई गोठालासँग रमाउन थाल्छन्। उसलाई बाँसुरी बजाउने रहर जाग्छ तर उनको आफ्नो बासुरी हुँदैन। यो कुरा आफ्नो आमालाई सुनाउँछन्। आमाले उनको मामालाई भन्छिन्। मामाले आफ्नो प्यारो भान्जाको लागि सुनको बाँसुरी बनाएर पठाइदिन्छन्।

अब कान्हा बाँसुरी लिएर खुसी हुँदै गोठालो जान थाल्छन्। उनी अब्बल बाँसुरी बादक निस्किए। उनको बाँसुरीको सुरिलो धुनले उनकै माइजू उनको प्रेममा फस्छिन्। आफ्नै माइजूसँग उनको गहिरो प्रेम सम्बन्ध गाँसिन्छ। आफ्नै भान्जासँग श्रीमती प्रेमजालमा फँसेको कुरा चाल पाएपछि मामालाई असह्य हुन्छ। तर अति माया गर्ने भान्जालाई कुनै पनि बहानामा केही गर्ने अवस्थामा थिएनन्।

भाञ्जा मारे बाहुन मारे बराबर पाप हो भन्ने ठानेर उनले एक दिन भान्जा कान्हालाई नागराजको निगरानीमा रहेको फूल टिप्न पठाउँछन् फूल टिप्न जाँदा नागराजले डसेपछि उनी मर्छन् र मात्र म मेरो श्रीमती पाउँछु भनेर। मार्नका लागि षडयन्त्रपूर्वक फूल टिप्न पठाउँछन्।

मामाको इच्छाविपरीत कान्हाले अस्वीकार गर्न सकेनन्। र, उनी खुशी साथ फूल लिन हिंडे। पुगेर जब उनी फूल टिप्न खोज्छन् त्यसैबेला नागराजले डस्छ। उनी मूर्छा पर्छन्। तर कान्हालाई उनकै प्रेमिका माइजूले नागराजले डसेको उपचार सिकाएर पठाएकी थिइन।

कान्हाले माइजूले सिकाएको विधि पूरा गरे। उनी फेरि ब्युँझिए र फूल ल्याएर आफ्नो मामालाई पूजाको लागि दिए। मामाको षडयन्त्र पनि कान्हालाई थाहा थियो। त्यसैले मामा जब उनले ल्याएको फूल चढाएर पूजा गरी ढोगिरहँदा कान्हाले तरवारले आफ्नो मामाको बध गरे। अन्त्यमा उनी आफ्नी माइजूसँग विवाह गरे।

हस्तचित्र

अष्टिम्कीमा घरको बहरी (प्रवेशद्वारको पहिलो कोठा, बैठक कोठा)को उत्तरपट्टिको भित्तामा हस्तचित्र बनाउने चलन छ। जसमा विभिन्न मानवाकृति र प्राकृतिक चित्रहरू बनाएका हुन्छन्। जुन मानव जीवनशैलीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको हुन्छ। उहिले, अहिलेको जस्तो चित्र बनाउनका लागि पर्याप्त रूपमा रंगहरू पाइँदैनथ्यो।

चित्र बनाउनका लागि सिमीको पात निचोरेर हरियो र पोइ भन्ने जातको पाकेको फल निचोरेर रातो रङ बनाइन्थ्यो। त्यसैगरी अन्य रङहरू पनि बनाइन्थ्यो। चित्र बनाउनु भन्दा पहिले ‘ढौरा’ भन्ने एक विशेष प्रकारको माटोले भित्ता पोतिन्छ।

चित्र बनाउनुभन्दा पहिले विभिन्न रंगहरूको बुट्टाले घेरा बनाइन्छ र त्यही घेराभित्र चित्र बनाइन्छ। यो चित्र बनाउनको लागि कुनै विशेष कालिगडको जरुरत पर्छ भन्ने छैन। यो चित्र सिकारुहरूले पनि बनाउन सक्छन्। घेराभित्र पनि तीनवटा कोठा हुन्छ। त्यसको माथि अर्को सानो कोठा हुन्छ। जसमा गुर्बाबाको प्रतीक बनाइएको हुन्छ। जुन उल्टो पारेर बनाइन्छ।

तीनवटा कोठामध्ये माथिल्लो कोठामा बिजोर संख्यामा पुरुषाकृति बनाइएको हुन्छ। यसमा तीनदेखि सात वटासम्मको चित्र बनाउन सकिन्छ। तर केही ठाउँमा सोभन्दा पनि बढी बनाएको पाइन्छ। धेरै मिहिनेत लाग्ने हुनाले धेरै संख्यामा चित्र बनाउन नसकेको हो। संख्यामा छेकबार छैन। तर यो बिजोर संख्यामा हुनुपर्ने कुरामा भने सबैको एकरूपता देखिन्छ।

सबैभन्दा माथिल्लो कोठामा पुरुषहरूको चित्र बनाइन्छ। बनाइएका चित्रमा मादल भिरेका, बाँसुरी बजाइरहेको, बन्दूक बोकेको तथा छाता ओढेको पाइन्छ। यस चित्रले पुरुषहरूको विभिन्न क्रियाकलाप र अवस्थाको बारेमा सम्बोधन गर्छ। त्यसको बायाँ कुनामा चन्द्रमा र दायाँ कुनामा सूर्यको पनि चित्र बनाइएको हुन्छ। थारू प्रकृति पूजक हुन् भन्ने कुरा बायाँपट्टि चन्द्रमा र दायाँपट्टि सूर्यको चित्रले प्रमाणित गर्छ।

त्यसैगरी त्यसको ठीक तल्लो कोठा अथवा बीचको कोठामा पनि माथिल्लो कोठामा बनाइएको पुरुषाकृति संख्याको बराबरमा महिलाकृति बनाइन्छ। उनीहरूको दुवै छेउमा जोक्करको पनि चित्र बनाइएको हुन्छ। नाचमा जोक्करको पनि ठूलो भूमिका हुने भएकोले ती चित्र बनाइएको हुनुपर्छ।

सबैभन्दा तल्लो कोठा माथिको दुवै कोठाभन्दा ठूलो हुन्छ। यसमा विभिन्न प्रकृतिसँग सम्बन्धित आकृतिहरू बनाइएको हुन्छ। जुन यहाँ बुँदागत रूपमा प्रस्तुत गरिएको छ:
रोइना: तल्लो कोठाको पश्चिमपट्टि रोइनाको चित्र बनाइएको हुन्छ जसको बाह्र वटा टाउका हुन्छन्। त्यसैले यसलाई बरमुर्वा पनि भनिन्छ।

कसैकसैले यसलाई रौना (रावण) को प्रतीक पनि भन्ने गरेका छन्। तर रावणको जीवन र आचरणसँगको दुवै घटना परिघटना अष्टिम्कीको न गीतमा पाइन्छ, न कुनै लोकोक्ति, कथा, किम्बदन्तीमा पाइन्छ। त्यसकारण रोइना रावण नभएर थारु समुदायको आफ्नै मौलिक पात्र हो भन्ने कुराको पुष्टि हुन्छ। उनको चित्र बनाए पनि उनलाई पूजा गर्ने चलन भने छैन। उनको चित्रमा टीका लगाएमा लगाउनेको बच्चाबच्ची रुने जस्ता चरित्रका जन्मिने जनविश्वास छ।

डोलीः मानव मात्रै होइन पशुपन्छीहरूमा एक अर्का आत्मीय सम्बन्ध रहन्छ। तर मानिस बौद्धिक प्राणी भएकोले समयक्रमसँगै सम्बन्धलाई औपचारिक रूप दिन थाल्यो। जसलाई विवाह भनेर भनियो। विवाह सृष्टिको औपचारिक रूपमा पनि लिइन्छ। विवाहको पहिलो दिन डोली चढेर आफ्नो श्रीमानको घर जानुपर्ने भएकोले डोली अनिवार्य हुन्छ।

कजरिक वनवाः घना जंगललाई कजरिक वनवा भन्ने बुझाउँछ। जंगलमा काठ, वन्यजन्तु, पशुपन्छी रहने बासस्थानको रूपमा लिइन्छ। कमलको फूलः फूल सुन्दरताको प्रतीकको रूपमा लिइन्छ। यसको पात खाना खानका लागि पनि प्रयोग गरिन्छ। अष्टिम्कीको लोककथामा जंगल गएका सात भाइ छोराहरूले थालको अभावमा यसैको पातमा खाना खाने गर्दथे।

मयूरः मयूर नौरंगी सुन्दर चरा हो।

लाउ (डुङ्गा): अष्टिम्कीमा डुङ्गा यातायातको साधनको प्रतीकात्मक चित्रण गरिएको छ।

रैनी मछरियाः रैनी माछा एक अद्भुत माछा हो जुन जल–थल दुवै ठाउँमा बस्न सक्छ। सृष्टिकर्ताले जब यो पृथ्वी सृष्टि गर्नेबेला जल (पानी) र थल(जमिन) बनायो र पृथ्वीमा मत्स्य अवतारको रूपमा रैनी माछाको जन्म भयो। र अष्टिम्कीमा पनि यसको चित्र बनाउने गरिएको छ।

हलो जोत्दै गरेको मान्छेः विभिन्न समयसँगै मानव जीवनयापनका लागि खेतीपाती गर्नुपर्ने भएकोले मानव जीवनशैली र कृषि प्रणालीको बिम्ब।

भालेः समयबोधक पन्छी जसको बोली सुनेर मानिसले समय निर्धारण गर्छन्। अष्टिम्कीमा पनि समयभित्र सबै काम गर्नुपर्ने भएकोले भालेको ठूलो भूमिका रहेको छ।

सख्ली कुकनियाः सुरक्षाको लागि सख्ली कुकनियाँको ठूलो भूमिका छ। कुकुर एक बफादार पहरेदार जनावर हो। त्यसकारण पहरेदार सुरक्षाको लागि सख्ली कुकनियाँ आँगनमा रहेको ठूलो रुखमुनि बाँधिएको हुन्छ।

त्यसैगरी हात्ती, घोडा, बाँदर, चराचुरुंगी, माछा, कछुवा, गोही, बिच्छी, सर्प लगायतका जनावरहरू प्राकृतिक सम्पदाको रूपमा रहेकोले अष्टिम्कीमा सबै चराचुरुंगी, पशुलगायतको चित्रले स्थान पाउँछ।

अष्टिम्की दुई किसिमको हुन्छ। बर्का र छुट्की दुवैमा चित्र उही नै हुन्छन्। तर आकारमा भने साना–ठूला हुन्छन्। दिनभरि भोकै ब्रत बसेकाहरूले बर्का अष्टिम्कीमा पूजा गर्छन् भने स–साना बच्चाहरू भने छुट्की अष्टिम्कीमा पूजा गर्छन्। जो भोकै ब्रत बस्नुपर्दैन। उनीहरू केही कुरा खाएर पनि बस्न सक्छन्।

सामा–जामाः जब साँझ भएपछि अष्टिम्की बनाएको घरका मुली महिला (अगुनियाँ, महटिनियाँ) अष्टिम्की बनाएको बहरीलाई राम्ररी गाईको गोबरले लिपपोत गरेर सतरंगी गुन्द्री, पटकी, ढाँचिया गुन्द्री बिछ्याउनु, जहाँ पूजा गर्न ल्याएका चमाल राख्छन्।

त्यस्तै आवश्यकता अनुसारका सामानहरू जुराउँछन्। सल्लाको धूप, नौनी मिलाएर, सिंदुर, लोटामा पानी र दुई घोगासहितको तरा सहितको मकै अष्टिम्की बनाएको पश्चिमपट्टि राखिएको हुन्छ।

डट्कट्टनः अष्टिम्कीको पहिलो दिन या व्रत बस्नुभन्दा पहिलो भटौर खैना (दर खाने) का लागि दिनभरि माछा मार्ने चलन छ। माछा अरु दिन पनि मारिन्छ तर त्यस दिनको माछा मार्ने कामलाई विशेष मानिन्छ।

दिनभरि लगाएर मारेर ल्याएको माछा धेरै भए साँझको खानासँग खाइन्छ भने केही राति भटौरसँग खानाका लागि बचाइन्छ। यदि कारणवश त्यस दिन माछा मार्न सकिएन भने भटौर नै खल्लो मानिन्छ। भटौर साँझको खानापछि आफ्नो काम सकेर सुतेको केही बेरपछि अथवा भाले बास्नुभन्दा पहिले खाइन्छ। यो खाना अरु दिनको भन्दा विशेष हुन्छ।

माछासँगै अन्य मीठा–मीठा परिकार पनि बनाइएको हुन्छ।

जुन बेसमयमा खाँदा मीठो मानेर खान सकियोस् भनेर त्यस किसिमका परिकार तयार गरिएको हो। यो खाने काम भाले बास्नुभन्दा पहिले हुन्छ। यदि कसैले भाले बासेपछि खायो भने ऊ जुठो परेको ठहरिन्छ र व्रत बस्न पाउँदैन।

पूजाः साँझ परेपछि व्रत बस्नेहरू नयाँ–नयाँ कपडा लगाएर अष्टिम्की बनाएको घरमा जान्छन्। साथमा थालमा एक माना चामल, हरियो काँक्रो, काँक्रो नभए ज्यामिर, भोगटे, स्याउ लगायतका फलफूल लिएर गएका हुन्छन्। थालको चामलमाथि माटोको दियो पनि बालेर लगेका हुन्छन्। त्यहाँ गाउँ या टोलभरिका महिला जम्मा हुन्छन्।

व्रतालु मात्रै नभएर त्यहाँ हेरालुहरूको पनि उस्तै भीड लागेको हुन्छ। सबैजना जम्मा भइसकेपछि त्यस घरको अगुनियाँ पूजा सुरु हुन्छ। अष्टिम्कीको सबैभन्दा माथि अथवा टाउकोमा गुर्बाबाको चित्र बनाएको हुन्छ। टीको लगाउने काम गुर्बाबाको चित्रबाट सुरु हुन्छ र क्रमशः सबै चित्रमा लगाइन्छ। तर सबैभन्दा तल्लो कोठामा बनाएको रोइनाको चित्रमा भने कसैले पनि लगाउँदैनन्। उसलाई टीका लगाएमा रुने खालका बच्चा जन्मिने जनधारणा छ। तर उमेर पुगेका र बच्चाबच्ची भइसकेकाहरूले भने हस्यौली पारामा टीका लगाइदिन्छन्।

यसरी टीका लगाइसकेपछि अगियारी दिने चलन छ। आगोमा सल्लाको धूप, नौनी मिसाएर आगोमा हवन गर्ने प्रक्रियालाई अगियारी भनिन्छ। आगोमा सल्लाधूप र नौनी चढाइसकेपछि पानी विजोर पटक घेरो हाल्ने चलन छ। घेरो हाल्ने कामलाई ‘पर्छन्’ भनिन्छ।

टीका लगाउनु भन्दा पहिले आफूले ल्याएका चामल त्यही बिछ्याइएको गुन्द्रीमा राखेका हुन्छन्। चामलको छेउछाउमा काँक्रा र बीचमा दियो हुन्छ। कसैको पूजा नसकिंदै दियो निभ्यो भने लुकेर केही खाएको अथवा पानी खाएको अनुमान लगाइन्छ। गाउँका केटाहरू काँक्रा काट्न आएका हुन्छन्।

पूजा सकिएपछि उनीहरूले काँक्राको भेट्नो काटेर पातसहित यथास्थानमा राख्छन्। काटिएका काँक्रा हेर्न आएकाहरूलाई बाँड्छन् र बचेका काँक्रा घर लिएर जान्छन्। कसैले पश्चिमपट्टिको कुनामा दुई थान जरा सहितको मकै पनि हुन्छ त्यही मकै टिप्छन्।

फलाहार भोजनः अष्टिम्की विशेष गरेर फलाहार पर्व भएको यसमा फलफूल मात्रै खाने गरिन्छ। जब पूजा सकेर व्रतालुहरू घर फर्किन्छन्। घरमा खानका लागि विभिन्न थरीका फलफूल पनि तयार गरिएको हुन्छ। तर खानुभन्दा यहाँ पनि पूजा गर्नुपर्छ। खाने ठाउँमा गाईको गोबरले लिपपोत गरेर आगो राखिन्छ र त्यसैमा अगियारी दिइन्छ।

अगियारी सल्लाको धूप, नौनी र खानलाई तयारी अवस्थामा रहेका सबै वस्तुबाट मिसाएर आगोमा चढाइन्छ र पर्छने काम गरिन्छ। यति काम सकिसकेपछि आफ्ना चेलीबेटीहरूका लागि ‘अग्रासन’ निकाल्ने गरिन्छ र भोलिपल्ट आफ्ना चेलीबेटीलाई दिन जान्छन्। साँझको खानामा केरा, अम्बा, स्याउ, नासपाती लगायत हुन्छन्।

अष्टिम्की गीतः सबैले खानपिन सकेपछि पुनः अष्टिम्की बनाएको घरमा जम्मा हुन्छन् र रातभर अष्टिम्की गीत आउने गर्छन्। गीत ठाउँ अनुसार कतै महिलाहरूले गाउँछन् भने कतै पुरुषहरूले मात्रै गाउने चलन छ।

देउखुरी क्षेत्रलगायत केही ठाउँमा पुरुषहरूले मात्रै गाउने गर्छन् भने अन्य ठाउँमा महिलाहरूले गाउने गर्छन्। व्रत नबसेकाहरूले दारु खाएर र बसेकाहरू भने फलफूल खाएर रातभर गीत गाउँदै जाग्राम बस्छन्।

गीतको केही अंशः

पहिलेटे सिरिजल जल–ठल ढरटि।
सिरिजिटे गैलाँ हो कुस कई डाभ।।
डुसरे टे सिरिजल अन्न कइ पेरें।
सिरि टे गैलाँ हो अन्न कइ बिरोग।।
टिसरे टे सिरिजल अन्न कइ डाँरे।
सिरि टे गैलाँ अन्न कइ पाट।।
चौटे टे सिरिलज अन्न कइ फुला।
सिरि टे गैलाँ अन्न कइ फल।।

अस्राई जैनाः बिहान भाले बासेपछि घरको अगुनियाँ अष्टिम्कीको डोलीमा अपूर्ण कान्हालाई पूर्णता दिनका लागि अरुकै बारीको कैंठा (चिचिण्डो) चोरेर ल्याउनुपर्छ। चोरेर ल्याएको कैंठाको पूजा गरेर पूर्ण गरिन्छ। यसरी पूर्ण भएपछि कान्हाको जन्म भएको मानिन्छ।

यता भाले बासेपछि ब्रतालुहरूको खाने पिउने कार्य बन्द हुन्छ। उनीहरूले अष्टिम्की विसर्जनका लागि टपरी खुट्न थाल्छन्। टपरी साधारण टपरीभन्दा विशेष प्रकारको हुन्छ। टपरीमा पातकै पाँच या सातवटा दिया जोडिएको हुन्छ।

बिहान जम्मा भइसकेपछि आफ्नो चामलमाथि राखिएको काँक्रोको भेट्नो र पात पनि त्यही टपरीमा राख्छन् र पुनः दियो बाल्छन्। जब अगुनियाँ आफ्नो सबै सामान तयार गरेर निस्किएपछि अरु पनि सँगै लाग्छन् घाट, नदी, कुलोतिर। त्यहीं विसर्जन गरेर नुहाई घर फर्किन्छन्।

फरहारः विसर्जनपछि आफ्नोतिर लाग्छन्। घरमा खँरिया, फुलौरी, पोँइ र झिलंगीको ठुसा, सुकेको माछा, भात तयार गर्छन्। जब तयार हुन्छ, तब ‘फरहार’ गर्नका लागि तयार हुन्छन्। फरहार गर्नेबेला पनि साँझ गरे जस्तै अगियारी दिई आफ्नो चेलीबेटीको लागि अग्रासन निकाल्ने चलन छ।

अग्रासन: चेलीबेटीहरूको नाममा निकालिएको खानेकुरालाई अग्रासन भनिन्छ। सबै काम सकिएपछि आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जान्छन्। यो धेरै दिनपछि दिदीबहिनीहरूसँगको भेटले सद्भाव आत्मीयता बढाउँछ। चेलीहरू आफ्ना दाजु–भाइलाई सम्मान गर्छन्। थारू समुदायमा दारु, मासु खुवाएर सम्मान गर्छन्। भेटघाटबाट मनमा लागेको पीर–व्यथा सुन्ने सुनाउने अवसरको रूपमा पनि लिइन्छ।

यसरी विधिवत् रूपमा अष्टिम्की सकिन्छ। हिजोभन्दा आज अष्टिम्की धेरै फेरबदल भइसकेको छ। प्रकृति पूजक थारु समुदायको यो मौलिक पर्व भए पनि कालान्तरमा आएर यसको बाह्य प्रभाव पनि परिरहेको छ। पहिल्लो समय यस पर्वलाई कृष्णको गाथासँग जोडेर वर्णन गर्न थालिएको छ। र जबरजस्त हिन्दुकरण गर्न थालिएको पनि पाइन्छ।

आम मानिसको बुझाइमा अष्टिम्की र कृष्ण जन्माष्टमी एउटै हो भन्ने गलत बुझाइ रहेको पाइन्छ। तर यसको गहिराइ र वास्तविक त्यसो नभएर अष्टिम्की प्रकृति, सृष्टि र मानव जीवनशैलीको गाथा गाइन्छ। जुन गीत थारु समुदायको सबैभन्दा पुरानो मानिने ‘गुर्बाबक जल्मौटी’ गीतको हुबहु कथावस्तुमा आधारित लयान्तर गरिएको गीत हो।

यो चाड अरु चाडपर्व जस्तै विकृत बन्दै गएको छ। धेरैले आधुनिकताको नाममा फजुल खर्च गर्ने, सम्मानको नाममा महँगा रक्सी, रंगहरूको प्रयोग, मौलिक परिकारभन्दा बाह्य परिकारको प्रयोग अत्यधिक रूपमा प्रयोग गरिएको हुन्छ।

आजको अवस्था रुढ संस्कारलाई परिमार्जन गरेर प्रगतिशील संस्कार निर्माण गर्नु स्वाभाविक हो। तर संस्कार परिमार्जनको नाउँमा त्यसलाई अझ खर्चिलो, महँगा, भड्कावपूर्ण, समाजमा नकारात्मक प्रभाव पार्छ।