प्रकृति प्रतिकूल भएका कारण शतप्रतिशत लक्ष्य हासिल गर्न नसकेको प्रधानमन्त्री ओलीको तर्क

प्रकृति प्रतिकूल भएका कारण शतप्रतिशत लक्ष्य हासिल गर्न नसकेको प्रधानमन्त्री ओलीको तर्क

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कार्तिक ८, २०८१

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले सय दिनमा गरेका उपलब्धि बुधबार सार्वजनिक गरेका छन् । उनले एक सय दिनमा लक्ष्यको ७० प्रतिशत काम सरकारले पूरा गरेको दाबी गरेका छन् । उनले प्रकृति प्रतिकूल भएका कारण ३० प्रतिशत काम गर्न नसकेको तर्क गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकार असफलको (सुशासन कायम, भ्रष्टाचार नियन्त्रण, बाढीपीडितलाई राहत र पुनःस्थापनामा) टिप्पणी भइरहेका समयमा उनले भने उल्लेख्य काम गरेको दाबी गरेका छन् ।उनले भनेः ‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २ सय ७४ वटा मध्ये १ सय ८५ काम सम्पन्न भएका छन् । प्रकृति प्रतिकूल नभइदिएको भए बाँकी काम पनि यो सरकारले पूरा गर्थ्यो,’।

विपद्जन्य ७ हजार १ सय ३५ वटा दुर्घटना भएको र विपत्तिबाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत वितरण, अत्यावश्यक भौतिक पूर्वाधार निर्माण र सेवा सञ्चालनलाई प्राथमिकतामा राखेर सरकारले काम गरेको उनले दाबी गरे । ‘बाढीपहिरोका कारण मृत्यु भएका ३ सय ९१ जनाको परिवारले २ लाखका दरले राहत पाएका छन् । बाढीपहिरोबाट प्रभावित २ हजार ५ सय ५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्कालै राहत प्रदान गरिएको छ,’ उनले भने, ‘संकटग्रस्त क्षेत्र घोषित ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।’ संकटग्रस्त क्षेत्र घोषणा गरिएका क्षेत्रमा खानेपानी, विद्युत्, सडक, सञ्चारलगायतका अत्यावश्यक सेवा १५ दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।

सहकारीमा जम्मा गरेको सर्वसाधारणको रकम अपचलन र ठगी गर्नेहरूलाई सरकारले कानुनी कारबाहीको दायरामा ल्याउनुलाई सरकारको उपलब्धिका रूपमा प्रधानमन्त्री ओलीले चर्चा गरेका छन् । सहकारीको रकम ठगी गर्ने ६ सयभन्दा बढीलाई कानुनी कारबाही गरिएको र ५ सय ७५ भन्दा बढी जेलमै रहेको उनले जानकारी दिए । ‘सहकारी ठगहरूलाई कारबाही गर्ने मात्र होइन, बचतकर्ताको बचत फिर्ता गर्नका लागि आवश्यक पर्ने सहकारी प्राधिकरण ऐन तर्जुमा गर्ने र सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम पनि सँगसँगै अघि बढाइँदै छ ।’

भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामरालाई होइन, कानुनलाई गुरु मानेको र भ्रष्टाचारी समातियो भनेर केही समय हल्ला मच्चिने तर परिणाममा भ्रष्टाचार बढ्दै जाने खालको होइन, परिणाममा भ्रष्टाचार नियन्त्रण हुने कानुनी प्रणाली स्थापना गर्ने पद्धति बसाल्ने हाम्रो प्राथमिकता छ, उनले भने ।

अर्थतन्त्रमा सुधारका संकेत देखिएको जस्को परिणमस्वरूप, एक सय दिनको अवधिमा २ सय उद्योगमा करिब ३४ अर्ब रुपैयाँ लगानीको प्रतिबद्धता आएको उनले दाबी गरे । यहि बीचमा लामो समयदेखि खस्केको सेयरबजारमा सुधार आएको र सरकारको एक सय दिनको अवधिमा बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्न त्रिपक्षीय विद्युत् बिक्री सम्झौता भएको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

उनले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक यही अवधिमा सर्वसम्मतिबाट स्वीकृत र प्रमाणीकरण गरि शान्ति प्रक्रियाको बाँकी कामलाई अघि बढाउन सरकार सफल भएको जनाएका छन् ।

एक वर्षअघिको भूकम्पबाट प्रभावित जाजरकोट, रुकुम पश्चिम र आसपासका जिल्लामा पुनर्निर्माण छिट्टै अघि बढ्ने बताएका छन् । एक सय दिनमा ४ हजार ३८ किलोमिटर सडक मर्मत र ३२.५ किलोमिटर सडक कालोपत्र गरिएको तथ्यांक उनले प्रस्तुत गरे । दूधको बक्यौता र उखुको अनुदान रकम किसानले पाउनुलाई पनि सरकारको उपलब्धिका रूपमा उल्लेख गरेका छन् । बितेको एक सय दिनमा लगभग १५ लाख दुग्ध किसानले ६० करोड रुपैयाँ र करिब ७५ हजार उखु किसानले अनुदान भुक्तानी पाएको उनले जनाएका छन् ।

यहीबीचमा किसानलाई बिमाबापतको भुक्तानी गर्न ८० करोड रुपैयाँ बिमा प्राधिकरणको खातामा पठाइएको पनि सरकारको तथ्यांक छ । निर्माण व्यवसायीले पाउनुपर्नेमध्ये संघीय मन्त्रालयबाट ६ अर्ब ७५ करोड रुपैयाँ यस अवधिमा भुक्तानी दिइएको प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले उद्योग मन्त्रालयले खुला आवेदनका माध्यमबाट १६५ युवालाई बिनाधितो २५ लाख रुपैयाँसम्म ‘स्टार्टअप कर्जा’ प्रवाह गरेको तथ्यांक प्रस्तुत गरेका छन् । उनले भने ती युवाले व्यवसाय सञ्चालन गरेर कर्जाको सावाँ÷ब्याजको किस्ता भुक्तानीसमेत सुरु गरेको छन् ।

प्रधानमन्त्री ओलीले बाँकी कामलाई अघि बढाउन सरकार सफल हुने जनाएका छन् ।