बैशाख २, २०८२ मंगलबार
काठमाडौं। आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री तथा एमाले सभापति केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।
उहाँहरुबीच करीब एक घण्टा छलफल भएको थियो। भेटवार्तामा अराजकता नियन्त्रण र सरकार सञ्चालनका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षसँगै सत्ता परिवर्तन हुने अभिव्यक्ति दिइरहेका बेला सत्तारुढ दलका दुई प्रमुख नेताबीच छलफल भएको हो। भेटवार्तामा प्रचण्डले समय सरकार परिवर्तनको हल्ला चलाएर मुलुकमा अराजकता मच्चाउने योजना र सत्ता मोहको छटपटी देखिएको दुई नेताले निष्कर्ष निकाल्नु भएको छ।
उच्चस्तरीय राजनीतिक संयन्त्रभित्रकै केही सदस्यले कांग्रेस–एमाले गठबन्धनबारे आलोचनात्मक टिप्पणी गरिरहेका बेला ओली र देउवाले आपसी समझदारी बढाउन छलफल गर्नुभएको हो।
संयन्त्रको बैठक केही दिनभित्रै डाक्न त्यसको संयोजन समितिलाई आग्रह गरिने नेताहरूले बताउनु भएको छ। संयन्त्रको संयोजकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का हुनुहुन्छ।
प्रतिक्रिया