काठमाडौं । बेलायतीहरुले तेश्रो विश्वयुद्धको आशंकालाई लिएर जोखिमबाट बँच्नका लागि आफूलाई तयारी सुरु गरेसँगै बेलायतमा बाँच्ने तालिम (सर्भाइबल ट्रेनिङ) को माग ७५ प्रतिशतले बढेको छ ।
आणविक बमको एक स्विच थिच्दा हुनसक्ने सम्भावित सर्वनाशकारी विस्फोटबाट आफूलाई बँचाउनका लागि बेलायतीहरुले लामो समयसम्मको खानेकुराको आपूर्तिका साथै कठीन वातावरणका लागि लत्ताकपडा पनि जम्मा गरिरहेका छन् ।
वर्षाको पानीलाई पिउन योग्य बनाई शुद्धीकरण गर्ने मेसिनहरुको माग बढेकोल ेबजारमा अभाव देखिएको छ । साथै यदि ताजा खाद्य आपूर्ति हुन नसकेमा फ्रिज गरिएका तथा सुकाइएका खाद्य पदार्थहरु पनि बजारमा सकिने अवस्था सिर्जना भएको छ । बजारमा २५ वर्षसम्मलाई चल्ने मासुका डिब्बा, सैन्य स्वासयन्त्र तथा खाद्यान्नका प्याकेटहरु पसलबाट रित्तिइरहेका छन् ।
जंगलमा जीवित रहने कला सिकाउने बुसक्राफ्ट कोर्समा भर्ना हुने मानिसहरुको संख्यामा पछिल्लो २ वर्षमा ७५ प्रतिशतको वृद्धिदर देखिएको छ । इस्ट एंग्लियास्थित ‘ब्याक टु वाइल्डरनेस लर्निङ’का संस्थापक रे चिनका अनुसार मानिसहरु वास्तवमा आधारभूत कौशलहरु जस्तै विनाकुनै उपकरण केवल काठलाई एकापसमा रगडेर कसरी आगो बाल्ने भन्ने लगायतका प्राचीन ज्ञान तथा सीपहरु सिक्ने कोसिस गरिरहेका छन् ।
यस्ता उपकरणमा जो छिटै फुट्न वा बिग्रिन सक्छन् मानिसहरु यसमा निर्भर हुन चाहँदैनन् । एक बेलायती पूर्व सैनिक लेह प्राइसका अनुसार रुसले पश्चिमा मुलुकहरुविरुद्ध युद्ध छेड्ने सम्भावनाका कारण आपतकालीन अवस्थामा ज्यानको सुरक्षाका लागि चाहिने सरसामानहरु बेच्ने ‘बग आउट’ पसलहरुको कारोबार तीव्र रुपमा बढेको छ । उनी भन्छन्– तयारीको अर्थ हो आत्मनिर्भरता । यदि तपाईंलाई अचानक जे कुराको आवश्यकता पर्छ त्यो तपाईंसँग छैन भने के होला ?
अहिले हामीहरु सुख सुविधाहरुप्रति अभ्यस्त बनिसकेका छौँ । तर विगतमा सधैं यस्तो थिएन र भविष्यमा पनि हुनेछैन । प्राइसका अनुसार अहिले २५ वर्षसम्म म्याद हुने फ्रिजमा राखिएको सुख्खा मासुको माग तीव्र रुपमा बढेको छ । उनले आफ्नो जीवन रक्षा तालिममा पनि यसको लाभ उठाएका छन् ।
उनका अनुसार पछिल्लो केही वर्षयता बेलायतमा सर्भाइबल ट्रेनिङका पाठ्यक्रममा नाम दर्ता गराउने मानिसहरुको संख्यामा करीब ७५ प्रतिशतले वृद्धि भएको छ ।
उनी भन्छन्– हामी जब पहिलोपटक यस्तो कक्षा सुरु गरेका थियौँ, त्यतिबेला सानो समूहमात्रै थियो र अधिकांश मानिसहरुले घर बाहिर कसरी बँच्ने भन्ने विषयमा जान्ने रुचि राख्दथे । अहिले हरेक बेलायतीसँग एउटा ‘बग आउट ब्याग’ हुनुपर्छ । जसमा जंगलमा ७२ घण्टासम्म जीवित रहनका लागि आवश्यक पर्ने सम्पूर्ण चिज होउन् ।
रुससँगको बढ्दो तनावलाई लिएर युरोपमा धेरै मानिसहरुले भय तथा चिन्ता व्यक्त गरिरहेका छन् । फेसबुक ग्रुप युके प्रेपर्स एण्ड सर्भाइबलिस्ट्सका करीब २२ हजार ५ सय सदस्य छन् ।
उत्तरी युरोपेली देशहरुले आपतकालीन योजना बनाउनमा अग्रणी भूमिका निर्वाह गरेका छन् ।
स्विडेनका अधकिारीहरुले घरमा बोतलबन्द पानी, अलिक तागत दिने खानेकुरा, कम्बल, वैकल्पिक हिटिङ तथा ब्याट्रीबाट चल्ने रेडियो आफूसँग राख्न आम मानिसहरुलाई सल्लाह दिएका छन् ।
त्यसैगरी नर्वेमा मानिसहरुलाई परमाणु आक्रमणको अवस्थामा आयोडिनका चक्की सहित औषधीहरु जम्मा गर्न भनिएको छ ।
त्यस्तै जर्मनीमा भूमिगत तला, ग्यारेज तथा स्टोर रुमलाई बंकरको रुपमा प्रयोग गर्न परिवारहरुलाई सुझाव दिइएको छ ।
उता पोल्याण्डमा नयाँ घर बनाउँदा अनिवार्य रुपमा सुरक्षित आश्रयस्थल बनाउनुपर्ने नियम राखिएको छ ।
–एजेन्सी
प्रतिक्रिया