बिहीबार, चैत २८, २०८१
विराटनगर ।हिजो राती अमाह खोलामा आएको बाढीले उदयपुरको कटारी नगरपालिका–२ मा पर्ने सिमानपुर र कल्याणपुर जोड्ने पुल बाढीले भत्काएको छ। पुलमुनि लगाइएको ह्युमपाइप थुनिएर पुलमा क्षति पुगेको , योजना प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए।
योजना प्रमुख ज्ञवालीका अनुसार उक्त पुल ढलान भएको २० दिन मात्रै भएको थियो। प्रिस्टेष्ट प्रविधिको उक्त पुलले लोड लिनका लागि ढलान भएको २८ दिनपछि केबल हाल्नुपर्ने थियो।
‘ढलानको २० दिन भएको थियो, २८ दिन पुगेपछि केबल राखेर तानेपछि मात्रै पुलले लोड बहन गर्थ्यो,’ ज्ञवालीले भने, ‘यस्तो मौसममा पानी आउँछ भन्ने कसैलाई अनुमान भएन, अचानकको बाढीले ह्युमपाइपबाट बग्ने भन्दा ठूलो पानी आएर पुल क्षतिग्रस्त भयो।’
सूर्य एण्ड सन्स कन्स्ट्रक्सन धरानले निर्माणको ठेक्का पाएको पुल तयार नहुँदै बाढीले क्षति गरेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। तत्काललाई पुल भत्किए पनि इन्स्योरेन्सले उक्त क्षतिको ‘कभर’ गर्ने निर्माण कम्पनीको भनाइ छ।
सडक विभागले ७२ किलोमिटर लामो मिर्चैया–कटारी–घुर्मी सडकको स्तरोन्नति तथा विस्तारका लागि इआइए स्वीकृत गरेर ठेक्का लगाउने प्रक्रियामा रहेको छ। त्यसका लागि करिब ९ अर्ब ४७ करोड लाग्ने अनुमान छ।
यो सडक खण्डभित्र ४ वटा लामो पुल र ७ वटा साना पुल छन्। त्यस्तै २ सय ८९ वटा पाइप कल्भर्ट, ८ बक्स कल्भर्ट, २६ स्ल्याब कल्भर्ट र ५ वटा कजवे निर्माण गर्नुपर्ने उल्लेख गरेर सडक विभागले इआइए स्वीकृत गरेको छ।
प्रतिक्रिया