बिहिबार, वैशाख १७, २०८२
काठमाडौं । शिक्षक–सरकार वार्ता सफल भएको छ । शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल शिक्षक महासंघबीच बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गर्ने गरी मन्त्रिपरिषद् बैठक अघि शिक्षामन्त्री र महासंघको प्रतिनिधिबीच नौबुँदामा सहमति भएको थियो ।
सरकार शिक्षकहरूका नौबुँदे माग सम्बोधन गर्न सहमत भएसँगै २९ दिनदेखि जारी आन्दोलन स्थगित भएको छ ।
सहमति भएका नौ बूँदाहरुः
१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौंमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२. अस्थायी प्रकृतिका शिक्षक (राहत, अस्थायीरकरार साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकास सहजकर्ता)को बिरामी बिदा सञ्चित हुने र सोबापतको रकम सेवाबाट अलग हुँदाका बखत एकमुष्ट रूपमा प्रदान गर्ने ।
३. प्रारम्भिक बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोकिए बमोजिम व्यवस्था गर्ने ।
४. आगामी आव २०८२÷८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकका लागि निजामती सरह ग्रेड संख्या र रकम कायम गर्ने ।
५.स्थायी तथा अस्थायी प्रकृतिका कोटा(राहत, अस्थायी÷करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा)का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।
६.सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।
७. नेपाल सरकारको मर्यादाक्रमको सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।
८. नेपाल शिक्षक महासंघको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा कर्मचारीहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।
९. निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुने गरी कायम गर्ने ।
जारी आन्दोलन रोक्ने महासंघको घोषणा
नेपाल शिक्षक महासंघले जारी काठमाडौंकेन्द्रित आन्दोलन रोक्ने घोषणा गरेको छ । बुधबार सरकार र महासंघबीच नौबुँदे सहमति भएपछि जारी आन्दोलन रोक्ने घोषणा गरेको हो । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबारदेखि शिक्षकहरू विद्यालयमा फर्कने र भर्ना अभियान सुरु हुनेछ ।
विद्यालयमा सिकाउने शिक्षकले सडकमा पनि सिकाए गृ:हमन्त्री
गृहमन्त्री रमेश लेखकले आन्दोलनका क्रममा शिक्षकहरूले देखाएको संयमताको प्रशंसा गरे । उनले विद्यालयमा सिकाउने शिक्षकहरूले सडकबाट पनि सबैलाई सन्देश दिएको बताए ।
आन्दोलनका क्रममा शिक्षकहरूले कुनै पनि अभद्र व्यवहार नगरेकोमा गृहमन्त्रीले प्रशंसा गरे । बरु केही शिक्षक घाइते भएको भन्दै उनले त्यसमा सरकारका तर्फबाट दुःख व्यक्त गरे ।
कक्षा १२ को परीक्षा वैशाख २१ देखि नै
सरकार र महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा आउँदो वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । अब तोकिएकै मितिमा परीक्षा सञ्चालन गरिने शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए ।
प्रतिक्रिया