राष्ट्रिय सभाका अध्यक्ष दाहालद्दारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

राष्ट्रिय सभाका अध्यक्ष दाहालद्दारा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार,बैशाख १८, २०८२

काठमाण्डौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले प्रेस बिज्ञप्ति जारी गरि शुभकामना व्यक्त गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका साथै सु(स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछु। यस दिवसले सम्पूर्ण श्रमिकहरूलाई पेसागत हक हित र अधिकारका लागि सङ्गठित एवम् एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने मैले विश्वास लिएको छु।
आजको दिन श्रमिक वर्गको हक, अधिकार प्राप्तिको लागि मजदूरहरूले सङ्गठित विद्रोहको शुरूवात गरेको दिन हो। पहिलो पटक सन् १८८६ मई १ का दिन अमेरिकाको शिकागो सहरका मजदुरहरूले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको मागसहित आन्दोलन गरेका थिए। त्यही दिनको स्मरण गर्दै नेपाल लगायत विश्वभरका मजदुरहरूले मई १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन्।
नेपाली जनताको ठूलो त्याग, बलिदान र सङ्घर्षको उपलब्धिका रूपमा २०७२ सालमा जारी संघीय गणतान्त्रिक संविधानले प्रत्येक श्रमिकलाई श्रमअनुसारको ज्याला, सुविधा तथा सामाजिक सुरक्षाको हकको व्यवस्था गरेको छ। संविधानको व्यवस्थामा आधारित भएर श्रमिक वर्गको पक्षमा थुप्रै ऐन कानूनहरू बनेका छन्। श्रमिकका पक्षमा बनेका कानून र संविधानप्रदत्त हक कार्यान्वयन भए मात्रै श्रमिक दिवस मनाउनुको सार्थकता हुनेछ।
नेपालमा श्रमजीवी जनताले आफ्नो अधिकारका निम्ति विभिन्न कालखण्डमा सशक्त र सशस्त्र सङ्घर्ष गरेर बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका छन्। किसान, मजदुरसहित सबै उत्पीडित वर्ग, जाति, लिङ्ग, क्षेत्र र समुदायका जनताको सङ्घर्ष र बलिदानको कीर्तिमानकै कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। गणतान्त्रिक व्यवस्थामा श्रमिक वर्गलाई रोजगारी, सुरक्षा र सम्मानजस्ता आधारभूत पक्षमा राज्यले कुनै कमी हुन दिनु हुँदैन। त्यस्तै, कार्यस्थलमा मर्यादित र मजदुरमैत्री वातावरण, समयमा पारिश्रमिक प्रदान गर्नुपर्ने विषयमा राज्यका निकाय गम्भीर बन्नै पर्दछ। सामाजिक सुरक्षा, बीमा लगायतका लोककल्याणकारी सेवाको नीतिगत व्यवस्थाका साथै कार्यान्वयन गर्न ढिलाइ गर्नुहुँदैन। जसरी हिजोका दिनहरूमा समाज परिवर्तन गर्दै जनताको राज्यसत्ता प्राप्त गर्न निरन्तर सङ्घर्ष श्रमिक वर्गले गर्यो, जनताको बलबाट प्राप्त ती राजनीतिक परिवर्तन र उपलब्धिलाई बचाउन तथा सुदृढ गर्न श्रमिक वर्ग हमेसा सचेत रहन मई १ का दिन मनाइने श्रमिक दिवसले प्रेरणा दिइरहोस् भन्ने कामना पनि गर्दछु।
अन्तमा, श्रमिक दिवसले राज्य र रोजगारदाताहरूलाई मजदुरहरूको पक्षमा काम गर्न र श्रमिक वर्गलाई एकताबद्ध भई अघि बढ्न प्रेरणा दिने विश्वाससहित फेरि पनि अन्तर्राष्ट्रिय श्रमिक दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु।