शनिबार, जेठ ३, २०८२
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ३२औँ मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मदन भण्डारी र जीवराज आश्रितको मृत्युका विषयमा छानबिन गरेर त्यसलाई उजागर गर्न र अपराधीहरूलाई नांगेझार पार्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले घटनाको छानबिन गर्दै सत्यतथ्य बाहिर ल्याएर अपराधीलाई नांगेझार पार्नुपर्ने बताए । उनले भने, “सुन्नमा आइरा’छ, कतिपय नेताहरूले कुराहरू पनि उठाएका छन् कि कुनै प्रतिक्रियावादी पार्टीसँग जोडिएकाहरूको योजना थियो रे,” । “त्यो हो भने पनि छानबिन गरेर, सत्यतथ्य ल्याएर, अपराधीहरूलाई नांगेझार पारेर, कसरी उनीहरूले मदन भण्डारी र जीवराज आश्रितको हत्या गर्ने काम गर्न सके त्यसलाई उजागर गर्न सक्नुपर्छ ।”
अध्यक्ष नेपालले मदन–आश्रितको निधनले कम्युनिस्ट आन्दोलनमा अपूरणीय क्षति पुगेको धारणा राखे । कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन मदन भण्डारीले गरेको योगदानको उनले स्मरण गरे । उनले अब आफूहरू कम्युनिस्ट आन्दोलन एकीकृत गर्ने अभियानमा लाग्ने बताए ।
विचार मिल्नेसँग सहकार्य गर्दै मोर्चा बनाउने र सम्भव भए पार्टी एकता गरेर अघि बढ्ने उनले बताए ।
कम्युनिस्ट आन्दोलनमा एकताबद्ध हुने र छाड्ने प्रक्रिया निरन्तर चल्ने भएकाले यसबाट आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।
हिमालयन टेली भ्वाइस
प्रतिक्रिया