भिजिट भिसा प्रकरण छानबिनमा सघाउँछौँः गृह मन्त्रालय

भिजिट भिसा प्रकरण छानबिनमा सघाउँछौँः गृह मन्त्रालय

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार ,१० जेष्ठ २०८२,

काठमाडौं । शनिवार मन्त्रालयका सहसचिव छवि रिजालले विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा प्रकरणमा भएको रकम असुलीमा मन्त्रालय वा नेतृत्वको कुनै संलग्नता नरहेको र यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा गृह मन्त्रालय वा यसको नेतृत्वको संलग्नता छैन र हुँदैन । मन्त्रालय शान्ति, सुरक्षा, अमनचयन र सुशासन कायम गर्न प्रतिबद्ध छ ।” मन्त्रालयले शून्य सहनशीलताको नीति अवलम्बन गरी अनियमितता र अपराधविरुद्ध नीतिगत र संस्थागत सुधार गरिरहेको पनि उल्लेख गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसामा युवाबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको नाम जोडिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको छ । यो प्रकरणको अनुसन्धान अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छ । आयोगले विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ र अन्य कर्मचारीहरूमाथि पनि अनुसन्धान केन्द्रित गरेको छ ।

यसैबीच, मन्त्रालयले शुक्रवार कम्तिमा १४ कर्मचारीलाई विमानस्थल अध्यागमन कार्यालयको जिम्मेवारीबाट हटाएको छ, जसमध्ये अधिकांश नायब सुब्बा छन् । अख्तियारको अनुसन्धान चलिरहेकै बेला यी कर्मचारीलाई हटाइएको विषयले थप शङ्का उत्पन्न गरेको केही अधिकारीहरूले बताएका छन् ।