आइतबार ११ जेष्ठ २०८२
काठमाडौं । विराटनगरमा आयोजित पत्रकार भेटघाटमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एकजना कर्मचारीले गल्ती गरेको आधार गृहमन्त्रीको राजीनामा माग्नु गलत भनेर गृहमन्त्री रमेश लेखकको बचाउ गरेका छन् ।
आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने तर्क गरे । भिजिट भिषा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लेखअकको पार्टीभित्रैबाट समेत नैतिकका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिइरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन् ।
यसअघि शनिबार विराटनगरमै अर्का कांग्रेस नेता डा। शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।
तर, नेता सिटौलाले विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।
यसैबीच हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबारे जनमत संग्रह आवश्यक नभएको बताउँदै सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समीक्षा गरेर संशोधन गर्नुपर्ने तर्क गरे । राजसंस्था कुनैपनि हालतमा फर्किन नसक्ने भन्दै नेता सिटौलाले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक नभएको बताए ।
प्रतिक्रिया