सोमबार, जेठ १९, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने कार्यमा लागेको आरोप लगाएका छन् । सोमबार (जेठ १९) नयाँ बानेश्वरमा संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले मंगलबार (जेठ २०) संसद् बैठक सञ्चालन गरौँ भनेर प्रचण्डसँग सम्पर्क गर्न खोजे पनि उनी भागिरहेको उल्लेख गरे । “भोलि संसद् चलाऊँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, हामी लिडरहरूको बीचमा अलिकति छलफलहरू पनि गरौँ भनेर,” उनले भने, “उहाँ सम्पर्कमा आउन चाहिरहनुभएको छैन ।”
थाहा हुँदाहुँदै पनि प्रचण्ड सम्पर्कबाट तर्किरहेको उनले जिकिर गरे । “उहाँ (प्रचण्डं)लाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजी गर्दा पनि फेला पर्नुभएको छैन,” उनले भने ।
प्रधानमन्त्री ओलीले प्रतिपक्ष दलहरू संसद् अवरुद्ध गर्ने मनोभावमै रहेको बताए । अनावश्यक विषयमा संसद्को कारबाही रोक्न नहुनेमा उनले जोड दिए । “उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला । संसद्, यस्ता नचाहिने कुरामा संसद्को कारबाही रोकेर, देशको विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ,” उनले भने । न्युज एजेन्सी नेपाल
प्रतिक्रिया