गृहमन्त्री विवादमा तानिँदा रोकियो एसएसपी बढुवामा ढिलाई

गृहमन्त्री विवादमा तानिँदा रोकियो एसएसपी बढुवामा ढिलाई

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असार १, २०८२

काठमाडौं । तालुक मन्त्रालयका मन्त्री नै विवादमा तानिएपछि प्रहरी प्रधान कार्यालयले समयमा एसएसपी बढुवा निकाल्न सकिरहेको छैन् ।
गृह मन्त्रालयले गत ६ जेठमा ११ जना बरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाका लागि सिफारिस गर्यो । त्यतिमात्र नभएर रिक्त रहेको एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा डिआईजी सिद्धिविक्रम शाहको बढुवा भयो ।

बढुवामा ढिलाई गर्दा तल्लो तहका अधिकृतहरुलाई अन्याय हुने भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी संगठनभित्र हुने सरुवा(बढुवामा नियमित जस्तै गरिरह्यो । एआईजी र डिआईजी बढुवा सिफारिसलगत्तै प्रहरी प्रधान कार्यालय एसएसपी बढुवाको तयारीमा जुटेको थियो ।

तर, यो बीचमा गृहमन्त्री रमेश लेखक भिजिट भिषा प्रकरणमा मुछिएका छन् । भिजिट भिषाको आडमा मानव तस्करीको आरोप लागेको छ । यो प्रकरणले गृह मन्त्रालयको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ । यस घटनाले देशकै प्रतिष्ठामा गम्भीर प्रश्न उठेको छ । उनको राजीनामा माग समेत भएको छ ।

तालुक मन्त्रालयका मन्त्री नै विवादमा तानिएपछि प्रहरी प्रधान कार्यालयले समयमा एसएसपी बढुवा निकाल्न सकिरहेको छैन् । यही मौका छोपेर एसएसपी बढुवाको लागि विवादित र जुनियर केही प्रहरी उपरीक्षक (एसपी)हरुले विचौलियामार्फत दौडधुप चर्को बढाएका छन् ।

स्रोतका अनुसार अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत देखिएका छन् । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन् ।

त्यस्तै २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । यो टोलीबाट प्रकाश रानाभाट, कमल थापा, तुल बहादुर कार्की, दयानिधी ज्ञावली, राकेश सिंह, राजिव बस्नेत, दिपक पोखरेल, केदार खनाल, दिपेन्द्र शाही, राम प्रकाश साह, प्रविण धिताल र ज्ञानेन्द्र फुयाल पनि बढुवाको प्रतिस्पर्धी हुन् ।

यस्तै भुवनेश्वर तिवारी, ऋषिराम कडेल, सुरेश काफ्ले, अमर सिंह, श्याम सिंह चौधरी, नकुल पोखरेल, पदम बिष्ट, बासुदेव खतिवडा, सुवास चन्द्र बोहरा, प्रजित केसी, राज कुमार सिलवाल, योगेन्द्र सिंह थापा, महेन्द्र श्रेष्ठ, दिलिप घिमिरे, विरेन्द्र शाही, जनक शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन तिम्ल्सिना र रमेश पण्डित पनि प्रतिस्पर्धी हुन् ।

बढुवा सिफारिस समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष रहने व्यवस्था छ । यस्तै बढुवा सिफारिस समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र मानवस्रोत विभागका एआईजी दाबहादुर कार्की सदस्य छन् ।

गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा गठित बढुवा समितिले एसएसपी हुने योग्यता पूरा गरेका एसपीहरूको कार्यसम्पादन मूल्यांकन अध्ययन भने थालेका छन् । यससँगै एसपीहरू दौडधुप र भनसुनमा सक्रिय देखिन्छन् ।

हाल प्रहरी संगठनमा ११ वटा एसएसपीको पद रिक्त छ ।

तर, गृहमन्त्री विवादमा तानिँदा प्रहरी संगठनलाई नै बन्दी बनाएर नियमित हुने सरुवा बढुवा रोक्नु गलत रहेको एक पूर्वआईजीपी बताउँछन् ।

गृह प्रशासन र प्रहरी शान्ति सुरक्षाका दृष्टिले संवेदनशील निकाय भएकाले अनिर्णयको बन्दी बनाउनु गलत हुने उल्लेख गर्दै उनले भने, ‘सामान्य बढुवा प्रक्रिया हो भनेर मुख्य राजनीतिक दल र सरकार रमिते बनेको छ । यस्तै अवस्था रहे प्रहरी संगठन भद्रगोल बन्न सक्छ ।’