रसुवाको भोटेकोसी नदीमा हालसम्मकै ठूलो बाढी

रसुवाको भोटेकोसी नदीमा हालसम्मकै ठूलो बाढी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, असार २४, २०८२

काठमाडौं ।  मंगलबार बिहान  रसुवाको भोटेकोसी नदीमा एक्कासि भीषण बाढीबाट ठूलो क्षति भएको छ ।

जल तथा मौसम विज्ञान विभागको तथ्यांकमा यसलाई रसुवामा आएको हालसम्मकै ठूलो बाढी भनिएको छ ।

“रसुवा साइडमा यो यति ठूलो बाढी पहिलोचोटि नै हो,” विभागका हाइड्रोलोजिस्ट विनोद पराजुलीले भने, “धेरैपहिलेको डेटा हामीसँग रेकर्डमा नभएको हुनसक्छ, तर जति हाम्रो रेकर्डमा पछिल्लो ३०ज्ञ्४० वर्षको डेटा छ, त्यसमा यो पहिलो ठूलो बाढी हो ।”

भोटेकोसीमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट बिहान करिब ३ बजे बाढी प्रवेश गरेको थियो । तर, बाढी आएको समयमा उक्त क्षेत्रमा भारी वर्षा नभएको विभागले जनाएको छ । “प्रारम्भिक नतिजाले भारी वर्षा भएर यो घटना भएको होइन भन्ने देखिन्छ,” उनले भने ।

तिब्बत क्षेत्रमा थुप्रै हिमताल छन् । “भारी वर्षा होइन भने हिमताल विस्फोटन वा अन्य कुनै नदी थुनिएकोले गर्दाखेरि त्यो फुटेको त्यस्तो कारणले पनि हुनसक्छ । सबै अध्ययनकै विषय छ,” उनले भने ।

बाढीबारे चीनले कुनै सूचना नपठाएको उनले जानकारी दिए । नेपाल र चीनबीच मौसमसम्बन्धी सूचना आदानप्रदानबारे हालसम्म सम्झौता नभएको उनले बताए । चिनियाँपक्षले कहिलेकाहीँ स्थानीयस्तरमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी भने गराउने गरेको उनले स्पष्ट पारे ।

“यो केसमा जिल्ला प्रशासनलाई पनि अग्रिम कुनै खबर आएको देखिँदैन । ३ बजे (बिहान) एक्कासि बाढी प्रवेश गर्‍यो, त्यो मात्रै जानकारीमा आयो,” उनले भने, “हामीले त्यसलाई भेरिफाई गर्न केही समय लाग्यो ।

नुवाकोटको वेत्रावतीमा आइसकेपछि मात्र विभागले बाढी ‘भेरिफाई’ गरेको थियो, बिहानको करिब ६ बजेतिर । अर्थात्, बाढी प्रवेश गरेको करिब तीन घण्टापछि । अनि मात्र विभागले तल्लो भूभागमा ‘अलर्ट’ जारी गरेको उनले जानकारी दिए । “माथिल्लो क्षेत्रमा चाहिँ हामीले सूचना नपुर्‍याउँदै बाढी आइसकेको थियो,” उनले भने ।

उनका अनुसार, रसुवामा पछिल्लो २४ घण्टामा छिटपुट मात्र वर्षा भएको छ । तिब्बत क्षेत्रमा पनि १० मिलिमिटरसम्म वर्षा भएको जस्तो देखिने उनले बताए । “त्यो भनेको एकदमै सामान्य वर्षा हो,” उनले भने, “त्यसले यस्तो बाढी सिर्जना गर्न सक्दैन ।”

नेपालको सीमाबाट केही किलोमिटर टाढा मात्र पनि हिमतालहरू छन् । तर, हिमताल विस्फोट भएरनभएको यकिन भइसकेको छैन । “अथवा, अर्को एउटाचाहिँ कस्तो छ भने, अस्ति भर्खर हुम्लामा पनि भयो, हिउँ र जुन जमिनको ढुंगा र माटो जमेर बसेको क्षेत्र पूरै चिप्लिएको पनि हुनसक्छ ।”

मेलम्ची नदीमा ०७८ साल असार १ गते राति आएको बाढीजस्तै अवस्था भएको पनि हुन सक्ने उनको भनाइ छ । “थुप्रै सम्भावनाहरू छन् । अहिले हामी यसै भन्न सक्दैनौँ,” हाइड्रोलोजिस्ट पराजुलीले भने ।

चीनतर्फ समेत ठूलो क्षति भएको भन्ने आफूहरूले सूचना प्राप्त गरेको उनले बताए ।

रसुवाको टिमुरेस्थित स्वचालित जलमापन केन्द्र पनि बगाएको उनले जानकारी दिए । त्यसकारण विभागलाई छिटो सूचना भेरिफाई गर्न समस्या भएको उनको भनाइ छ ।

“अहिले तत्काल घट्दो क्रममा छ । रसुवा, भोटेकोसीको टिमुरेनजिकको केन्द्रमा भोटेकोसीमा एक्कासि बढेको बहाव साढे तीन मिटरजस्तो देखिन्छ,” उनले भने, “अब घट्ने क्रममा छ । यसले तत्काल थप जोखिम छैन कि जस्तो देखिन्छ ।”

उनले अगाडि भने, “तर पनि माथि कहीँ नदी थुनिएको हुनसक्छ, फेरि फुट्न सक्छ । ती जोखिमहरूलाई हामीले आकलन गरेर आज बेलुकासम्मै सतर्कता अपनाउन अपिल गरेका छौँ ।”