उपत्यकामा कार्यरत डिएसपी र इन्स्पेक्टरको ‘ड्युटी आवर’ घट्ने

उपत्यकामा कार्यरत डिएसपी र इन्स्पेक्टरको ‘ड्युटी आवर’ घट्ने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । उपत्यका प्रहरी कार्यालयलले उपत्यकाको प्रहरी वृत्त र प्रभाग इन्चार्जको ‘ड्युटी आवर’ (कार्य समय) घटाउने निर्णय गरेको छ ।

प्रहरी वृत्तमा इन्चार्ज हुने नायब उपरीक्षक (डिएसपी) हरु यसअघि राति १२ बजेसम्म फिल्डमा खट्नुपर्ने व्यवस्था थियो । प्रहरी प्रभागको कमान्ड गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) पनि मध्यराति १२ बजेसम्म खटिन्थे ।

सो अवधि दुई घण्टा घटाउने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । वृत्तका डीएसपीहरु र प्रभागका इन्स्पेक्टरहरू राति १० बजेपछि फिल्डमा खट्नु नपर्ने निर्णय गरिएको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए ।

कार्यबोझका कारण सेवाग्राहीलाई समय दिन नपाएको विश्लेषण गरेर सो निर्णय गरिएको कार्यालयका एक सिनियर प्रहरी अधिकृतले जानकारी दिए । ड्युटी आवर घटाउने निर्णय कार्यान्वयन गराउन उपत्यका प्रहरी कार्यालयले काठमाडौं, भक्तपुर र ललितपुर परिसरलाई सर्कुलर गरिसकेको छ ।

असार २३ मा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा बसेको प्रहरी वृत्त, प्रभाग तथा ट्राफिक प्रहरी प्रमुखहरु र अपरेसन कमाण्डरहरु समेतको छलफलपछि सो निर्णय गरिएको हो ।

भीभीआईपीको सवारी हुँदा ‘रोड प्रोटेक्सन’ ड्युटीमा डिएसपीहरुलाई परिचालन नगर्ने निर्णय गरिएको छ । रोड प्रोटेक्सनमा अब इन्स्पेक्टर वा जुनियर प्रहरी अधिकृतहरू मात्र खटिन्छन् ।

उपत्यका प्रहरी कार्यालयले पठाएको सर्कुलरमा भनिएको छ, ‘भीभीआईपीहरुको रोड प्रोटेक्सन सम्बन्धमा सम्बन्धित एरियाको रुटमा पर्ने प्रहरी युनिट बाहेक अन्य युनिटबाट थप मद्दत खटिँदा अवस्था हेरेर इन्स्पेक्टर तथा जुनियर अधिकृतको कमान्डमा ड्युटी खटाउने ।’

ट्राफिक प्रहरीका युनिट प्रमुखहरूले पिक आवरमा (बिहान ९ बजे) सडकमा निस्किएर अनुगमन गर्नुपर्ने व्यवस्था पनि हटाइएको छ । अब सम्बन्धित युनिटको अपरेसन कमान्डरले अनुगमन गर्ने निर्णय गरिएको छ ।