बीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

बीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, असार ३१, २०८२

काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ ।

गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।

कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा बाढी आई कटान गरी सडक अवरुद्ध भएको हो ।

उक्त राजमार्गको रोशी–९ स्थित खहरे खोलाको लेदो आई गएराति सडक अवरुद्ध भएको थियो ।

सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आएर सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।

उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।

रातभर जेसीभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।

यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो । रासस