माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिन, एमालेमा मबाहेक कोही छैन भन्ने नेतृत्वलाई परेको छ’:  बिद्यादेवी भण्डारी

माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिन, एमालेमा मबाहेक कोही छैन भन्ने नेतृत्वलाई परेको छ’:  बिद्यादेवी भण्डारी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार ,श्रावण ६,२०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपतिबीचको विवाद कैयौँलाई अझै पनि देखावटी लाग्छ । तर दुईबीचको विवाद यति गहिरो तहमा बढेको छ कि अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकमै ‘विद्या भण्डारीको प्रवक्ता बन्नेलाई कारबाही गर्ने’ चेतावनी दिएपछि कोही खुल्न सकेका छैनन् ।

यसअघि भण्डारीको पक्षमा खुल्दै आएका नेताहरु पनि केन्द्रीय कमिटीको बैठकमा नयाँ अनुहारको मात्रै सानो स्वरमा कुरा गरे पनि पार्टीमा भण्डारीको आवश्यकताका बारेमा खुलेर बोल्न नसकेको एक नेताले बताए ।

तर ओलीको चेतावनीको बाबजुद भण्डारी ‘खुट्टा नकमाइ’ अघि बढ्ने मुडमा देखिन्छिन् ।

“माझकिरातकी छोरी हुँ, खुट्टा कमाउदिनँ । म राजनीतिमा आइसकेँ,” भण्डारीले मंगलबार भंगालस्थित निवासमा केही पत्रकारहरुसँगको अनौपचारिक कुराकानीका क्रममा भनिन् । उनले नेकपा एमालेमा आफ्नो योगदान अहिले तत्कालको नभएको बताउँदै २०३५–३६ सालदेखिकै भएको बताइन् ।

पार्टीभित्र नेतृत्वले आतंक सिर्जना गरेको बताउँदै नेतृत्वकै तहबाट गुटबन्दीको सुरुवात भएको पनि उल्लेख गरिन् ।

“पार्टीमा गुटबन्दी भयो । प्रदेश प्रदेशमै गुट भेला गर्ने रु बोल्न नदिने । टेरर पैदा गर्ने काम नेतृत्वबाटै भइरहेको छ,” उनको टिप्पणी थियो ।

राजनीतिमा अहिले नैतिकताको कुराका सन्दर्भमा पनि भण्डारी चनाखो देखिन्थिन् ।

“नैतिकताको कुरा बढी हुन्छ, अहिले कुरा पनि भइरहेको छ,” भण्डारीको टिप्पणी थियो, “उच्च ओहदामा पुगेका मान्छे पार्टीमा आउँदा पार्टीको नैतिकता बढ्छ ।”

कुराकानीका क्रममा भण्डारी पटक–पटक ओलीसँग आक्रोशित देखिन्थिन् ।

“उहाँ (केपी ओली) लाई पार्टीभित्र नेतृत्व गर्ने मबाहेक कोही छैन, म नै जान्ने हुँ । अरु केटाकेटी हुन् भन्ने परेको छ,” भण्डारीको भनाइ थियो, “उहाँले पार्टीभित्र अर्को नेतृत्व देख्नुभएको छैन ।”

मदन भण्डारीको हीरक जयन्ती मूल समारोह समिति बनाउने विषयमा पनि ओलीसँग छलफल हुँदा नेताहरु तोक्न नमानेको टिप्पणी गरिन् । भण्डारीले ओलीसँग उपाध्यक्षमध्ये एकजनाको नेतृत्वमा मूल समारोह समिति बनाइदिन अनुरोध गरेकी थिइन् ।

तर ओली तयार भएनन् । ओलीले ‘सबै उपाध्यक्षहरु कममा रहेको’ जवाफ दिए । जनसंगठनका प्रमुखको नेतृत्वमा बनाऔँ न त भन्ने भण्डारीको प्रस्तावमा पनि ओलीको जवाफ त्यस्तै थियो । जब पोलिटब्युरो बैठकपछि पत्रकारहरुसँग कुरा गर्ने क्रममा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले ‘भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा छ’ भने त्यसपछि ओलीलाई फोन गरिन् ।

“सदस्यता पनि पेन्डिङमा हुन्छ ?” भण्डारीले ओलीलाई यसरी सोधेकी थिइन् ।

ओलीको जवाफ थियो– राजनीतिक निर्णय गर्नुपर्छ । त्यसपछि मात्रै भेटेर कुरा गर्ने विषयमा छलफल भएको थियो । भण्डारीकै अनुरोधमा बालुवाटारमा नभइ च्यासलमा भेटको तयारी गरिएको थियो ।

भेटमा ओलीले ‘राष्ट्रपति निर्विवाद व्यक्ति र पद भएकाले अब राजनीतिमा क्रियाशील हुँदा गाली गलौज बढी हुने र गणतन्त्रविरोधीले टाउको उठाउने’ बताएका थिए । तर भण्डारीले ‘आफू अघि बढिसकेको, अब पछि फर्किने अवस्था नरहेको’ बताएकी थिइन् ।

राष्ट्रपतिमा उमेदवार हुने बेलामा पनि आफु र आफ्नो परिवारमा खुसी नदेखिएको भण्डारीको टिप्पणी थियो ।

“२०७० सालमा मलाई सभामुख बन्नुपर्ने प्रस्ताव आएको थियो, तर सक्रिय राजनीति गर्ने मेरो इच्छा भएकाले मैले हुँदैन भनेँ,” भण्डारीको भनाइ थियो, “राष्ट्रपतिको उमेदवार हुँदा पनि मेरा छोरीहरु खुसी थिएनन् ।”