काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखको रुपमा कार्यरत छन् प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी । २०८१ माघ १५ मा उनले काठमाडौं प्रहरीको कमाण्ड समालेका थिए ।
बुधबार परिसरले आफ्नो वार्षिक कार्यसम्पादन सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एसएसपी अधिकारीले मुलुकको राजधानी काठमाडौंको अपराध नियन्त्रण गर्न र अपराधीसम्म पुग्न नयाँ ढङ्गले सूचना संकलन गर्ने गरेको बताए ।
काठमाडौं प्रहरी प्रमुखको रूपमा ६ महिना काम गरेपछि पत्रकार सम्मेलन गरेर मोटरसाइकल वर्कशपका सञ्चालक र कामदारहरूबाट सूचना लिएर अपराधीसम्म पुग्ने काम गर्ने गरेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै एसएसपी अधिकारीले भने, ‘काठमाडौँमा आएपछि वर्कशप सञ्चालक र कामदारहरूसँग अन्तरक्रिया गरेर अपराध र अपराधमा संलग्नहरूको सूचना लिन थालेको थिएँ ।’
आफू हाजिर भएपछि ६५० जना वर्कशपका सञ्चालक र मिस्त्रीहरूसँग अन्तरक्रिया गरेको उनले बताए । उनले भने, ‘समाजमा विभिन्न पेसा, व्यवसाय गर्नेहरूको सूचना वर्कशपमा काम गर्नेहरूसँग हुन्छ भनेर मैले उनीहरूसँग सम्पर्कमा रहेर काम गरेको हुँ ।’
सामाजिक सञ्जालमा आफूले वर्कशपमा काम गर्नेहरुहरुको ग्रुप नै बनाएको उनले जानकारी दिए ।
एसएसपी अधिकारीले भने, ‘वर्कशपमा काम गर्नेहरूको ह्वाट्स एप ग्रुप बनाएका छौं, अपराधमा प्रयोग भएको मोटरसाइकल वा स्कुटर कहाँ छ भनेर तत्काल सूचना आउने संयन्त्र हामीले बनाएका छौँ ।’
मोबाइल पसल सञ्चालक र राइड सेयरिङ कम्पनीहरूसँग पनि छलफल तथा अन्तरक्रिया गरेर अपराधमा संलग्नहरूको सूचना लिने गरिएको पनि एसएसपी अधिकारीले बताए ।
परिसरमा २० प्रतिशत जनशक्ति अभाव, सुरक्षा व्यवस्थापनमा अब्बल
यस्तै जिल्ला प्रहरी परिसर, काठमाडौंले करिब २० प्रतिशत जनशक्ति अभावकाबिच गत आर्थिक वर्षमा एक हजारभन्दा बढी विरोध प्रदर्शन तथा राजनीतिक कार्यक्रमको सुरक्षा व्यवस्थापन गरेको जनाएको छ ।
काठमाडौं प्रहरीका लागि स्वीकृत ४ हजार १६ दरबन्दीमध्ये हाल ३ हजार २३३ जना मात्र कार्यरत छन् । जुन ८१५ जनाको प्रत्यक्ष अभाव हो ।
पत्रकार सम्मेलनमा अधिकारी भने, ’हामी स्वीकृत दरबन्दीभन्दा करिब २० प्रतिशत कम जनशक्तिमा काम गरिरहेका छौँ । ५६ वटा प्रहरी इकाईको दरबन्दीले थप ७३ वटा दरबन्दी नभएका इकाईलाई समेत धान्नुपर्ने अवस्था छ ।’
गत आर्थिक वर्षमा मात्रै काठमाडौंमा १ हजार १८ वटा राजनीतिक तथा अन्य प्रकृतिका विरोधका कार्यक्रमहरू भएका थिए । जसमा ३ लाख ८६ हजारभन्दा बढी प्रहरी परिचालन भएको उनले जानकारी दिए ।
यीमध्ये ४४४ वटा धर्ना र ३७२ वटा विरोध प्रदर्शन थिए । तर सम्पूर्ण कार्यक्रमहरुको सुरक्षा व्यवस्था मजबुत बनाएको थियो ।
१६१ जना पुरस्कृत, १५८ जना कारबाही
जिल्ला प्रहरी परिसर, काठमाडौंले गत आर्थिक वर्षमा राम्रो कार्यसम्पादन गर्ने १६१ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरेको छ । जसमा प्रहरी उपरीक्षक (एसपी)देखि प्रहरी कार्यालय सहयोगीसम्म रहेका छन् ।
यस्तै १५८ जना कारबाहीमा परेका छन् । कारबाही पर्नेहरुमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) २, प्रहरी नायव निरीक्षक (सई) ४, प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी वरिष्ठ हवल्दार ७–७ जना रहेका छन् ।
बाँकी सिपाही, हवल्दार र कार्यालय सहयोगीहरु रहेका छन् । एसएसपी अधिकारीकाअनुसार १७८ जनाले राजीनामा समेत दिएका छन् ।
१०० नम्बरमा वर्षभरिमा आए ४ लाख २८ हजार कल
यस्तै पत्रकार सम्मेलनमार्फत एसएसपी अधिकारीले आपत्कालीन हटलाइन नम्बर ‘१००’ मा गत आर्थिक वर्षमा ४ लाख २८ हजारभन्दा बढी कल आएको जानकारी दिए ।
काठमाडौं प्रहरीकाअनुसार दैनिक औसतमा ११ सयदेखि १२ सय कलहरू प्रहरीको कन्ट्रोल रुममा दर्ता हुने गरेको देखिएको हो । एसएसपी अधिकारीले १०० नम्बरमा आएका कलहरू प्रहरीको कार्यसम्पादनको महत्त्वपूर्ण आधार बनेको बताए ।
‘यो हटलाइन नागरिक र प्रहरीबिचको प्रत्यक्ष पुल हो । हामीले यहाँबाट प्राप्त सूचनाको आधारमा तत्काल प्रतिकार्य गर्छौँ,’ एसएसपी अधिकारीले भने । प्रहरीको तथ्याकंअनुसार १०० नम्बरमा सबैभन्दा बढी कलहरू झगडा, विवाद, घरेलु हिंसा र कुटपिट जस्ता घटनाहरूसँग सम्बन्धित छन् ।
यसबाहेक, सवारी दुर्घटना, चोरी, मापसे गरी होहल्ला र आगलागी जस्ता विषयमा पनि ठुलो सङ्ख्यामा कलहरू आउने गरेका छन् । प्रहरीले हटलाइनमा आएका कलहरूको आधारमा तत्काल घटनास्थल पुग्ने व्यवस्था मिलाएको छ ।
अपराधको ग्राफ बढ्दो
काठमाडौंमा अपराधको ग्राफ बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा ०.३३ प्रतिशतले अपराध बढेको एसएसपी अधिकारीले बताए । आयोजित पत्रकार सम्मेलनमा अधिकारीले भने, ‘परम्परागत अपराध बढेको छैन,आर्थिक अपराध बढेको छ ।’
२०८१ साउनबाट २०८२ असार मसान्तसम्मा काठमाडौं जिल्लामा १२ हजार ९१५ मुद्दा दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा १२ हजार ८७२ अपराधका घटना दर्ता भएका थिए । दुई वर्षको तुलना गर्दा दशमलव ३३ प्रतिशत अपराध वृद्धि भएको प्रहरीको विश्लेषण छ ।
प्रतिक्रिया