काठमाडौँ । अहिलेको प्रहरी ऐन र नियमावलीअनुसार प्रहरी महानिरीक्षक दीपक थापा यसै महिना अवकाशमा जाँदै छन् । थापा ३० वर्षे सेवाअवधि पुरा गरेर भदौ १८ मा अवकाशमा जान लागेका हुन् । उनी २०८१ चैत ४ मा ३१ औँ प्रमुख नियुक्त भएका थिए ।
प्रहरी विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा छ । ऐन पास भएको भए थापाको कार्यकाल कम्तीमा थप ६ महिना थप हुने थियो । नयाँ प्रहरी ऐनमा ३० वर्षे सेवा अवधि क्रमशः हटाउने प्रस्ताव छ ।
तर, छलफल चल्दाचल्दै निजामती विधेयकमा देखिएको कुलिङ पिरियड ‘विवाद’का कारण राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले राजीनामा दिए । नयाँ सभापति चयन नहुँदा प्रहरी विधेयकमाथिको दफावार छलफल रोकिएको छ ।
आईजीपी थापा २०५२ भदौ १९ मा भर्ना प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । करिब ६ महिना आईजीपी भएर उनी अवकाशमा जान लागेका हुन् ।
उनको अवकाशको समय नजिकिँदा नयाँ आईजीपीबारे चर्चा सुरु भएको छ । आईजीपी थापासँगै इन्स्पेक्टर भर्नाका लागी फारम भरेका चन्द्रकुवेर खापुङ ३२ औँ प्रहरी महानिरीक्षकको दाबेदार छन् । अहिलेसम्म खापुङ एकल दाबेदार देखिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी खापुङले २०५२ कार्तिक २७ मा प्रहरी निरीक्षकको नियुक्ति लिएका थिए ।
आईजीपी थापासँगै भर्ना भए पनि सो ब्याचका इन्स्पेक्टरहरूलाई तीन चरणमा नियुक्ति दिइएको थियो । पहिलो लटमा २०५१ चैत ५ मा नियुक्ति लिएका ५३ जना मध्येका वसन्त कुँवर आईजीपी भएर अवकाशमा गइसकेका छन् । कुँवर २०८१ चैत ५ मा अवकाशमा गएका थिए ।
दोस्रो लटमा नियुक्ति लिएका दीपक थापा कुँवर पछि आईजीपी भएका हुन् । थापासँगै नियुक्ति लिएका एआईजीद्वय सुदीप गिरी र टेकबहादुर तामाङ पनि भदौ १८ मा अवकाशमा जाँदै छन् ।
तेस्रो लटमा खापुङ, लालमणि आचार्य र कृष्णहरि शर्मा पोखरेलले नियुक्ति लिएका थिए । एआईजी आचार्य २०८१ जेठ १० मा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गइसकेका छन् । प्रशासन विभागमा कार्यरत एआईजी कृष्णहरि शर्मा पोखरेल एआईजीको ५६ वर्षे उमेरहदका कारण भदौ १५ मा अवकाशमा जाँदै छन् । पोखरेलको अवकाश निश्चित भएसँगै सो लटबाट खापुङ आईजीपीको एकल प्रतिस्पर्धीको रूपमा देखिएका छन् ।
३२ औँ प्रहरी महानिरीक्षकको एकल दाबेदार खापुङ हालसम्म विवादमा परेका छैनन् । प्रहरी उपरीक्षक एसपी हुँदा हेडक्वार्टरको कर्मचारी प्रशासन शाखामा बसेर काम गरेका खापुङले एसएसपी हुँदा उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरे । डीआईजीमा उनले कोशी प्रदेशको कमाण्ड गरेका थिए ।
खापुङ यसै वर्ष वैशाख १६ मा एआईजीमा बढुवा भएका थिए । ६ जना एआईजीमा बढुवा हुँदा उनी मेरिट लिस्टको पहिलो नम्बरमा थिए । उनीसँगै बढुवा भएका दानबहादुर कार्की, राजन अधिकारी र डा। मनोज कुमार केसी पछिल्लो ब्याचका हुन् ।
प्रतिक्रिया