वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार, थप २९ मा संक्रमण पुष्टि

वीरगन्जमा हैजाको महामारी नियन्त्रणमा जुटे तीनै तहका सरकार, थप २९ मा संक्रमण पुष्टि

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज महानगरमा फैलिएको हैजा (कोलेरा)को महामारी रोकथाम र नियन्त्रणका लागि स्थानीय, प्रदेश र संघ गरी तीनै तहका सरकार जुटेका छन्।

नाला र ढलको दूषित पानीबाट हैजाको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ। त्यसको यकिन कारण पत्ता लगाउन वीरगन्ज महानगरपालिका र स्वास्थ्य कार्यालय पर्साले प्रभावित क्षेत्रका विभिन्न ११ स्थानको खानेपानीको नमुना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाएको छ। हैजाका बिरामीहरू भेटिएका टोलबाट संकलन गरिएको खानेपानीको नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा शनिबार पठाइएको प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णले जानकारी दिए।

प्रभावित क्षेत्रका घरहरूमा आपूर्ति भइरहेको नेपाल खानेपानी संस्थान र डीप बोरिङको धारबाट पानीको नमुना संकलन गरि परीक्षणका लागि काठमाडौं पठाइएको उनले बताए। काठमाडौंको प्रयोगशालाबाट त्यसको रिपोर्ट सोमबार आउने सम्भावना रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

यसैगरी वीरगन्ज महानगरपालिकाले नालाहरूमा रहेका खानेपानी संस्थान र डीप बोरिङका पाइपहरू नालाबाट झिकेर त्यसको व्यवस्थापनको काम पनि आइतबारदेखि सुरु गरिसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत कर्णले जानकारी दिए। सबैभन्दा बढी प्रभावित क्षेत्र वडा नम्बर १२ मा आइतबार त्यो काम गरिएको र सोमबारदेखि अन्य वडाहरूमा पनि त्यसलाई निरन्तरता दिइने उनले बताए।

यसका अतिरिक्त प्रभावित क्षेत्रहरूमा जनचेतना फैलाउन महानगरले २६ वटा टोली गठन गरेर परिचालन गरेको उनले जानकारी दिए। जसमा महानगरका स्वास्थ्यकर्मी, वीरगन्जका नर्सिङ कलेजका छात्राहरू सहभागी छन्। उनीहरूले प्रभावित क्षेत्रका हरेक घरधुरीमै पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिने, सम्भावित संक्रमितहरूको पहिचान गर्ने, आवश्यक परामर्श दिने र सरसफाइ सम्बन्धी सचेतना फैलाउने कार्यलाई तीव्रता दिएको कर्णले जानकारी गराए।

यस्तै संघ सरकारको खानेपानी मन्त्रालयको खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आएको प्राविधिक सहितको टोलीले पनि वीरगन्जका विभिन्न वडाहरूमा पुगेर परीक्षणका लागि खानेपानीको नमुना संकलन गरिरहेको विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए। प्रभावित क्षेत्रमा पानी शुद्धीकरणका लागि ‘पीयूष’ लगायतका आवश्यक सामग्रीहरू सहितको टोली वीरगन्ज पठाइएको श्रेष्ठले जानकारी दिए।

संघ सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सरुवा रोग तथा महामारी नियन्त्रण महाशाखाबाट विज्ञ दुई जना चिकित्सकको टोली वीरगन्ज पठाएको छ। उक्त टोलीले झाडापखाला र हैजाका बिरामीहरू उपचाररत अस्पताल र प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गरिरहेको छ।

यसैगरी मधेश प्रदेश सरकारले हैजाको महामारी फैलिएको वीरगन्जमा बिरामीको उपचारका लागि आवश्यक औषधि र सामग्रीहरू वीरगन्जको नारायणी अस्पतालमा पठाएको छ। प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आइतबार वीरगन्ज आएका स्वास्थ्य महाशाखा प्रमुख डा। विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकुरले नारायणी अस्पतालका मेसु डा। चुमनलाल दासलाई उपचारमा आवश्यक पर्ने १७ प्रकारका औषधि र सामग्री स्वास्थ्य कार्यालय पर्सामार्फत नारायणी अस्पताललाई प्रदान गरेका हुन्।

आइतबार वीरगन्जमा बसेको जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकमा सहभागी भएको प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री सत्रुघनप्रसाद सिंहले हैजाको रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य निर्देशनालयका प्रमुख निर्देशक सरोज न्यौपानेको नेतृत्वमा विज्ञसहितको टोली परिचालन गरिसकेको जानकारी गराए। स्वास्थ्य महाशाखाको आपूर्ति प्रमुख डा। विपनकुमार झा र जनस्वास्थ्य अधिकृत सन्तोष ठाकाुर नेतृत्वको छुट्टै टोली पनि वीरगन्जमा परिचालन गरिसकिएको उनले बताए।

मन्त्री सिंहले भने, ‘वीरगन्जमा देखिएको यो महामारीप्रति प्रदेश सरकार गम्भीर छ। सबै निकायलाई अलर्ट अवस्थामा राखेका छौं। बिरामीको उपचारमा कुनै पनि कमी वा लापरबाही हुन दिदैनौं। यसका लागि औषधि, उपकरण, जनशक्ति जे(जे चाहिन्छ मधेश सरकार दिन तयार छ। पछि हट्दैन।’

उक्त बैठकमै प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। ओमप्रसाद अर्यालले नारायणी अस्पतालमा प्रदेशको स्वास्थ्य मन्त्रालयका तर्फबाट केही मात्रामा औषधि उपलब्ध गराइसकेको जानकारी गराए। नारायणी अस्पतालमा आइतबारदेखि प्रदेश सरकारले १० जना मेडिकल अफिसर चिकित्सक , १० जना परामेडिकल स्टाफ र केही स्टार्फ नर्स पठाइसकेको उनले बताए। प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले महामारीको रोकथाम र नियन्त्रणसँगै बिरामीको उपचारका लागि आवश्यकता अनुसार थप औषधि र जनशक्ति उपलब्ध गराउँदै जाने पनि उनले बताए।

पर्साका १४ वटै पालिकाका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य कार्यालय पर्साका प्रमुख, राजनीतिक दलका प्रतिनिधि लगायत सहभागी जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समितिको बैठकले महामारी रोकथाम र नियन्त्रणका लागि ७ वटा निर्णयहरू गरेको सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीले जानकारी दिए। उनका अनुसार, बैठकले झाडा पखाला र हैजा रोकथामका लागि प्रभावित क्षेत्रमा माइकिङ, घरदैलो एवं सचेतना जागरणका अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ।

उपचारका लागि अस्पतालमा पुग्ने बिरामीहरूलाई जिल्लामा सबै अस्पतालहरूले पहिलो प्राथमिकतामा राखी समयमै उपचारको व्यवस्था मिलाउने,संक्रमण बढेको अवस्थामा उपचारका लागि अस्पतालहरूले ‘डेडिकेटेड बेड’ छुट्याउन र थप जनशक्तिको व्यवस्थापन गरी पूर्ण तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि बैठकले गरेको जानकारी कार्कीले गराए।

महामारी नसकिँदासम्म स्वास्थ्य कर्मचारीहरूलाई अत्यावश्यक बाहेक बिदा स्वीकृत नगर्ने र औषधि, किट, खानेपानी निर्मलीकरणका लागि आवश्यक औषधिको पर्याप्तता सुनिश्चित गर्न स्वास्थ्य कार्यालयले आवश्यक पहल गर्ने र त्यसका लागि प्रदेश सरकार र केन्द्र सरकारसँग अनुरोध गर्ने निर्णय पनि भएको उनले बताए।

आइतबार थप २९ जनामा हैजाको संक्रमण पुष्टि
वीरगन्जमा अहिलेसम्म ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको छ। आइतबार बेलुकी ७स्३० बजेसम्मको अद्यावधिक विवरण अनुसार ७१ जनामा हैजाको संक्रमण पुष्टि भइसकेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएकोमा आइतबार थप २९ जनामा संक्रमण पुष्टि भएको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरले जानकारी दिए।

उनका अनुसार हालसम्म नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ९ जना, भवानी अस्पतालमा ३ जना ,वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि अर्थो ट्रामा सेन्टरमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डाइग्नोसिस सेन्टरमा २ जनामा संक्रमण पुष्टि भएको हो। उनीहरू सबै अस्पतालमा उपचाररत रहेका छन्। संक्रमण पुष्टि भएका सबै बिरामी वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३, ८, ११, १२, १३ ,१४ र १६ का रहेको पनि उनले बताए।

यस्तै वीरगन्जका अस्पतालहरूमा झाडापखाला र शंकास्पद हैजाका बिरामी गरि १६१ जना उपचाररत रहेको जानकारी पनि उनले गराए। झाडापखालाका सिकिस्त र हैजाका शंकास्पद बिरामीहरू थपिने क्रम जारी नै रहेको उनले बताए।