काठमाडौं । गएको भदौ २४ गतेको ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको पेस्तोलको गोली लुकाइछिपाइ राखेको आरोपमा दुईजनालाई पक्राउ गरिएको छ ।
बर्दियाको बढैया गाउँपालिका–३ का १७ वर्षीय अनिश गिरी र झापाको झिलझिलेका १६ वर्षीय सोनम थापामगर पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एवं एआईजी दानबहादुर कार्कीले जानकारी दिए ।
गिरी काठमाडौंको कपनमा बस्दै आएका थिए । थापामगर काठमाडौंकै मालिगाउँमा बस्दै आएका थिए ।
उनले भने, “प्रहरीले काठमाडौं महानगरपालिका–३२, नरेफाँटस्थित चेकजाँचका क्रममा शंकास्पद अवस्थामा फेला परेका गिरीलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजसहित उनका साथी थापामगरको कोठामा पेस्तोलको गोली भेटिएको हो ।”
उनीहरूलाई शुक्रबार (कात्तिक ७) पक्राउ गरी थप अनुसन्धान एवं कारबाहीका निम्ति प्रहरी वृत्त दरबारमार्ग पठाइएको छ ।
गिरीको कोठा खानतलासी गर्दा ३११२३ लेखिएको पेस्तोलका गोली तीनथान फेला परेको थियो । थापामगरको कोठाबाट पनि ३११२३ लेखिएको पेस्तोलका गोली दुईथान, छालाको पेटी बेल्टको बक्कल एकथान फेला पारी बरामद गरिएको एआईजी कार्कीले बताए । रासस
प्रतिक्रिया