इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित तीनजनाको मृत्यु, ५८ घाइते

इरानले यूएईमा गरेको आक्रमणमा एक नेपालीसहित तीनजनाको मृत्यु, ५८ घाइते

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, फागुन १७, २०८२

काठमाडौं । इरानले यूएईमा गरेको आक्रमणका क्रममा एक नेपालीसहित तीनजनाको मृत्यु भएको छ । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले  कुराकानीमा तीनमध्ये एकजना नेपाली रहेको पुष्टि गर्दै नाम भने प्राप्त भइनसकेको बताए ।

उक्त घटनामा नेपालीबाहेक एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि मृत्यु भएको गल्फ न्युजले जनाएको छ । मृत्यु हुनेहरूको परिचय भने सार्वजनिक गरिएको छैन ।

घटनामा ५८ जना घाइते भएको समाचारमा उल्लेख छ । घाइते हुनेहरूमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजान, यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेका छन् । उनीहरू सामान्य घाइते भएको जनाइएको छ ।

संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले फेब्रुअरी २८, २०२६ देखि इरानी आक्रमण सुरु भएयता देशको वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनको सामना गरेको जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार, आक्रमणको दोस्रो बिहान सशस्त्र बलले २० वटा ब्यालेस्टिक मिसाइल नष्ट गरेको र आठवटा मिसाइल समुद्रमा खसेका छन् । यसका साथै, दुईवटा क्रुज मिसाइल र ३११ वटा ड्रोन नष्ट गरिएको तथा २१ वटा ड्रोनले नागरिक लक्ष्यहरूमा प्रहार गरेको उल्लेख गरिएको छ ।

आक्रमण सुरु भएदेखि इरानबाट देशतर्फ प्रहार गरिएका १६५ वटा ब्यालेस्टिक मिसाइलमध्ये १५२ वटा नष्ट गरिएको र १३ वटा समुद्रमा खसेको मन्त्रालयले जनाएको छ ।

दुईवटा क्रुज मिसाइल पनि पत्ता लगाई नष्ट गरिएको र ५४१ वटा इरानी ड्रोनमध्ये ५०६ वटालाई बीचमै रोकेर नष्ट गरिएको तथा ३५ वटा देशको सीमाभित्र खसेर भौतिक क्षति पुर्‍याएको बताइएको छ ।

यूएईको सशस्त्र बल जुनसुकै खतराको सामना गर्न पूर्ण रूपमा तयार रहेको पुष्टि गर्दै मन्त्रालयले नागरिक, बासिन्दा र आगन्तुकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको जनाएको छ । साथै, मन्त्रालयले सर्वसाधारणलाई आधिकारिक स्रोतबाट मात्र जानकारी लिन र अफवाह वा अपुष्ट सूचना नफैलाउन आग्रह गरेको छ ।