फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्—प्रधानमन्त्री कार्की

फागुन २१ गते अरू काम छाडेर भए पनि मतदान गर्नुस्—प्रधानमन्त्री कार्की

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, फागुन १८, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते सबै काम छाडेर मतदान गरिदिन अनुरोध गर्नु भएको छ।

सोमबार मध्यान्ह देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मतदान गर्न अनुरोध गर्नु भएको हो ।

‘देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदाता आगामी निर्वाचनमा सरिक भइदिनुहोस्। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो,’ उहाँले भन्नु भयो, ‘तसर्थ, फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’

राजनीतिक दलहरूबीच स्वस्थ प्रतिस्पर्धा र फरक विचार भएपनि मनमुटाव र वैमनस्य हुन नहुने उहाँको भनाइ छ।

‘निर्वाचनको यस सँघारमा म सबैलाई शान्ति र अमनचयन कायम राख्न अनुरोध गर्दछु। शान्ति नै नेपालको असली पहिचान हो। चुनावमा स्वस्थ प्रतिस्पर्धा हुन्छ, फरक विचार हुन्छ, तर हामीबीच मनमुटाव र वैमनस्य हुनुहुँदैन,’ उहाँले भन्नु भयो, ‘म चुनावी मैदानमा रहनुभएका सबै राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई उम्मेदवारीका लागि धन्यवाद दिन चाहन्छु। तपाईँहरूको सक्रियताले नै हाम्रो लोकतन्त्र जीवित रहने हो।’ मौन अवधिमा पूर्ण अनुशासनको पालना गर्न पनि अनुरोध गर्नु भएको छ।