मंगलबार, साउन १३, २०८२
काठमाडौं । रुसी सेनामा भर्ती भइ युक्रेनसँग लड्ने क्रममा एक सय बढी नेपालीको मृत्यु भएको छ ।
रुसी सेनामा भर्ती भएका नेपालीलाई स्वदेश फर्काउने अभियान चलाइरहेकी अभियन्ता कृतु भण्डारीले भन्छिन् ,“हालसम्म रुसी सेनामा भर्ती भइ युक्रनेसँगको युद्धमा मारिएका एक सय १३ जनाको नेपालमा रहेका परिवारले काजकिरिया गरिसकेका छन्,” “यो संख्या बढ्दो छ ।”
रूसी सेनामा भर्ती भएकामध्ये छ सय ९९ जनाको आफन्तले उनीहरूलाई फिर्ता ल्याउन पहल गरिदिन अनुरोधसहित विवरण भण्डारीलाई उपलब्ध गरेका छन् । उनले सामाजिक सञ्जालमा रूसी सेनामा भर्ती भएका, युद्धमा मारिएका र घाइते भएकाको छुट्टा–छुट्टै समूह बनाइ सूचना संकलन गर्दै आइरहेकी छन् । ती समूहमा तीन हजार ४०० जना सक्रिय छन् ।
“यी सूमहमा रुसी सेनामा भर्ती भएका नेपाली र उनीहरूका परिवारका सदस्य आवद्ध छन् । यसले पनि रुसी सेनामा भर्ती हुने नेपालीको संख्या निकै ठूलो रहेको अनुमान लगाउन सकिन्छ,” भण्डारीले भनिन् ।
अभियन्ता भण्डारीका अनुसार, रूसी सेनामा भर्ती भएका २५७ जना नेपाली हराइरहेका छन् । लामो समयदेखि उनीहरू नेपालमा रहेका आफ्नो परिवारको सम्पर्कमा आएका छैनन् ।
“पछिल्लो समय त परिवारका सदस्यहरू आफन्तको मृत्यु पुष्टि गर्न र हराइरहेकाको खोजी गर्न रूस नै जान थालेका छन्,” उनले भनिन् ।
रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म दुई सय ९० जना जति फर्केर नेपाल आएको उनले बताइन् । यीमध्ये ४० जना जति फर्केर रुस नै गएको सूचना प्राप्त भएको उनले जनाइन् ।
“रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२६ डिसेम्बरसम्म थप एक लाख ६० हजार विदेशीलाई सेनामा भर्ती गर्ने अभिव्यक्ति दिएपछि रुसबाट फर्केका केही नेपाली फेरि रुस जान थालेका छन् । यसलाई रोक्नुपर्छ,” अभियन्ता भण्डारीले जानकारी दिइन् ।
नेपालीहरू अझै रुसी सेनामा भर्ती हुन गइरहेको दाबी उनको छ । रूसी सेनामा भर्ती भएकामध्ये एक सय ४० जना नेपालीले रूसी नागरिकता लिइसकेको उनले बताइन् ।
परराष्ट्र मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागका अनुसार, रूसले औपचारिक रुपमा हालसम्म ७१ जना नेपाली मारिएको जानकारी दिएको छ ।
“रुस–युक्रेन युद्धमा हालसम्म ७१ जना नेपालीको मृत्यु भएको औपचारिक पुष्टि भएको छ । ४०–५० जनाको मृत्युको पुष्टि हुन बाँकी छ,” कन्सुलर सेवा विभागकी महानिर्देशक द्रुपदा सापकोटाले जानकारी दिइन् ।
उनका अनुसार हालसम्म रूसी सेनामा भर्ती भएका तीन सय ४९ जनाको परिवारले आफन्तलाई नेपाल फकाईदिन अनुरोध गर्दै विभागमा निवेदन दिएका छन् ।
यीमध्ये दुई सय जति फर्किइसकेको अनुमान उनको छ । कोही भागेर त कोही घाइते भएर फर्केका छन् ।
“रूसी सेनामा भर्ती भइ युद्धमा सहभागी हुने क्रममा मृत्यु भएका केही नेपालीको पुष्टि हुन बाँकी छ । मृत्यु पुष्टि गर्न हामीले ४० जनाको डीएनए पठाएका छौँ,” महानिर्देशक सापकोटाले भनिन् ।
रूस सरकारले नेपालमा रहेका परिवारको डीएनए रिपोर्ट मागेपछि पठाइएको हो । युक्रेनसँगको युद्धमा मारिएका नेपालीमध्ये एक जनाको पनि शव रूसले नेपाल पठाएको छैन । मृत्यु र घाइते भएकालाई दिनुपर्ने क्षतिपूर्ति रकम पनि रुसले नेपाल पठाएको छैन । मृत्यु भएकाका परिवारको सदस्य क्षतिपूर्ति रकम बुझ्न रूस जान थालेका छन् ।
“क्षतिपूर्ति रकम कति जनाले पाए संख्या यकिन छैन । तर क्षतिपूर्ति रकम बुझ्न रूस जान चाहनेलाई हामीले सहजीकरण गर्ने गरेका छौँ,” महानिर्देशक सापकोटाले भनिन्, “घाइते हुने धेरैले क्षतिपूर्ति रकम प्राप्त गरेका छन् ।”
अभियन्ता भण्डारीका अनुसार, हालसम्म मारिएका छ जनाको परिवारले क्षतिपूर्तिबापत पहिलो किस्ता बुझेका छन् ।
दुई जनाको परिवारले दोस्रो किस्ता पनि बुझिसकेका छन् । यो सबै रूस गएर बुझेका हुन् । मृतकका परिवारले दुई–तीन करोड रुपैयाँसम्म क्षतिपूर्ति पाउने गर्छन् । तर रूसमा बुझेको क्षतिपूर्ति रकम नेपाल ल्याउन सहज नभएको भनाइ भण्डारीको छ ।
“क्षतिपूर्ति रकम बुझ्न पीडित परिवारलाई रूस पठाउन हुँदैनथ्यो । सरकारले रूस पठाएर गल्ती गरेको छ । उनीहरूले क्षतिपूर्ति त बुझ्छन्, तर त्यो रकम के गरी नेपाल ल्याउँछन् । यहाँनेर सरकार गैरजिम्मेवार बनेको छ,” अभियन्ता भण्डारीले भनिन् । क्षतिपूर्ति रकम नेपाल सरकारले पीडित परिवारसमक्ष पुर्याउनुपर्ने तर्क उनको छ ।
रूसले सन् २०२२ फेब्रुअरी २४ का दिनबाट युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । त्यसपछि रुस र युक्रेनबीचको युद्ध निरन्तर चल्दै आएको छ । युद्धमा धेरै आफ्ना नागरिक मारिएपछि रूसले नेपालीलगायत विदेशी नागरिकलाई आफ्नो सेनामा भर्ती गरी युक्रेनसँगको युद्धमा पठाउन थालेको हो ।
रूसी सेनामा कति नेपाली भर्ती भएका छन् यकिन तथ्याङ्क नेपाल सरकारसँग छैन ।
नेपाल सरकारले पटक–पटक रुसलाई नेपालीको भर्ना रोक्न, भर्ती भएकाको विवरण पठाउन, भर्ती भएकालाई फिर्ता पठाउन र घाइते तथा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन अनुरोध गरे पनि रूसले भने बेवास्ता गर्दै आएको छ ।
सुरुमा त नेपाल सरकारले रुसी सेनामा नेपालीहरू भर्ती भएको कुरालाई स्वीकारेको थिएन । रूसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर आउन थालेपछि नेपाल सरकारले स्वीकारेको थियो ।
सबैभन्दा पहिला गोरखाका सन्दिप थपलिया २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए । रूसले थपलियाको शव पठाउन मानेन र त्यही समाधिस्थ गरिएको थियो ।
परराष्ट्र मन्त्रालयले थपलिया मरेको खबर साउन महिनामा नै थाहा पाएको थियो, तर थाहा नपाएझैँ गरेको थियो । त्यसपछि मस्कोस्थित नेपाली दूतावासले रूसी सेनामा नेपाली भर्ती भएका सम्बन्धमा बुझ्न सुरु गरेको थियो ।
दूतावासले बुझ्ने क्रममा थपलियाले सेनामा भर्ती हुँदा रुसी रक्षा मन्त्रालयसँग गरेको कागजात भेटिएको थियो ।
त्यसपछि परराष्ट्र मन्त्रालयले २०८० साउन १६ गते विज्ञप्ति जारी गर्दै विदेशी सेनामा नेपाली भर्ती भएको सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको थियो । तर विज्ञप्तिमा न त रुसको नाम नै उल्लेख थियो न युक्रेनको नै ।
मस्कोस्थित नेपाली दूतावासले २०८० कात्तिक २९ गते रुसी सेनामा भर्ती भएका इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की र दोलखाका राजकुमार रोकाको मृत्यु भएको भन्दै मंसिर ८ गते परराष्ट्र मन्त्रालयलाई पत्र पठाएपछि मात्र नेपालले औपचारिक रुपमा रुसी सेनामा नेपाली भर्ती भएको स्वीकारेको थियो ।
परराष्ट्र मन्त्रालयले २०८० मंसिर १८ गते रूसी सेनामा भर्ती भइ युक्रेनसँगको युद्धमा मारिनेको संख्या छ पुगेको जनाएको थियो ।
विज्ञप्ति जारी गर्नुअघि परराष्ट्रले नेपालका लागि रुसी राजदूतलाई मन्त्रालयमा बोलाई असन्तुष्टि जनाउँदै कूटनीतिक नोट थमाएको थियो ।
असन्तुष्टि जनाउने क्रममा परराष्ट्रले राजदूतमार्फत रुसलाई नेपालीको शव यथाशीघ्र पठाउन, पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, रुसी सेनामा नेपालीलाई भर्ना नगर्न र भर्ना भएका नेपालीलाई तत्काल नेपाल फर्काउन आग्रह गरेको थियो । तर रुसले नेपालको अनुरोधलाई टेरको छैन ।
नेपालको आग्रह कार्यान्वयन गर्न अटेरी गरेको रुसबाट फेरि एक जना नेपालीको मृत्यु भएको खबर परराष्ट्रले प्राप्त गर्यो । कुन्दन सिंह नागलको मृत्यु भएको खबर प्राप्त गरेपछि परराष्ट्रले २०८० पुस ४ गते फेरि विज्ञप्ति जारी गरेको थियो ।
विज्ञप्तिमा पुनः उही कुरा दोहोर्याइएको थियो, “परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको यस मन्त्रालयबाट पुनःस्पष्ट गरिन्छ ।”
गत पुस ४ गतेको विज्ञप्तिमा पनि रुसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकहरूको शव यथाशीघ्र नेपाल पठाउन, घाइतेलगायतका पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन, नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल नेपाल फर्काउन पुनःअनुरोध गरिएको थियो ।
गत पुस ४ गते जारी गरेको विज्ञप्तिमा नै परराष्ट्रले पहिलो पटक युक्रनले चार जना नेपालीलाई युद्धबन्दी बनाएको जनाएको थियो । रुसले अवैध तरिकाले नेपाली युवालाई आफ्नो सेनामा भर्ती गरेपछि नेपालले रुस जाने नेपालीमाथि कडाई गर्न थालेको थियो ।
सरकारले यसअघि सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकहरूलाई रुस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालयअन्र्तगतको कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट जारी गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको थियो ।
सरकारले पछिल्लो समय यो व्यवस्थालाई अझ विस्तार गरेको छ । भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरव इमिरेट्स, साउदी अरविया, कुवेत, कतार र बहराइनबाट समेत रुस यात्रा गर्नुपरेमा ती देशमा रहेका नेपाली दूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने एनओसी लिएर मात्र यात्रा गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारले कडाई गरे पनि रुसी सेनामा भर्ती हुने र मृत्यु हुने क्रम रोकिएको छैन ।
प्रतिक्रिया