बिहीबार, १७ ,माघ , २०८१
धादिङ । बेनीघाट रोराङ गाउँपालिकाद्वारा आयोजित श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको उद्घाटन समारोहमा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष नारायण प्रसाद दाहालले यस्तो विचार व्यक्त गर्नुभएको छ।
श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ कार्यक्रमका अध्यक्ष
बागमती प्रदेशका पूर्वमुख्यमन्त्री माननीय शालिकराम जमरकट्टेलज्यू
कथावाचक भागवत मञ्जरी श्री राधिका दासीज्यू
संघ र प्रदेशका माननीय सदस्यज्यूहरु
विभिन्न तहका जनप्रतिनिधिज्यूहरु
विभिन्न राजनीतिक दलका प्रतिनिधिज्यूहरु
विभिन्न संघ संस्थाका प्रतिनिधिज्यूहरु
उपस्थित शिक्षाप्रेमी अभिभावक र महानुभावहरु
पत्रकार तथा सुरक्षाकर्मी मित्रहरु सम्पूर्णमा नमस्कार
सर्वप्रथम त म गरिब, असहाय, सीमान्तकृत वर्गका बालबालिकाहरुको पोषण अवस्था सुधार एवं शिक्षित र समृद्ध समाज निर्माणको उद्धेश्य राखी शैक्षिक उत्थान कोष स्थापना गर्ने अभिप्रायले “शिक्षाको लागि भिक्षा अभियान” भन्ने मूल नाराका साथ आयोजना गरिएको श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञको पूर्ण र भव्य सफलताको शुभकामना व्यक्त गर्दछु।
साथै यस्तो पवित्र उद्धेश्य राखेर गरिएको पुण्य कर्मको उद्घाटन गर्ने र आफ्ना विचार राख्ने अवसर दिनुभएकोमा आयोजक गाउँपालिकालाई हार्दिक धन्यवाद व्यक्त गर्दछु।
गुणस्तरिय शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरि विपन्न तथा सीमान्तकृत र सामाजिक रुपले पिछडिएको समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण गर्ने पवित्र उद्देश्य लिई केही समय पहिलेदेखि नै बेनीघाट रोराङ गाउँपालिकाले वडा नं। ८ मा एकीकृत आवासीय विद्यालय सञ्चालनमा ल्याइरहेको थाहा पाउँदा मलाई धेरै खुसी लागेको छ।
यस गाउँपालिकाको अन्य वडाहरुमा आवासीय विद्यालय सञ्चालन गर्ने पवित्र उद्देश्यका साथ शैक्षिक उत्थानका लागि सामाजिक कर्तव्यबोधबाट प्रेरित भई श्रीमदभागवत सप्ताह महायज्ञको आयोजना गरिएको हो भन्ने मैले बुझेको छु। यस्तो सिर्जनात्मक कार्यलाई विस्तार गरि गाउँपालिकाका अन्य वडामा आवासीय विद्यालयको विस्तार गर्न सके यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक विकासका लागि बहुआयामिक अर्थ र महत्व राख्ने कुरामा कुनै द्विविधा हुँदैन।
यस सन्दर्भमा म ढुक्कले भन्न सक्छु कि सामुदायिक विद्यालयको सबलीकरण र शैक्षिक उत्थान गर्दै स्थानीय तहको अग्रसरतामा आवासीय विद्यालय सञ्चालन गरेर उत्पीडित, विपन्न तथा सीमान्तकृत समुदायका प्रत्येक बालबालिकाले गुणस्तरिय शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्न सकून् भन्ने यस पालिकाका सम्पूर्ण नागरिकको साझा सपना र चाहना बनेको हुनुपर्छ। तपाइँहरुको यो पवित्र र महान कार्यले अन्यत्र पनि प्रेरणा दिनेछ भन्ने मैले आशा एवं विश्वास लिएको छु।
यस बेनिघाट रोराङ गाउँपालिकाका तपाईं सम्पूर्ण शिक्षाप्रेमी, विकासप्रेमी जनसमुदायलाई मात्रै होइन सिङ्गो धादिङ जिल्ला र छिमेकी जिल्लाबाट पनि यो पवित्र कार्यलाई सफल पार्न रचनात्मक भूमिका खेल्नका लागि म हार्दिक अपिल गर्दछु।
२०७४ को निर्वाचनदेखि हालसम्म यहाँबाट निर्वाचित स्थानीय जनप्रतिनिधि साथै संघ र प्रदेशका जनप्रतिनिधिबाट जनताको सेवामा गरेका पूर्वाधार विकास कार्य प्रशंसनीय र दीर्घकालीन महत्वका छन् भन्ने मैले ठानेको छु। अझैं पनि जनसेवामा समर्पित भई आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य क्षेत्रमा एकताबद्ध भई आम जनताको साथमा अगाडि बढ्न सफल हुनुहोस् भन्ने पनि यस अवसरमा शुभकामना व्यक्त गर्दछु।
विश्वका जुनसुकै मुलुकको विकासको मेरुदण्ड भनेकै शिक्षा हो। शिक्षा क्षेत्रबाट उत्पादन हुने विभिन्न विषयका विज्ञहरुबाट नै मुलुकको समग्र विकास र समृद्धिमा महत्वपूर्ण भूमिका रहने भएकाले शुरुदेखि नै विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिन उपयुक्त वातावरण निर्माण गर्नु हामी सचेत नागरिकको दायित्व हुन्छ। त्यसैले संविधानको धारा ५१ को राज्यका नीतिहरुको ज को १ मा शिक्षा जनमुखी, व्यावहारिक, वैज्ञानिक, रोजगारउन्मुख, उत्पादनमुखी, प्राविधिक प्रतिस्पर्धी बनाउनु पर्छ भनिएको छ। यस दिशामा पनि तपाईहरुको प्रयाप्त ध्यान जाने नै छ।
यहाँ म यो पनि स्मरण गराउन चाहन्छु कि स्थानीय तहको नेतृत्वमा अभिभावकहरुको प्रत्यक्ष रेखदेख र सक्रिय सहभागिता नपुगेसम्म शिक्षाको विकास हुने देखिदैन। स्थानीय तहमा शिक्षा क्षेत्रको विकासको निम्ति गरेको पहल सह्रानीय छ तर पनि संघ सरकारलाई राष्ट्र संघीय दिगो विकास लक्ष्य ९४० ले राष्ट्रिय बजेटको न्यूनतम १५ देखि २० प्रतिशत रकम शिक्षा क्षेत्रमा लगानी गर्न सुझाव दिए पनि ध्यान पुगेको देखिदैन। प्रदेश सरकारले विद्यालयमा छात्रछात्राको संख्या बढाउन र उनीहरुलाई विद्यालयमै टिकाइराख्न दिवा खाजाको व्यवस्था, दलित र पिछडिएका वर्गको लागि छात्रवृत्तिको विशेष सहुलियत, तराईमा छात्राहरुलाई साइकलको व्यवस्था, स्यानीटरी प्याडको सुविधा आदिबारे प्रबन्ध मिलाए पनि समग्रमा स्तरिय शिक्षा अध्यापन र विकासका लागि राष्ट्रिय बजेटमा प्रतिशत नै बढाउनुको विकल्प छैन।
संविधानमा व्यवस्था भए बमोजिम तीन तहका सरकारमध्ये स्थानीय तहको शिक्षा सम्बन्धी एकल अधिकार अनुसार आधारभूत र माध्यमिक तहको शिक्षाको बारेमा भन्नुपर्दा हाम्रो संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकारको शिक्षा क्षेत्रको जिम्मेवारी धेरै महत्वपूर्ण छ। किनकि भूगोल, जनता स्थानीय क्षेत्रमा रहने र समस्या पनि त्यही रहने गर्दछ। नगर र ग्रामीण क्षेत्रमा नै आधारभूत र माध्यमिक तहका शैक्षिक संस्थाहरु हुने गर्दछन्। सायद यही मर्मलाई बुझेर नै होला यस पालिकाले आफ्नो जिम्मेवारी पूरा गर्ने उद्देश्यले यो भव्य र पवित्र कार्यको थालनी गरेको हो भन्ने म ठान्दछु।
म यहाँ यो पनि स्मरण गर्न चाहन्छु कि नेपाली जनताले बारम्बार ठूला(ठूला त्याग र बलिदान गरेर राजनीतिक परिवर्तन गरेका छन्। बलिदानको आधारमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन हुन सकिरहेको छैन। मलाई लाग्छ, जनताले खोजेको खासमा अवस्था परिवर्तन हो। ठूलो त्याग बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक २०७२ को नयाँ संविधान र त्यस संविधानमा विभिन्न उत्पीडित जातजाति, उत्पीडित वर्ग, लिङ्ग, क्षेत्र र समुदायका जनताका मौलिक हक अधिकार शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खानेपानी लगायतका सवालमा प्रष्ट व्यवस्था भए पनि अझैं खासै उपभोग गर्न नपाउँदा निरासा बढिरहेको छ। जनताका सम्पूर्ण मौलिक हक अधिकार उपभोग गर्नका लागि सहज वातावरण बनाउन चाहिने कयौं ऐन कानुन बन्न नसक्दा जनता झनै निरास भएका छन्। हामी अझैं पनि २०२८ को शिक्षा ऐन, २०२१ को भूमि ऐन, २०२९ को वन ऐनबाट निर्देशित हुन परिरहेको छ। म आफू ऐन निर्माण गर्ने ठाउँको नेतृत्वमा रहेर पनि कयौं व्यावहारिक कानुनी जटिलताका कारण सोचेजस्तो काम हुन नसकेको अनुभूत भएको छ। अब भोलिदेखि चल्ने हिउँदे अधिवेशनमा तत्काल अति आवश्यक विद्यालय शिक्षा ऐन, निजामति ऐन, प्रहरी समायोजन ऐन जस्ता महत्वपूर्ण दर्जनौं ऐन पारित हुँदैछन् भन्ने विश्वास दिलाउन चाहन्छु।
जनताको सेवा गर्ने तीव्र इच्छाशक्ति भए प्राप्त र उपलब्ध स्रोत साधनलाई विकास निर्माणका विविध कामहरु पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानीमा लगाउन सके केही हुन्छ भन्ने जनतामा विश्वास जगाउन सकिन्छ। यसै पालिकामा शिक्षा, स्वास्थ्य लगायतका विकास निर्माणका कामहरु उल्लेखनीय रुपमा भएको देखिन्छ भने केही महानगरपालिका, नगरपालिका लगायत गाउँपालिकामा दूरगामी महत्वका काम भएको देख्न सकिन्छ। त्यसैले प्राप्त स्रोत साधन र बजेट सीमित भए पनि जनताको सहभागितामा इमान्दारिताका साथ काम गरेर अगाडि बढे राम्रो परिणाम दिन सकिन्छ।
जन्मदेखि जीवनभर प्राप्त गरिने ज्ञान, सीप र प्रयोगबाट आर्जित नयाँ अनुभवहरुको सङ्गालो नै शिक्षा हो। यो औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट प्राप्त गर्न सकिन्छ। शिक्षा नै विकासको पूर्वाधार भएकाले हामीले नैतिक र व्यावहारिक शिक्षाको आवश्यकतालाई मूल नारा बनाउन सके देशको सर्वाङ्गीण विकास गर्न टेवा पुर्याउन सक्ने देखिन्छ।
प्राचीनकालमा पुस्तकबाट भन्दा वाचनद्वारा शिक्षा, ज्ञान र सीपलाई हस्तान्तरण गरिन्थ्यो। समाजमा भएका सीपहरु एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने गर्दथे। त्यस समयमा जीवनमा आवश्यक पर्ने सीपहरुको माध्यामबाट समस्या समाधान गर्न सक्ने गरि सीप सिकाइन्थ्यो। त्यसबेला अध्ययन गर्ने स्थान मठ मन्दिर, गुम्बा, बौद्ध बिहार, चर्च, मस्जिद हुन्थे। ज्योतिष विद्या, पुराण कर्मकाण्ड आदि व्यावसायिक विषयको रुपमा अध्ययन गरिन्थे। विद्या आर्जन गर्ने क्रममा रामचन्द्रले गुरु वशिष्टबाट, कौरव(पाण्डवले महर्षि द्रोणाचार्यबाट, कृष्ण र सुदामाले सान्दिपनीबाट विद्या आर्जन गरेका थिए। कौरव र पाण्डव, राम र रावणको युद्धमा युद्धकलाको प्रयोग भएको थियो। गुरुबाट नै सबै ज्ञान र सीप प्राप्त हुने कुरा महाभारतका एकलव्यले चरितार्थ गरिदिएको कुरा उल्लेख छ। मैले यहाँ यो कुरा किन उल्लेख गरेको हुँ भने यहाँ आधुनिक समाजको उपजमा रहेको २१औं शताब्दीको वैज्ञानिक शिक्षाबाट प्राप्त ज्ञान र सीप, पौराणिक रुपमा केही हदमा सिद्ध भएका श्रीमदभागवत(सप्ताह ज्ञान महायज्ञको कार्यबाट प्रष्ट र अति सुन्दरवाचक भागवत मञ्जरी श्री राधिका दासीज्यूबाट दिव्य ज्ञानको फ्यूजन गराई यस क्षेत्रको शिक्षामा परिवर्तन ल्याउन खोजिएको छ। यस महान् पुण्य कार्यमा यहाँ प्रत्यक्ष उपस्थित भएर सुनिरहने महानुभावले दिल खोलेर सहयोग गर्नुहुन र महायज्ञमा अनुपस्थित महानुभावलाई तपाइहरुले गाउँ, टोल र घर घरमा गएर यस कार्यमा सहभागी हुन र पुण्य कार्यमा सक्दो सहयोग गर्न अनुरोध गर्न पनि म अपिल गर्न चाहन्छु।
मलाई लाग्छ( धन साँचेर राख्दा खिइने, सड्ने, हराउने र कमजोर हुने गर्दछ। बाँड्दा चलायमान गराउँदा नै यसको महत्त्व बढ्छ। आत्मसम्मान बढ्छ। साथै भावी पुस्ताले समेत स्मरण गर्ने र सम्मान गर्ने हुन्छ। त्यसैले धन थोरै भए पनि ठूलो मनले दान गरौं समाजमा सम्मान प्राप्त हुने कार्यमा लागौं फेरि पनि मेरो यही अपिल छ।
फेरि पनि यो भव्य र सभ्य कार्यको पूर्ण सफलताको कामना गर्दछु। साथै यस श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञका प्रमुख कथावाचक भागवत मञ्जरी श्री राधिका दासीज्यूलाई हृदयदेखि हार्दिक धन्यवादसहित उहाँको दिव्य शिक्षाले यस क्षेत्रका तपाईं सबैलाई यस यज्ञलाई सफल बनाउन प्रेरित गर्नेछ भन्ने शुभकामना पनि व्यक्त गर्दछु। साथै यो एकीकृत आवासीय विद्यालय सञ्चालनमा विकास र सुदृढका लागि मेरो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता प्रकट गर्न चाहन्छु।
अन्तमा आयोजक बेनीघाट रोराङ गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ९विवेक० लगायत सम्पूर्ण पालिका परिवारलाई पनि धन्यवाद दिन चाहन्छु। साथै मलाई यो भव्य समारोहमा आउने अवसर मिलाउनु हुने बागमती प्रदेशका पूर्वमुख्यमन्त्री माननीय शालिकराम जमरकट्टेल लगायत सबै जनप्रतिनिधिहरुलाई पनि हार्दिक धन्यवाद दिदै मेरा भनाई यही टुङ्ग्याउँछु। धन्यवाद।
प्रतिक्रिया