१८ कार्तिक २०८३
काठमाडौं । नेपाल सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएर कार्कीलाई हटाउने निर्णय गरेको हो।
बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसेको थियो । अब प्रहरीको नेतृत्वमा उनकै ब्याची मनोज केसीलाई नियुक्ति गरिएको छ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आईजीपीबाट हटाइएका दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको बिशेष सल्लाहकारमा नियुक्त गर्ने निर्णय पनि यस बैठकले गरेको छ।
यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबार बसेसँगै सरकारले नियमित कामकारबाहीलाई अघि बढाएको थियो।
कार्कीमाथि रास्वपाकै सांसद खगेन्द्र सुनारले निर्वाचन प्रहरीको पोशाक खरिदमा हिनामिनाको आरोप लगाउँदै आएका थिए । पछिल्लो पटक बिचौलियाका रुपमा चर्चित इनम सापकोटासँग पनि उनी र अर्का एआजी राजन अधिकारी सम्पर्कमा रहेको विवरण आएको थियो।
यसअघि सरकारले इनमसँग सम्पर्कमा रहेको प्रमाण भेटिएको भन्दै सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पनि पदबाट बर्खास्त गरिसकेको थियो ।
पछिल्लो समय विवादास्पद व्यक्ति इनम सापकोटासँग उच्च पदस्थ व्यक्तिहरूको सम्बन्ध जोडिएका विषय सार्वजनिक भएपछि मन्त्रिपरिषद् बैठकसमेत प्रभावित हुँदै आएको थियो।
पछिल्लोपटक असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठक त्यसपछि बस्न सकेको थिएन। मन्त्रिपरिषद्को नियमित बैठक साताको दुईपटक सोमबार र बिहीबार बस्ने अभ्यास रहे पनि आवश्यकताअनुसार प्रधानमन्त्रीले जुनसुकै बेला विशेष बैठक बोलाउन सक्ने व्यवस्था छ।
प्रतिक्रिया