१४ कार्तिक २०८३
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले पत्रकारहरुमाथिको धरपडकबारे अनविज्ञता प्रकट गरेका छन् । उनको सचिवालयले पत्रकार पक्राउबारे प्रधानमन्त्री बालेन र प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी नरहेको बताएको छ ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत दीपा दाहालले सामाजिक सञ्जालमा लेखेकी छन्– पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ । उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको
छ ।
विचौलिया इनम सापकोटा र न्यायाधीशहरुबीचको आर्थिक लेनदेनका कुराहरुसम्वन्धी तथ्य मिडियाले सार्वजनिक गरेपछि न्यायालयमा ठूलो भूकम्प गएको छ । हिजो सर्वोच्च अदालतमा फुलकोर्टको बैठक पनि बसेको थियो । न्यायालयको दबाबमा नै प्रहरीले मिडियाको कार्यालयमा नै छिरेर पत्रकारहरुमाथि धरकपड सुरु गरेको आशंका भएको छ ।
यसअघि पनि न्यायाधीशहरुको दबाबमा सिधाकुरा डटकममा कार्यरत पत्रकारहरुमाथि धरपकड गर्ने, मुद्दा लगाउने काम भएको थियो । पछिल्लो घटनाले कार्यपालिका र न्यायापालिकाबीच मात्रै नभएर सत्तारुढ दलभित्र पनि असन्तुष्टि विस्फोटकरुपमा बढेको देखिएको छ ।
यद्यपि सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदिश खरेलले पत्रकार पक्राउप्रति विरोध जनाउँदै विज्ञप्ति जारी गरेका छन् । यता प्रधानमन्त्री बालेनको निर्देशनमा पक्राउ परेका सबै पत्रकार रिहा भएका छन् ।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन् भन्दै सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको र प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् भनेका छन् ।
प्रतिक्रिया