नेपाल–भारत द्विपक्षीय बैठक, प्रधानमन्त्री बालेनको भारत भ्रमणमा केन्द्रित

नेपाल–भारत द्विपक्षीय बैठक, प्रधानमन्त्री बालेनको भारत भ्रमणमा केन्द्रित

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, कात्तिक १८, २०८३

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल–भारत द्विपक्षीय बैठक प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणमा केन्द्रित हुने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल–भारत द्विपक्षीय बैठक सुरु हुनुअघि परराष्ट्र सचिव अमृतबहादुर राईसँगको भेटमा उनले यस्तो जनाएका हुन् ।

“आजको हाम्रो छलफल प्रधानमन्त्रीको भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहलहरूमा केन्द्रित रहनेछ । यसका लागि विस्तृत कार्यसूची तयार गरिएको छ,” भारतीय विदेश सचिव मिस्रीले भने ।

भारतीय विदेश सचिव मिश्रीले भारत भोटेकोसी बाढीपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपाललाई सहयोग गर्न तयार रहेको समेत जनाएका छन् ।

नेपाल र भारत सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएको उनले बताए । विशेषगरी भोटेकोसीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिमा यो सम्बन्धलाई व्यवहारमा देखाउने अवसर प्राप्त भएको उनले जनाए ।

“भारतले सहयोग उपलब्ध गराएको छ । तर उक्त घटनाले नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश पुर्‍याएको हामीले बुझेका छौँ । सधैँझैँ पुनर्निर्माण तथा पुनर्स्थापनाको चरणमा आवश्यक सहयोग वा परियोजनासम्बन्धी प्रस्तावहरूमा विचार गर्न भारत तयार रहेको छ,” भारतका विदेश सचिव मिश्रीले भने ।

पुनर्निर्माण र पुनर्स्थापनाका विषयमा प्रारम्भिक छलफल भइसकेको उनले जनाए । “नेपालका नेतृत्वसँग यसबारे थप विवरणसहित छलफल गर्न हामी इच्छुक छौँ,” उनले भने ।

नेपाल र भारतले धेरै समयदेखि बाँकी रहेका विषयहरू समाधान गर्नुका साथै दुवै पक्षबाट अघि बढाइएका महत्त्वपूर्ण पहलहरूको कार्यान्वयनमा पनि प्रगति भएको दाबी उनले गरे ।

“यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु । तपाईंले भन्नुभएझैँ, भारत र नेपालबीच विभिन्न दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेको छ,” भारतका विदेश सचिव मिश्रीले भने ।