५ भदौ , २०८३
प्रदेश प्रमुख नहुँदा रोकियो कर्णाली सरकार विस्तार
सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मन्त्री सहभागी गराउने तयारी भए पनि कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी सुर्खेतमा नरहेका कारण सरकार विस्तारको प्रक्रिया रोकिएको छ ।
सत्ता साझेदार दल नेकपा (एमाले)ले आफ्नोतर्फबाट तीन मन्त्री सरकारमा पठाइसके पनि सरकारको नेतृत्व गरिरहेको नेकपाले भने आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री नियुक्त गर्न सकेको छैन । प्रदेश प्रमुखको अनुपस्थितिका कारण मन्त्री नियुक्ति तथा शपथको प्रक्रिया अघि बढ्न नसकेको मुख्यमन्त्री मंगलबहादुर शाहीले बताएका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी मनमाया काउचाका अनुसार प्रदेश प्रमुख जोशी कार्यालयलाई जानकारी गराएर बाहिरिएका भने होइनन् ।“प्रदेश प्रमुख बाहिर गएको भन्ने जानकारी छ, तर उहाँ कहाँ जानुभएको हो भन्नेबारे हामीलाई जानकारी छैन,” उनले बताइन् ।
तर, स्रोतका अनुसार प्रदेश प्रमुख जोशी उपचारको लागि धनगडी गेटा गएका छन् ।
मुख्यमन्त्री शाहीले भने प्रदेश प्रमुख सुर्खेतमा नभएकै कारण सरकार विस्तार रोकिएको स्पष्ट पारे । उनका अनुसार मन्त्री नियुक्तिको तयारी पूरा भइसकेको छ ।
“हामी आज नै तयारी अवस्थामा थियौँ । तर, यहाँ प्रदेश प्रमुख नभएका कारण रोकिएको छ,” मुख्यमन्त्री शाहीले भने, “उहाँ सुर्खेत आउनेबित्तिकै सरकार विस्तारको काम त्यही दिन अगाडि बढ्छ ।”
सत्ता साझेदार दल एमालेले गत ३ भदौमै सरकारमा तीन मन्त्री पठाइसकेको छ । एमालेका तर्फबाट जुम्लाका टेकराज पछाई आर्थिक मामिला तथा योजनामन्त्री, मुगुका जीतबहादुर मल्ल सामाजिक विकासमन्त्री र हुम्लाका कलबहादुर हमाल जलस्रोत तथा ऊर्जा विकासमन्त्री बनेका छन् ।
तर, सरकारको नेतृत्व गरिरहेको नेकपाले भने अहिलेसम्म आफ्नोतर्फबाट मन्त्री पठाउन सकेको छैन । सत्ता गठबन्धनबीच भएको भागबन्डाअनुसार नेकपाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित भौतिक पूर्वाधार विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सम्हाल्ने सहमति भएको छ ।
मुख्यमन्त्री शाहीले शपथ लिएको करिब तीन सातापछि मात्रै एमालेका तीन मन्त्रीलाई सहभागी गराउँदै ३ भदौमा मन्त्रिपरिषद् विस्तार गरेका थिए । तर, एमाले सरकारमा सहभागी भएको दुई दिन बितिसक्दा पनि मुख्यमन्त्रीकै दलबाट मन्त्री नियुक्त हुन सकेको छैन ।
प्रतिक्रिया