१० भदौ , २०८३
काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीको सम्भावित कारणबारे विपद्विज्ञ तथा सरोकारवाला निकाय नै हालसम्म निष्कर्षमा पुग्न सकेका छैनन् ।
तिब्बतको माथिल्लो भागमा सम्पर्क टुटेकाले हालसम्म बाढी के कारणले आयो भन्नेबारे विपद्विज्ञ तथा सरोकारवाला निकायहरू नै बेखबर रहेका हुन् ।
हिमताल फुटेको, हिमपहिरो गएको अथवा, ड्याम फुटेको वा पहिरोले खोला थुनिएर एक्कासि फुट्दा तत्लो भागमा बाढी आएको हुनसक्ने विज्ञ तथा सरोकारवाला निकायहरूले बताएका छन् । तर, यीमध्ये भएको के हो भन्नेमा कसैले पनि यकिन गर्न सकेका छैनन् ।
“हिउँको ठूलो ढिक्का खसेर बाढी आएको पनि हुनसक्छ । अथवा कुनै हिमताल विष्फोट भएर पनि बाढी आएको हुुनसक्छ,” विपद्विज्ञ वसन्तराज अधिकारी भन्छन्, “चिनियाँ पक्षले नेटवर्क ड्यामेज रहेका कारण कुन ठाउँ र के भएको हो भनेर भन्न सकेको छैन ।”
मौसमविद् विनोद पोखरेल भारी वर्षाका कारण आएको बाढी नभएको बताउँछन् । “यो भारी वर्षाका कारण आएको बाढी होइन । यो ड्याम फुटेर आएको बाढी हुने सम्भावना उच्च छ,” मौसमविद् पोखरेल भन्छन्, “पहिरो गएर ड्याम बनेर त्यो फुटेर बाढी आएको आकलन गर्न सकिन्छ । तर, यसको यकिन कारण कसैले हालसम्म पत्ता लगाउन सकेको छैन ।”
जलवायूविज्ञ धर्मराज उप्रेतीले तिब्बतमा हिमपहिरो जाँदा रसुवा भोटेकोशीमा बाढी आएको प्रारम्भीक अनुमान गरिएको बताएका छन् ।
“हिमपहिरो गएर ड्याम बनाएको र पछि त्यो फुट्दा ठूलो परिमाणमा पानी एकैपटक बग्दा बाढी आएको अनुमान छ,” जलवायूविज्ञ उप्रेती भन्छन्, “हामी वास्तविकता के हो भनेर बुझ्ने प्रयास गरिरहेका छौँ ।”
जल तथा मौसम विज्ञान विभागका मौसमविद् मीनकुमार आर्याल तिब्बती क्षेत्रमा ठूलो पानी परेर हिमहिरो जाँदा बाढी आएको हुनसक्ने बताउँछन् ।
“नेपालकै माथिल्लो भूभागमा ड्याम फुटेको पनि हुनसक्छ, हिमपहिरो गएको पनि हुनसक्छ,” मौसमविद् अर्याल भन्छन्, “हिमपहिरो गएको, ताल फुटेको वा अस्थायी ड्याम बनेर फुटेको भए पनि दुईरतीन घण्टामा यो क्रमशः घट्दै जानेछ,” मौसमविद् अर्याल भन्छन्, “कति समय बाढी आउने भन्ने कुरा कत्रो पहिरो वा ड्याम हो त्यसमा भरपर्छ ।”
आज दिनभर रसुवा, नुवाकोट र धादिङको नदी तटीय क्षेत्रमा बस्नेहरूले सतर्क हुनुपर्ने र सुरक्षित ठाउँमा बसोबास गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया