ताइवान विरुद्ध चीनले नाकाबन्दी गर्न तयारी तीव्र

ताइवान विरुद्ध चीनले नाकाबन्दी गर्न तयारी तीव्र

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, भदौ १८, २०८३

काठमाडौं । ताइवानको रक्षा मन्त्रालयले चीनको जनमुक्ति सेनाले टापुलाई घेराबन्दी र नाकाबन्दी गर्ने आफ्नो क्षमतालाई निरन्तर तीव्र पारिरहेको बताएको छ ।

यो मूल्यांकन ताइवानको रक्षा मन्त्रालयले व्यवस्थापिकामा पेस गरेको ‘२०२६ चीन सैन्य शक्ति’ रिपोर्टमा उल्लेख गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

ताइवानको सेनाले पनि यस्तो सम्भावित परिस्थितिको सामना गर्न आफ्नो सैन्य रणनीति र प्रतिकार योजनाहरूलाई अझ परिष्कृत बनाइरहेको दाबी गरेको छ । उक्त रिपोर्टसँगै पाँच वर्षे सैन्य विकास योजना र आगामी वर्षको रक्षा बजेटको मस्यौदा पनि पेस गरिएको थियो ।

रिपोर्टमा चिनियाँ सेनाका हालैका अभ्यासहरू ताइवानका बाह्य हवाई तथा समुद्री मार्गहरूलाई संयुक्त रूपमा नियन्त्रण र नाकाबन्दी गर्ने जस्ता विषय रहेको छ । मन्त्रालयका अनुसार यी सैन्य अभ्यासहरूमा समुद्री र हवाई नाकाबन्दी वा क्वारेन्टाइन, संयुक्त प्रहार, युद्धमैदानमा पूर्ण श्रेष्ठता हासिल गर्ने र संयुक्त जलथलचर अवतरण अपरेसनहरूको अभ्यास समावेश थिए ।

ताइवानी मन्त्रालयका अनुसार ति अभ्यासहरूको उद्देश्य टापुमा प्रहार गर्ने क्षमतालाई बलियो बनाउनु हो । विदेशी शक्तिहरूको सम्भावित हस्तक्षेपलाई रोक्न ‘एन्टी एक्सेस तथा एन्टी डिनाइल’ अपरेसन सञ्चालन गर्नु पनि उद्देश्य हेको छ ।

चीनले ताइवानलाई चीनको अभिन्न अंग मान्छ । चीनले यसलाई मुख्य भूमिसँग पुनः एकीकृत गर्न बल प्रयोगको सम्भावनालाई कहिल्यै नकारेको छैन ।