सोमबार, भदौ २२, २०८३
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति (एक्विजिसन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । तीनै संस्थाका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेर मर्जरका निम्ति प्रक्रिया अगाडि बढाएका हुन् ।
योसँगै अब प्राप्तिसम्बन्धी आवश्यक विस्तृत अध्ययन, मूल्यांकन, सम्पत्ति तथा दायित्वको यथार्थ परीक्षण, सेयर आदानप्रदान सम्बन्धी व्यवस्था र अरू आवश्यक प्रक्रिया अघि बढाइनेछ ।
वित्तीय क्षेत्रको सुदृढीकरण, संस्थागत क्षमता अभिवृद्धि, व्यवसायको विस्तार तथा ग्राहकलाई थप प्रभावकारी वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यले प्राप्ति प्रक्रिया अघि बढाइएको मुक्तिनाथ विकास बैंकले जनाएको छ ।
तीनै संस्थाले प्रस्तावित प्रक्रियालाई पारदर्शी, व्यवस्थित तथा प्रचलित कानुनी एवं नियामकीय व्यवस्थाअनुरूप अघि बढाउँदै सम्बन्धित सबै सरोकारवालाको हितलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया