इराकबाट फर्किए अमेरिकी सैनिक

इराकबाट फर्किए अमेरिकी सैनिक

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज १४, २०८३

काठमाडौं । एक दशकभन्दा लामो समयपछि अमेरिकी सेना मंगलबार इराकमा रहेका आफ्ना बाँकी केही सैन्य अखडाबाट बाहिरिएको छ ।

अमेरिका र गठबन्धन साझेदारहरूले सेप्टेम्बर २०२४ को अमेरिका–इराक सम्झौता अनुसार इराकमा सञ्चालन हुँदै आएको अपरेसन इनहेरेन्ट रिसोल्भ’ औपचारिक रूपमा समाप्त गरेका पेन्टागनले जनाएको छ । यद्यपि, इराकी सुरक्षा बललाई लक्षित तालिम र गुप्तचर सहयोग भने जारी रहने बताइएको छ ।

‍‍इराकी प्रधानमन्त्री अली अल–जैदीले गठबन्धन सेना फिर्ता भएको भोलिपल्ट अक्टोबर १ लाई ‘सार्वभौमसत्ता दिवस’का रूपमा मनाउने घोषणा गरेका छन् । इराकी नेतृत्वले यसलाई देशको सार्वभौमसत्तातर्फको यात्रा पूरा भएको पुष्टि गर्ने राष्ट्रिय अवसरका रूपमा व्याख्या गरेको छ ।

अमेरिका नेतृत्वको गठबन्धनले सन् २०१४ मा इराक र सिरियामा ठूलो भूभाग कब्जा गरेको इस्लामिक स्टेट (आईएस) विरुद्ध सैन्य अभियान सुरु गरेको थियो । इराकमा सन् २०१७ र सिरियामा सन् २०१९ मा आईएसको पराजय घोषणा गरिए पनि उसका बाँकी संरचनाविरुद्ध कारबाही गर्न गठबन्धन सेना त्यहाँ रहँदै आएको थियो ।

इराकबाट अमेरिकी सैनिकको पूर्ण बहिर्गमन सदाम हुसेनलाई सत्ताच्युत गरेको अमेरिकी नेतृत्वको सैन्य हस्तक्षेपको २३ वर्षपछि भएको हो । उक्त हस्तक्षेपपछि उत्पन्न लामो समयको राजनीतिक अस्थिरता र हिंसाबीच आईएसको उदय भएको थियो ।

इरान र उसका सहयोगीहरूले अमेरिकी सेना फिर्तालाई स्वागत गरेका छन् । अमेरिकी सेना हटेपछि इरान समर्थित शिया लडाकु समूहहरूको प्रभाव बढ्न सक्ने तथा आईएस पुनः संगठित हुने प्रयासबीच इराकको सुरक्षा अवस्था कमजोर हुन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

अमेरिकी फिर्ताले इराकको संघीय सरकारसँगै उत्तरी अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रलाई पनि सुरक्षा चुनौती बढ्ने चिन्ता पैदा गरेको छ । बाँकी रहेका धेरै अमेरिकी सैन्य अखडा यही क्षेत्रमा थिए ।