सीएनआईवाईईएफ र टीएसएनबीच साझेदारी, १०० स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य

सीएनआईवाईईएफ र टीएसएनबीच साझेदारी, १०० स्टार्टअप प्रवर्द्धन गर्ने लक्ष्य

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

असोज १४, २०८३

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) र द स्टार्टअप नेटवर्क नेपाल (टीएसएन) बीच स्टार्टअप तथा उद्यमशीलता क्षेत्रलाई थप सशक्त बनाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार, दुवै संस्थाले संयुक्त रूपमा ‘फाउन्डर्स हब’ नामक इन्क्युबेसन तथा एक्सेलेरेसन कार्यक्रम सञ्चालन गर्नेछन् । कार्यक्रममार्फत हरेक वर्ष १०० वटा स्टार्टअपलाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा सहभागी स्टार्टअपलाई व्यवसाय विकास, परामर्श, उद्योगसँगको पहुँच, सम्बन्ध विस्तार तथा लगानीको तयारीमा सहयोग गरिनेछ । साथै, सम्भावित लगानीकर्तासँग जोड्दै लगानीका अवसर सिर्जना गर्ने समझदारीमा उल्लेख छ ।

समझदारीपत्रमा सीएनआईवाइईएफका निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ र टीएसएनका प्रमुख सञ्चालन अधिकृत सौगात ओझाले हस्ताक्षर गरेका छन् ।

साझेदारीअन्तर्गत सीएनआईवाइईएफले आफ्ना सदस्य तथा साझेदार संस्थाको सञ्जालमार्फत टीएसएनका कार्यक्रमका लागि सम्भावित प्रायोजक, संस्थागत साझेदार तथा अन्य सरोकारवालासँग सहकार्य विस्तार गर्न सहजीकरण गर्नेछ ।

सहकार्य काठमाडौंमा मात्र सीमित नरहने र देशका विभिन्न शहर तथा उदीयमान उद्यमशीलता केन्द्रसम्म विस्तार गर्ने योजना छ । नवप्रवर्तन र उद्यमशीलताको पहुँच विभिन्न भूगोलसम्म पुर्‍याउँदै स्थानीय स्तरमा नयाँ व्यवसाय तथा उद्यमी विकास गर्ने लक्ष्य साझेदारीले लिएको छ ।