दसैँ नजिकिँदा यात्रुमा अन्योलः सार्वजनिक सवारीको अग्रिम बुकिङ अझै ठप्प, जहाजका टिकट शतप्रतिशत बिक्री

दसैँ नजिकिँदा यात्रुमा अन्योलः सार्वजनिक सवारीको अग्रिम बुकिङ अझै ठप्प, जहाजका टिकट शतप्रतिशत बिक्री

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, असोज १८, २०८३

 

काठमाडौँ । दसैँमा काठमाडौँ उपत्यका छाडेर घर फर्किने तयारीमा रहेका यात्रुहरू सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखुल्दा अन्योलमा परेका छन्। घटस्थापना आउन अब केही दिन मात्र बाँकी रहँदा पनि सरकार र यातायात व्यवसायीबीच अग्रिम बुकिङबारे टुङ्गो लाग्न सकेको छैन।

पोखरा, चितवन र भैरहवा जस्ता सुगम र धेरै विकल्प भएका गन्तव्यका लागि केही निजी कम्पनीहरूले अनलाइनमार्फत टिकट बिक्री गरिरहेका छन्। तर, दुर्गम र सीमित यातायात सुविधा भएका क्षेत्रका लागि भने औपचारिक अग्रिम बुकिङ अझै सुरु भएको छैन।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार सरकारी निकायहरूसँग दिनहुँ जसो छलफल भइरहे पनि औपचारिक निर्णय हुन सकेको छैन। दुई(तीन दिनपछाडिको टिकट बिक्री भइरहेको भए पनि दसैँ सुरु भएपछिका लागि बुकिङ खुलाइएको छैन,ू उनले भने, अनलाइनबाट भइरहेको आफूखुसी बुकिङको जिम्मेवारी सम्बन्धित कम्पनीहरूकै हो।

यातायात व्यवस्था विभागले अघिल्ला वर्षहरूमा दसैँभरिका लागि रुट इजाजत खुला गर्दै अग्रिम बुकिङ गराउँदै आएको थियो। यसपालि पनि विभिन्न सरोकारवालासँग चरणबद्ध छलफल भए पनि बुकिङ सुरु गर्ने मिति भने तय भएको छैन।

यस वर्षको दसैँमा घटस्थापना (२५ असोज), फूलपाती (३१ असोज) र विजयादशमी (४ कात्तिक) परेको छ। पूर्वाधार विकास समितिका अनुसार घटस्थापनादेखि फूलपातीका दिनहरूमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप अत्यधिक हुने गर्छ। समितिले यस वर्ष दसैँमा करिब १० लाख यात्रुले काठमाडौँ छाड्ने अनुमान गरे पनि व्यवसायीहरूले यो सङ्ख्या अझ बढी हुन सक्ने बताएका छन्।

हवाई टिकटको हाहाकार

सडक यातायातमा अन्योल कायम रहँदा हवाई सेवातर्फ भने दसैँका लागि टिकट लगभग सकिएका छन्। २८ असोजदेखि १ कात्तिकसम्मका लागि हवाई जहाजका टिकट शतप्रतिशतसम्म बिक्री भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार यस पटक माथिल्लो फेयर (महँगो दर) नराखिएकाले दसैँ अगाडिका सिटहरू तीव्र रूपमा बिक्री भएका हुन्। यद्यपि, काठमाडौँ फर्किने र अन्य दिनका लागि भने अझै केही टिकट बाँकी छन्। दसैँको समयमा काठमाडौँबाट बाहिरिने यात्रुको चाप उच्च हुने भए पनि फर्कने जहाजहरू लगभग रित्तै आउनुपर्ने बाध्यता रहन्छ।

त्यस्तै, यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले पनि आफ्ना ८० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको जानकारी दिए। मुख्यगरी पोखरा, विराटनगर र भैरहवा जस्ता विमानस्थलहरूमा यात्रुको उच्च चाप छ। सडक खण्डका पृथ्वी राजमार्ग, मुग्लिननारायणगढ र बीपी राजमार्गमा यातायात असहज रहेकाले धेरै यात्रुले हवाईमार्गलाई विकल्पका रूपमा रोजेका हुन्।