वैशाख ३, २०८२
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी स्थायी कमिटी सदस्य विन्दा पाण्डेबीच बालुवाटारमा करिब एक घन्टा भेटवार्ता भएको छ ।
भाटभटेनी सञ्चालक मीनबहादुर गुरूङले एमाले पार्टी कार्यालय बनाउन जग्गा दान गरेपछि उनले विरोध गरेकी थिइन्। सचिवालय बैठकले पार्टी निर्णयविपरीत धारणा राखेको भन्दै पाण्डे र उषाकिरण तिम्सेनालाई निलम्बन गर्ने निर्णय गरेको थियो तर पाँच महिनासम्म पनि उनीहरूले निलम्बनको पत्र पाएका छैनन्।
यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर पाण्डेसँग कुराकानी गरेका हुन्।
व्यवसायी गुरूङबाट १० रोपनी १४ आना जग्गा दान स्वरूप लिएर पार्टी केन्द्रीय कार्यालय बनाउने विषयमा असहमति राखेपछि गत पुस १० पाण्डेसँगै केन्द्रीय सदस्य तिम्सेनालाई पनि ६ महिनाका लागि निलम्बन गर्ने सचिवालयले निर्णय गरेको थियो।
त्यसैले दुवै नेता पार्टीको सक्रिय गतिविधिबाट अहिले बिदामा राखिएका छन्।
निलम्बनको अवधिलाई सिर्जना कर्ममा लगाउने गरी पाण्डेले किताब लेखिन्। उनको पुस्तक भुइँमान्छे गत फागुन २१ गते विमोचन भयो।
अहिले उनी अहिले किताबको बहस–विमर्शमा लागिरहेकी छिन्।
नयाँ वर्षको सन्दर्भमा पारेर वैशाख १ गते पार्टी अध्यक्ष ओलीले ‘ह्याप्पी न्यु इयर’वाला फोन गरेको पाण्डेले बताइन्।
सुरूमा त उनले पार्टी अध्यक्षले शुभकामना दिन मात्रै सम्झिएको होला भन्ने ठानेकी रहिछन्। तर अध्यक्ष ओलीले उनीसँग कुराकानी नै गर्न खोजेको बताएका थिए।
‘नेता–कार्यकर्तासँग गफ गर्ने उहाँको आफ्नै ठट्यौली शैली छ। नयाँ वर्षको दिन उहाँबाट ह्याप्पी न्यु इयरवाला कल आएको थियो,’ पाण्डेले भनिन्, ‘त्यसपछि उहाँले ठट्टा गर्दै हामीसँग भेट गर्न मिल्दैन भन्नुभयो!’
पाण्डेले पनि ‘अध्यक्षले बोलाए भेट भइहाल्छ नि१’ भनेकी थिइन्। त्यसपछि अध्यक्ष ओलीले उनलाई मंगलबार दिउँसो १ बजेको निम्तो दिएका थिए।
‘सुरूआतमा त नयाँ वर्षको शुभकामना साटासाट भयो। त्यसपछि मैले उहाँको हातमा भर्खरै निस्किएको भुइँमान्छे पुस्तक थमाउँदै सुझाव पाऊँ भनेँ’ पाण्डेले भनिन्।
किताब हातमा लिएपछि अध्यक्ष ओलीले आफूले पढेर सुझाव दिने बताए। विभिन्न कालखण्डमा पार्टी निर्माण र विस्तारमा भूमिका खेलेका मानिसहरूको योगदान समेटेर पुस्तक लेखेको भन्दै धन्यवादसमेत दिए।
वार्तालापका क्रममा अध्यक्ष ओलीले ‘किताबको पाण्डुलिपि पढ्न पाएको भए अझ रचनात्मक सुझाव दिन्थेँ’ समेत बताएका थिए।
त्यहीक्रममा आफूले सुखानी स्मृति दिवसको सन्दर्भ पारेर किताब विमोचन गर्दा पार्टीकै नेताहरूले भनेको प्रसंगसमेत अध्यक्ष ओलीलाई सुनाएको पाण्डेले बताइन्।
पार्टी भूमिगत रहेका बेलाको कालखण्डमा आश्रय दिने, सुरक्षा प्रदान गर्ने र सम्पर्क सेतुहरूको सहयोग, अनुभव, अनुभूति समेटेर उनले ‘भुइँमान्छे’ लेखेकी थिइन्।
जिम्मेवारी निलम्बन गरे पनि पार्टीका नेताहरूले विमोचनमा साथ दिऊन् भनेर झापातिरकै एक नेतालाई भनेकी पनि थिइन्।
‘तर उहाँले पार्टीको प्रचार तथा प्रकाशन विभागसँग सेन्सरपास (जाँचपास) गरेर ल्याउनुपर्छ पो भन्नुभयो ! पार्टीमा यस्तो भएको कहिल्यै थाहा थिएन। यस्तो काम मबाट हुँदा पनि हुँदैन भनेँ। उनले भनेको कुरा मैले जस्ताको तस्तै अध्यक्ष ओलीलाई पनि राखेँ। अध्यक्षले खै यस्तो त हुनुनपर्ने हो, मलाई पनि यस्तो कुरा थाहा थिएन भन्नुभयो,’ पाण्डेले भनिन्।
उनले कोअर्डिनेसन केन्द्र बनाउँदाका आश्रयदाता, विराटनगर मिल्सका मजदुर भक्तबहादुर आले र अर्का कृषि मजदुर टेकबहादुर राई (उनी पनि भूमिगत कालका आश्रय दाता नै हुन्) लाई प्रमुख अतिथि बनाएर कार्यक्रम गरेकी थिइन्।
उनले पार्टीका उपाध्यक्ष गुरू बराललाई पनि बोलाएकी थिइन्। उनी गएनन्। बराल नआउने र पार्टीले पनि असहयोग गरेपछि उनले नरेश खरेललाई अतिथि बनाएकी थिइन्।
‘गुरू बरालल तपाईंहरूको निलम्बन फुकुवा भएपछि पार्टीका नेताहरू नै बोलाएर विमोचन गरौंला भन्नुभएको थियो,’ पाण्डेले भनिन्, ‘मेरो चाहना पार्टीका नेताहरूबाट भन्दा पनि भुइँमान्छेहरूबाटै भुइँमान्छेको विमोचन गराउनुथियो गराएँ।’
किताबको प्रसंग सकिएपछि अध्यक्ष ओलीले ‘पार्टीको काम के भइरहेको छ’ भनेर सोधेको पाण्डेले बताइन्।
त्यसक्रममा आफूले ‘तपाईंहरूले निलम्बन गर्नुभएको छ, के काम गर्नु नि१’ भनेको पाण्डेको भनाइ थियो।
त्यसपछि अध्यक्ष ओलीले ‘कहिले निलम्बन सकिन्छरु’ भनेर सोधेको पाण्डेले बताइन्। ‘खोई कहिले पो सकिन्छ, अहिलेसम्म चिठी त दिएको छैन कसरी थाहा हुनू भनेँ,’ पाण्डेले भनिन्।
भेटका क्रममा अध्यक्ष ओलीले पार्टी निर्णयमाथि प्रश्न उठाउनु जायज भए पनि बाहिर भन्दै नहिँडेको भए हुन्थ्यो भन्ने आसय प्रकट गरेका थिए। जबाफमा पाण्डेले आफूले पार्टीकै हितमा बोलेको र अघिल्लो दिन निर्णय गरेर भोलिपल्टै शिलान्यास गरिहालेकाले बैठकमा धारणा राख्ने मौका नै नदिएको बताएकी थिइन्।
यसपछि अध्यक्ष ओलीले कुराकानी छोट्टयाउन खोजेका थिए। उठेरै हिँड्नै लाग्दा आफूले ‘पार्टीले गरेको निलम्बन के हुन्छरु कहिले लागू भएर कहिले सकिने होरु’ भनेर जिज्ञासा राखेको पाण्डेले बताइन्।
‘त्यसपछि उहाँले चिठी नै त दिएको रहेनछ१’ भन्दै कुराकानी बिट मारेको पाण्डेले बताइन्।
हामीले पाण्डेलाई अध्यक्षको मनसाय पार्टी काममा फर्काउने रहेछ हो भनेर सोधेका थियौं। सदाझैं हसमुख स्वभावमै देखिएका ओलीको अनुहारको भावभंगिमाबाट मात्रै भन्न नसकिने पाण्डेले बताइन्।
‘अध्यक्षसँग कुरा भएको छ। पत्र आउला नि पत्रले बताउला सबै कुरा,’ पाण्डेले भनिन्।
अध्यक्ष ओलीले त्यसदिन निलम्बन गरिएकामध्ये पाण्डेलाई मात्रै फोन गरेका रहेछन्। केन्द्रीय सदस्य तिम्सेनलाई भने ओलीले फोन गरेका थिएनन्।
प्रतिक्रिया