बुधबार, वैशाख ३, २०८२
काठमाडौं । बुधबार सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका छन् ।
मन्त्रिपरिषद्ले साना सिँचाइ कार्यक्रमका लागि स्विट्जरल्यान्ड सरकारबाट प्राप्त हुने थप अनुदान सहायता १८.८ लाख स्विस फ्र्यांक प्राप्त गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए । त्यस्तै, बैठकले आयोडिनयुक्त नुन (बिक्री–वितरण) ऐन, २०५५ आगामी साउन १ गतेदेखि नेपालराज्यभर प्रारम्भ गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।
त्यस्तै,संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक छिटो पारित गर्न सरकारका तर्फबाट आवश्यक समन्वय र सहजीकरण गर्ने निर्णय भएको उनले बताए ।
बैठकले सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउनेसम्बन्धी (पहिलो संशोधन) कार्यनीति २०८१ स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।
बैठकले हवाई सेवा व्यवस्थापन नियमावली २०८१ स्वीकृत गर्ने, पूर्वसचिव रामेश्वर खनाल संयोजकत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनका लागि सात दिनभित्र कार्यान्वयन कार्ययोजना बनाई पेस गर्न समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
प्रतिक्रिया