राजावादीहरु एकै मञ्चमा

राजावादीहरु एकै मञ्चमा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, वैशाख १५, २०८२

काठमाडौं । काठमाडौंको शान्तिबाटिकामा भएको जनप्रदर्शनमा राजावादीहरू एकै मञ्चमा उभिएका छन् । राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको मुद्दा उठाएका राप्रपादेखि संयुक्त जनआन्दोलन समिति सम्मका नेतालाई एकै मञ्चमा उभ्याउने काम राप्रपा नेपालका अध्यक्ष कमल थापाले गरेका हुन्।

यसअघि उनीहरू राजसंस्था पुनर्स्थापनालगायत समान एजेन्डामा फरक(फरक कार्यक्रम गर्दै आएका थिए।

चैत १५ गते राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसाईंको आह्वानमा तीनकुने क्षेत्रमा भएको कार्यक्रम हिंसात्मक बनेपछि राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत पक्राउ परे।

लगत्तैदेखि राप्रपाले उनीहरूको रिहाइको माग गरिरहेको छ। यही पृष्ठभूमिमा आस्थाका बन्दीहरूलाई रिहाइको मागसहित धर्मनिरपेक्षता तथा गणतन्त्रको विरोधमा बन्देज लगाउने कानुन बनाउन पाइँदैन भन्दै उनीहरू एकजुट भएका हुन्।

राप्रपा नेपालले गरेको जनप्रदर्शनको मञ्चमा पुगेका नेताहरूले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डामा एकअर्काले गर्ने कार्यक्रमलाई समर्थन गर्ने पनि उद्घोष गरे।

सोमबार शान्तिबाटिकामा भएको कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्ति नेपाल अभियानका प्रमुख केशरबहादुर विष्ट पुगेका हुन्।

कुनै बेला उनीहरू सबै राप्रपामै थिए। अहिले छिन्नभिन्न भई सक्रिय छन् तर राजसंस्था पुनर्स्थापनाको एजेन्डा भने छाडेका छैनन्। बेलाबेला जुट्ने र फुट्ने गर्दै आएका उनीहरू अहिले राजसंस्था पुनर्स्थापना, संघीयता खारेजीजस्ता मुद्दामा पुनस् एक भएका हुन्।

राप्रपाले राजसंस्था पुनर्स्थापनालगायत आन्दोलन अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा गर्ने निर्णय गर्दै आन्दोलनसमेत गर्दै आएको छ। कुनै दल वा समूहले गर्ने कार्यक्रममा सक्रिय भए वा कार्यसमितिमा कुनै पदमा बसे राप्रपाले त्यस्ता नेताको पद स्वतः खारेज हुने निर्णय गरे पनि अहिले अध्यक्ष लिङ्देन नै फरक पार्टीले गर्ने कार्यक्रममा मञ्च सेयर गर्न पुगेका छन्।

यो पनि कुनै अभियान वा समूहमा सक्रिय भए राप्रपा नेताहरूको पद स्वतः खारेज

यसअघि नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिमा बस्न नमानेका र जगमान गुरूङ कार्यवाहक अध्यक्ष हुँदा प्रतिबद्धता सभामा अनुपस्थित रहेका लिङ्देन कमल थापाले राखेको जनप्रदर्शनमा भने सहभागी भएर तिनै नवराज सुवेदीलगायत नेताहरूसँग हातमा हात मिलाएर एकजुट रहेको सन्देश दिए।

यसबीच लिङ्देन र सुवेदीबीच भेटेर कुराकानी भएको थियो। सुवेदी निवासमा उनीहरूबीच भेटवार्ता भएको फोटो राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सार्वजनिक गरेका थिए। चैत १५ गते तीनकुने क्षेत्रमा घटना भएपछि सुवेदीको घरबाहिर प्रहरीले निगरानी गरेको थियो भने सुवेदीले आफूलाई नजरबन्दमा राखेको भन्दै विज्ञप्ति जारी गरेका थिए।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीसँग कुराकानी गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन।
८६ वर्षीय पूर्वपञ्च नवराज सुवेदी संयोजकत्वको संयुक्त जनआन्दोलन समितिले चैत १४ गते दुर्गा प्रसाईंलाई ुजनकमाण्डरु तोकेको थियो भने प्रदर्शनमा समर्थनसमेत जनाएको थियो। सुवेदी पनि तीनकुने पुगेका थिए तर सभा सुरू हुनुअघि नै प्रदर्शन भड्केकोले सम्बोधन गर्न पाएका थिएनन्। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो। व्यक्तिगत घर, सरकारी गाडी, जडिबुटी प्रशोधन केन्द्र र पार्टी कार्यालयमा आगजनी र भाटभटेनीमा लुटपाट भएको थियो।

आफ्नो घर बाहिरबाट प्रहरी निगरानी हटेको भन्दै सुवेदी संयुक्त जनआन्दोलन समितिको संयोजकको जिम्मेवारीमा फर्किएपछि अध्यक्ष लिङ्देनले घरमै पुगेर उनलाई भेटेका थिए। प्रहरीले भने सुवेदीकै सुरक्षाका लागि घरबाहिर प्रहरी राख्नु परेको जबाफ दिने गरेको थियो।

साथै राप्रपा अध्यक्ष लिङ्देनसहित ७ जना नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख ५ गते निर्मल निवासमा पुगेर छलफल गरेका थिए।