आइतबार, वैशाख २१, २०८२
भक्तपुर । ट्राफिक प्रहरी परिसर भक्तपुरमा अब टेन्टमा ट्राफिक सचेतना कक्षा सञ्चालन गर्न नपर्ने भयो ।
सूर्यविनायक नगरपालिकाले आठ लाखको लागतमा सूर्यविनायक–६ ट्राफिक प्रहरी परिसरमा सचेतना कक्षाको नयाँ भवन निर्माण भएको छ । बिहिवार सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले उद्घाटन गरेका थिए।
२२ महिनासम्म टेण्टमा सञ्चालित कक्षामा वर्षामा चुहावट, गर्मीमा गर्मी र जाडोमा चिसोले समस्याहुने गरेको थियो । नयाँ भवन निर्माणबाट कक्षा सञ्चालनमा सहजता आएको ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्रीले जानकारी दिनु भयो ।
नगरप्रमुख थापाले ट्राफिक कार्यालयको अनुरोधमा दुई महिनामै बजेट व्यवस्थापन गरी एककोठे भवन निर्माण सम्पन्न गरेको जानकारी पनि दिनु भयो ।
२०८० साल असार ३ गतेदेखि भक्तपुरदेखि काभ्रेसम्मका चालकलाई काठमाडौसम्म जानु नपर्ने गरि भक्तपुरमै सुरु भएको ट्राफिक सचेतना कक्षा २२ महिनासम्म टेण्टमा सञ्चालन हुदै आएको थियो ।
ट्राफिक कार्यालयबाट सचेतना कक्ष निर्माणका लागि बजेट माग भएको दुई महिनामै बजेट व्यवस्थापन गरेर एक कोठे भवन निर्माण गर्न सफल भएको नगर प्रमुख थापाले बताउनु हुन्छ ।, “ट्राफिक सचेतना कक्षा लिन अव घामपानीको सकस खेप्नुपर्ने बाध्यता हटेर गएको छ । जनतासंग प्रत्यक्ष जोडिएका यस्ता कार्यालयहरुमा नगरपालिकाले सहयोग गर्दै आएको छ ।”
नगर प्रमुख थापा भन्नु हुन्छ ,“ट्राफिक प्रहरीलाई सचेतना कक्ष निर्माण, नापी कार्यालयलाई नक्सा डिजिटलाइजेन गरि व्यवस्थित गर्न, मालपोल कार्यालयलाई फाइल व्यवस्थापन गर्न, प्रहरी परिसर भक्तपुरलगायत बिभिन्न सरकारी निकायलाई समेत नगरपालिकाले यथासक्य सहयोग गर्दै आएका छौँ ।”
सूर्यविनायक नगरपालिका–६ का वडाध्यक्ष ईश्वर खड्काले पानी पर्दा टेण्डभित्र कक्षा लिन निकै समस्या भएको र डरलाग्दो अबस्था देखेरनै नगरपालिकाले भवन निर्माणका लागि रकम सहयोग गरेको बताए ।
ट्राफिक प्रहरी परिसर भक्तपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले टेण्टभित्र सचेतना कक्षा लिन पानी पर्दा, घाम चर्किदा र जाडोमा निकै समस्या पर्दै आएकोमा नगरपालिकाको सहयोगमा भवन बन्दा काममा सहजता आउँने बताए ।
प्रमुख खत्रीका अनुसार, सो कार्यालयबाट दैनिक बिहान ९ बजेदेखि २ बजेसम्म १०० देखि १५० जनाले कक्षा लिने गरेका छन् । साथै चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म १६ हजार ३१३ जनाले सचेतना कक्षा लिएको जानकारी पनि दिनु भयो ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरि सवारी साधन चलाएको, लेन अनुशासन उलंघन गरेको, तीब्र गति र रात्तोबत्ति उलंघन गरि कारबाहीमा पर्ने चालकलाई ट्राफिक प्रहरीले जरिवानासहित टोकन लिएर एक घण्टाको सचेतना कक्षामा सहभागी गराउँदै आएको छ ।
प्रतिक्रिया