आइतबार २१ बैशाख २०८२
धादिङ । धादिङकाे गजुरी गाउँपालिका–२ मा श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका चुडामणि कँडेल सुपारी दिएका व्यक्तिहरूबाट आफैं मारिएको खुलासा भएको छ । प्रहरी अनुसन्धानका क्रममा २७ चैतमा आफ्नै घरको शौचालयमा घाँटी डोरीमा कस्सिएको अवस्थामा फेला परेका कँडेलको हत्या भएको खुलेको हो ।
हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका–९ का अक्कल बहादुर प्रजा , पृथलाल थिङ र सञ्चलाल तामाङले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको स्वीकारेको प्रहरी बताउँछ ।
जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी दिपेन्द्र शाही उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको बताएका छन् ।
प्रहरीका अनुसार चुडामणिले श्रीमतीको हत्याका लागि प्रजालाई ४ लाख रुपैयाँ ‘सुपारी’ दिएका थिए । रकम पाएपछि प्रजाले हत्या योजनामा पृथलाल र सञ्चलाललाई पनि समावेश गराएका थिए । उनीहरूले सुस्मिताको हत्याको लागि पटक–पटक प्रयास गरे पनि सफल भएनन् । त्यसपछि चुडामणिले आफूले दिएको पैसा फिर्ता गर्न ताकेता गरिरहेका थिए ।
‘पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरूले सुस्मिताको हत्या गर्न त सकेनन् नै, पैसा पनि फिर्ता नदिएपछि चुडामणिकै हत्या गर्ने योजना बनाएछन्’ शाहीले भने, ‘त्यसपछि चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ ।’ त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेको खुलेको थियो ।
मृतक कँडेल र उनकी श्रीमती सुस्मिता सिलवाल बीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन् , एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन ।
कँडेल मारिनु दुईसाता अघि मात्र उनी गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएकी थिइन् । त्यही कारण पनि स्थानीयले श्रीमतीमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर, जाँचका क्रममा कँडेलकै अर्को आपराधिक योजनाको खुलासा भयो । अहिले कँडेलको श्रीमतीले प्रहरी कहाँ उनीहरूविरुद्ध जाहेरी दिएकी छन् भने पोष्टमार्टमपछि परिवारले अन्त्येष्टि गरेका छन् ।
प्रतिक्रिया