तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्नु पर्छः प्रा. डा. शिवराज अधिकारी

तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई प्राथमिकतामा राख्नु पर्छः प्रा. डा. शिवराज अधिकारी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, वैशाख २४, २०८२
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बुधबार आयोगको आयोजनामा आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम तथा मध्यमकालीन खर्च संरचना तर्जुमा एवं राष्ट्रिय आयोजना बैंकसम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै तत्काल सम्पन्न गर्न सकिने आयोजनालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

आयोगका उपाध्यक्ष प्रा.डा.अधिकारीले आयोजनालाई अध्ययन र कार्यान्वयन हुने किसिमका गरी दुई प्रकारमा विभाजन गरिने उल्लेख गरे । उनले कार्यान्वयन गरिने खालका आयोजना तीन करोड रूपैयाँभन्दा कमको नहुने बताए ।

उनले तीन करोडभन्दा कमको आयोजना राष्ट्रिय आयोजना बैंकमा प्रविष्ट गर्न नमिल्ने बनाइएको समेत छलफलका क्रममा स्मरण गराए ।

सरकारको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै आयोजनाको प्राथमिकता र पुनः प्राथमिकता गर्नुपर्ने उल्लेख गरे । छिटो सम्पन्न हुने आयोजनालाई पहिलो प्राथमिकता दिनुपर्ने उनले जोड दिए ।

उनले प्रोजेक्ट बैंकमा पनि नजाने डीपीआरमा पनि नजाने आयोजनामाथि प्रश्न उठ्ने र उठ्नु जायज पनि भएको भन्दै विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नभएको आयोजना अध्ययनको क्रममा राखिने समेत उल्लेख गरे ।