१ असार २०८२
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले प्रतिनिधि सभा बैठकमा बोल्दै, भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग गरिएको दुई बुँदे सहमतिलाई लिएर नेता अग्नि सापकोटाको मुद्दासँग साटेको भनेर गरिएको टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै नेता पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे ।
‘निष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ’, उनले भने , ‘अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ ।’ उनले केहीले भिजिट भिसा प्रकरणमा सहमति गर्नुमा माओवादी आफैले पनि गृह मन्त्रालय चलाएकाले तर्सिएको हो कि भनेर प्रश्न गरे पनि माओवादी नतर्सिएको दाबी गरे ।
‘होइन माओवादी तर्सिएको छैन । आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौ’, उनले भने, ‘सरकार तयार भएको छ ।’
‘दुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्यो भनेजसरी प्रचार भएको छ । त्यसो होइन कुनै लेनदेन भएको छैन’, उनले भने, ‘अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन् । यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ । त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन । सत्तातिर वा सरकारतिर वा माओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस् ।’
प्रतिक्रिया