दलाई लामाका निजी सचिवद्वारा लैङ्गिक हिंसा गरेको आरोप

दलाई लामाका निजी सचिवद्वारा लैङ्गिक हिंसा गरेको आरोप

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

काठमाडौं । भारतको धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक गुरु १४औं दलाई लामाको निजी सचिवले यौन दुर्व्यवहार गरेको खबर बाहिरिएको छ ।

लामाका भतिज एवं निजी सचिव तेन्जिङ ताक्लाले श्रीमती छिरिङ डोक्लर ताक्लामाथि लैङ्गिक हिंसा गरेको आरोप लागेको हो । सो आरोप उनकै श्रीमतीले लगाएकी हुन् । उनले आफ्नो फेसबुक पेजमा घरेलु हिंसाको शिकार भएको भन्दै “निराशजनक सहायता माग“ गरेको पोस्ट यतिबेला भाइरल भएको छ ।

आफुलाई श्रीमानले गरेको लैङ्गिक हिंसाको आरोप लगाएको पोस्ट भने श्रीमती ताक्लाले केही समयपछि हटाएकी छिन् । यद्यपी सो पोस्टको स्क्रिनसट भने अझै पनि इन्टरनेटमा प्राप्त गर्न सकिन्छ ।

तिब्बती समुदायका सम्मानित धर्मगुरुकै भतिजबाट भएको भनिएको यो प्रकारको हिंसाबाट तिब्बती समुदाय निरास बनेका छन् । यस्तो कार्यबाट तिब्बती समुदायकै शिर निहुरिने र दलाई लामाको प्रतिष्ठामा समेत आँच पुग्ने भन्दै उनीहरु चिन्तित र निरास बनेका हुन् ।

यद्यपी ती महिलाले तेन्जिङ ताक्लाबाट भएको भनिएको हिंसासम्बन्धी पोस्ट हटाउँदै आफ्नो फेसबुक र ह्वाट्एप ह्याक्क भएको जनाएकी छिन् । तर, आलोचकहरुले भने उनकै श्रीमानसहितका उच्चपदस्थ व्यक्तिहरुले पोस्ट हटाउन, कन्टेन्ट अस्वीकार गर्न र फेसबुक एवं ह्वाट्एप ह्याक भएको प्रतिक्रिया लेख्न दबाब दिएको दाबी गरेका छन् ।

निर्वासित जीवन बिताइरहेका तिब्बती महिलाहरुले उच्चपदस्थ व्यक्तिहरुबाटै खतरनाक लैङ्गिक हिंसाको सामना गरेका खबरहरु यसअघि पनि सार्वजनिक हुने गरेका थिए । यसअघि सन् २०२३ मा लामाले एक बालिकालाई आफ्नो जिब्रो चुस्न लगाएको दृश्य सार्वजनिक भएको थियो । सो कार्य आलोचित भएपछि लामाको सचिवालयले माफी मागेको थियो ।

लामा पक्षधरहरुले भने ताक्लालाई फसाउन खोजिएको प्रतिक्रिया जनाएका छन् । उनीहरुले दलाई लामाको प्रष्तिठामाथि आँच पुर्याउन चीन सरकार समर्थकहरुले फेक घटनालाई आधार बनाएर तेन्जिङ ताक्लाको व्यक्तिगत चरित्रमा प्रश्न उठाएको जनाएका छन् ।

तेन्जिन ताक्ला लामाको पहुँच र दैनिक तालिका नियन्त्रण गर्ने शक्तिशाली व्यक्ति मानिन्छन् । ताक्लामाथि यसअघि पनि कार्यालयका धेरैजना महिला कर्मचारीलाई यौन दुव्र्यवहार तथा बलपूर्वक सम्बन्ध राख्न बाध्य पार्ने आरोप पनि लाग्दै आएको छ ।

श्रीमती छेरिङ डोल्कर ताक्लाले आफ्नो श्रीमानको मोबाइलमा धेरैजना महिलासँगको अश्लील कुराकानी र आपत्तिजनक तस्बीरहरू फेला पारेपछि झगडा सुरु भएको थियो । त्यसपछि ताक्लाले श्रीमतीलाई हातपात गरेका थिए ।

जसका कारण उनको छातीको हड्डीसमेत भाँचिएको बताइएको छ भने शरीरमा निलडाम देखिन्छ । उनलाई कुटपिट गर्दै सम्बन्ध विच्छेदसम्मको धम्की दिन थालेको श्रीमतीले सार्वजनिक गरेकी छिन्। तख्लाकी श्रीमती छिरिङ नेपाली मूलकी हुन्।

वरिष्ठ कर्मचारीहरूका अनुसार सन् २००९ देखि नै तेन्जिन ताक्लाको यौन दुव्र्यवहार आन्तरिक वृत्तभित्र ‘खुला रहस्य’ बन्दै आएको थियो । उनी महिला कर्मचारीहरूलाई प्रायः महंगा होटलहरूमा लिएर जान्थे ।

एकपटक कार्यालयमै त्सेरिङ ल्हामो नामकी महिलासँग शारीरिक सम्बन्धमा रहेको अवस्थामा समातिएको दाबी गरिएको छ । ताक्लाले दलाई लामासँग भेट गराइदिने शर्तमा यौन सम्बन्धको माग गर्ने गरेको आरोप पनि लाग्ने गरेको छ । तर उनी विरुद्ध उजुरी गर्न ती महिलाहरु डराउने गरेको बताइको छ ।

यौन दुराचारमात्रै होइन तेन्जिनमाथि भ्रष्टाचार अनि अनियमितताका पनि थुप्रै आरोपहरू छन्। पछिल्लोपटक उनी केही जग्गा जमिन र आर्थिक अनियमिततामा समेत मुछिएका छन् । त्यस्तै उनका छोराले समेत दलाई लामाको ‘दर्शन’ गराइदिने भन्दै कैयौं अनुयायीहरूबाट पैसा असुल्ने गरेको उजुरीहरूलाई लामाको सचिवालयले बीचबाटोमै ढिसमिस गराइदिएका छन्।

तेन्जिन तक्लाको यो विवादले तिब्बती बौद्ध नेतृत्वको नैतिकता माथि गम्भीर प्रश्न खडा गरिदिएको छ । यसबाट ९० औं जन्मदिन मनाउन लागेका लामाकै प्रतिष्ठामा पनि आँच पुग्ने आशंका गरिएको छ ।

आलोचकहरूका अनुसार यो मात्रै तेन्जिनमाथि तेर्सिएको प्रश्न वा उनका आचरणहरूमाथिको मुद्दा होइन। बरु यो त बौद्ध दर्शनलाई आत्मसात गरेका लाखौं धार्मिक अनुयायीहरूको आस्थामाथिको गम्भिर चोट हो ।

अर्थात् एउटा बौद्धमार्गीको सर्वोच्च नेताले नेतृत्व गर्ने एउटा धार्मिक समुदाय र संस्थामाथि नै यति गम्भीर प्रकृतिको आरोपहरू लागिरहँदा अब यस्ता चरित्रबारे लामा आफैले के प्रतिक्रिया देलान् भनेर यतिबेला सारा विश्व नै व्यग्र प्रतीक्षामा छ।