काठमाडौं । श्रीमान श्रीमतीको झगडा मिलाउन गएको प्रहरी टोलीले पेस्तोल बरामद छ । तपाईलाई सुन्दा पनि अचम्म लाग्ला । तर, यो सत्य घटना हो ।
बिहीबार राति १२ बजेतिर काठमाडौं महानगरपालिका–१६, चमतीमा डेरा गरी बस्ने शिवराज दराईकी श्रीमतीले आफूलाई श्रीमान्ले कुटपिट गरेको भन्दै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।
‘श्रीमान्–श्रीमतीको झगडाको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेको थियो,’ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले भने, ‘प्रहरी पुगेपछि शिवराज दराई भागे । त्यसपछि शंका लागेर कोठामा खानतलासी गर्दा लुकाइछिपाइ राखिएको अटोमेटिक पेस्तोल एक थान, मालाग्नेम्याग्जिन दुई थान र सात राउन्ड गोली बरामद भएको छ ।’
भागेका दराईलाई प्रहरीले बिहान करिब ११ बजे टोखा नगरपालिका–९ स्थित एक होटलको कोठाबाट पक्राउ गरेको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ का २९ वर्षीय उनी चमतीमा कोठामा बस्दै आएका थिए ।
एसपी बोहराका अनुसार दराईविरुद्ध यसअघि पनि २०७८ असोज १८ गते अभद्र व्यवहार र ०८० कात्तिक १९ गते लागुऔषधसम्बन्धी मुद्दा दर्ता भएको थियो । अहिले पेस्तोल बरामद भएपछि हातहतियार खरखजाना मुद्दामा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया