हामी निर्वाचनबाट पछि हट्ने अवस्थाबाट भाग्दैनौँ: कांग्रेस

हामी निर्वाचनबाट पछि हट्ने अवस्थाबाट भाग्दैनौँ: कांग्रेस

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, असोज २९, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् पुनर्स्थापनाका विषयमा राजनीतिक दलका नेताहरुसँग परामर्श गरेका छन् । उनले आफू नेतृत्वमा संसद् पुनर्स्थापनाका लागि जाने तयारी गर्दै दलहरुसँग धारणा मागेका हुन् ।

यसअघि नै घिमिरले संसद् पुनर्स्थापनाका विषयमा दलहरुको धारणासहित आउन भनेका थिए ।

आज सभामुखले बोलाएको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सर्वोच्चमा रिट पुगिसकेको बताउँदै सर्वोच्चको व्याख्या र आदेशलाई मान्दै निर्वाचनको तयारी पनि थाल्ने बताए ।

“यसअघि पनि आठ दलका प्रमुख सचेतकले संसद् विघटन असंवैधानिक भनिसकेका छौँ । हामीले दसैंअघि पार्टीको कार्यसम्पादन समितिको बैठकले पनि असंवैधानिक छ भनेर भनेका छौँ । तर हामी लोकतान्त्रिक पार्टी भएको नाताले निर्वाचनबाट हट्दैनौँ । सर्वोच्चले गर्ने फैसला हामीले सम्मान गर्छौं,” उनले भने ।

उनले सर्वोच्चले जे आदेश दिए पनि मान्ने बताए ।

“हामी निर्वाचनबाट पछि हट्ने अवस्थाबाट भाग्दैनौँ । सर्वोच्चले संसद् पुनर्स्थापन गरे सम्मान गर्छौँ,” उनले भने, “केन्द्रीय समितिको बैठक जारी छ । भोलिबाट फेरि बैठक निरन्तर हुन्छ । केन्द्रीय समितिले थप निर्णय गर्नेछ । संवैधानिक परीक्षणको आवश्यकता छ । १० वटा रिट हिजो नै दर्ता भएको छ । भोलि थप पर्लान् ।”

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकार चुनाव गराउने बाटोमा नगएको बताउँदै अहिले संसद् पुनर्स्थापना आवश्यक भएको बताए ।

“अहिले देश संवैधानिक मार्गभन्दा बाहिर छ । एउटा चुनाव र अर्को संसद् पुनर्स्थापना नै बाटोमा ल्याउने विधि हो,” उनले भने, “निर्वाचन गराउने अवस्थामा सरकार छैन । गृह प्रशासन नै दलका नेतालाई गिज्याउँदै हिँड्न थालेको छ । राजनीतिक पार्टीले आफ्नो विचार लिएर जनताका बीचमा जान पाउँछन् । लुटेका हतियार ल्याउन सरकारलाई चासो छैन । त्यसकारणले गर्दा संसद् पुनर्स्थापना जरुरी छ ।”

उनले एमाले पुनर्स्थापनाको पक्षमा रहेको बताए ।

नेकपा एसका उपाध्यक्ष राजेन्द्र पाण्डेले आफूहरु चुनावको तयारीमा रहेको बताए । तर सरकार तयार नभएको निष्कर्ष आफूहरुको रहेको धारणा राखे ।

“हामी चुनावमा जान्छौँ भनेर निर्णय गरेका छौँ । डिरेल भएको प्रक्रियालाई चुनावले लिकमा ल्याउँछ,” उनले भने, “सरकारका मन्त्री नै चुनाव नगर्ने भाषा बोलिरहेका छन् । जेनजी र राजनीतिक दल लडाउने कुरा गरेका छन् । पाँच हजार कैदी बाहिर छन् । हतियार बाहिर छन् । ९६ हजार गोली हराएका छन् । पहिला निर्वाचनको वातावरण बनाउनुपर्‍यो ।”