बिहीबार , चैत १२, २०८२
काठमाडौं । बिहीबार (चैत १२) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सपथ पश्चात सवोर्च्च अदालत पुगेर अवहेलना मुद्दामा तारिख बुझेका छन् । सर्वोच्च प्रशासनको फाँटमा पुगेर उनले मुद्दाको म्याद बुझेका हुन् । सिंहदरबारमा सांसदको सपथ लिने बितिकै सोही पोसाकमै सर्वोच्च पुगेर उनले पेसी बुझेका हुन् ।
उनले आउँदो जेठ १४ गतेको म्याद बुझेको सर्वोच्च प्रशासनका अधिकारीले जानकारी दिए । झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्य रहेका बालेनले शुक्रबार (चैत १३) वैदिक कर्मकाण्ड विधिअनुसार प्रधानमन्त्री पदको शपथ लिँदै छन् ।
बालेन आफूविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा तारिख बुझ्न पुगेका हुन् । उच्च अदालत पाटनले सिनेमा हल सञ्चालकलाई हिन्दी फिल्म नरोक्न काठमाडौं महानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेपछि त्यति बेला मेयर रहेका बालेनले कडा अभिव्यक्ति दिएका थिए ।
सामाजिक सञ्जालमार्फत उनले छिमेकी मित्रराष्ट्रसँग अदालत र सरकारलाई जोडेर आपत्तिजनक लाञ्छना लगाएको जिकिरसहित अधिवक्ता वर्षाकुमारी झाले अवहेलना मुद्दा दायर गरेकी थिइन् ।
बालेनले फेसबुकमा ‘सजाय भोग्न तयार छु, तर फिल्म चल्दैन र चल्न दिइने छैन’ भन्दै स्टाटस लेखेका थिए । बालेनले अदालतको आदेश नमान्ने घोषणा गरेको दाबीसहित उनीमाथि कारबाहीका निम्ति अधिवक्ता झाले अवहेलना मुद्दा दिएकी हुन् । ०८० असार ७ गते फेसबुकमार्फत यस्तो अभिव्यक्ति दिइएको उनले जनाएकी छन् । बालेनको उक्त अभिव्यक्तिले कानुनी विवादको रूप लिएको हो ।
न्याय प्रशासन ऐन, ०७३ को दफा १७ र सर्वोच्च अदालत नियमावली, ०७४ को नियम ५९ बमोजिम अदालतको अवहेलनाजन्य कसुरमा हदैसम्मको सजाय गर्न रिट निवेदनमा माग गरिएको छ । कानुन र अदालतको फैसलालाई अक्षरशः पालना गर्नेरगराउने सार्वजनिक ओहदामा बसेको व्यक्तिले सामाजिक सञ्जालमा दिएको अभिव्यक्ति ‘क्षमायोग्य’ नरहेको अधिवक्ता झाको जिकिर छ ।
उक्त मुद्दामा सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयालको संयुक्त इजलासले तारिखका निम्ति वारेस राख्न बालेनको मागअनुसार अनुमति दिन अस्वीकार गरेको छ । तारिखमा स्वयम् हाजिर हुन भनेका कारण बालेन आफैँ सर्वोच्चमा उपस्थित भएका हुन् ।
सर्वोच्च प्रशासनले अवहेलना मुद्दामा बालेनलाई आउँदो जेठ १४ गतेका निम्ति तारिख तोकेको छ । त्यस दिन अवहेलना मुद्दामा दुवै पक्षको सुनुवाइ हुनेछ ।
प्रतिक्रिया