सुकुम्वासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका निम्ति सहजीकरण तत्पर

सुकुम्वासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका निम्ति सहजीकरण तत्पर

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आइतबार, वैशाख २०, २०८३

काठमाडौं । शिक्षा क्षेत्रका सरोकारवाला संगठनहरूले सुकुम्वासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तत्पर रहेको जनाएका छन् ।
आइतबार (वैशाख २०) संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै प्रभावित क्षेत्रका बालबालिकाहरूलाई तत क्षेत्रका निजी विद्यालयहरूमा निःशुल्क ढंगले पढ्ने अवसर उपलब्ध गराउने, आवश्यकताअनुसार आवास तथा यातायातको व्यवस्थापन गर्ने लगायतका सहयोगात्मक उपायहरू व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न तयार रहेको जनाएका हुन् ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, स्थानीय तह तथा सम्बन्धित निकायहरूसँग समन्वय गरी प्रभावित तथा वास्तविक सुकुम्वासी परिवारका बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चितका लागि आवश्यक सहयोग र सहजीकरण गर्न हामी तत्पर छौँ, विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकार, स्थानीय तह, शैक्षिक संस्था र समुदायबीचको सहकार्यबाट प्रतिकूलतामा पनि अनुकूलता निर्माण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।

नेपाल सरकारले उपत्यकाका विभिन्न नदी किनार तथा देशका विभिन्न जोखिमयुक्त स्थानमा रहेका सुकुम्वासी वस्तीहरू खाली गराउने कार्य तीव्र गतिमा अघि बढाइरहेको छ । यसबाट प्रभावित समुदायका बालबालिकाको पठनपाठनमा परेको अवरोधप्रति सचेत रहँदै, नेपालको संविधानले प्रत्याभूत गरेको बालबालिकाको आधारभूत शिक्षाको मौलिक अधिकारलाई कुनै पनि परिस्थितिमा खलल हुन नदिनु राज्य, समाज र शैक्षिक क्षेत्रको साझा दायित्व रहेको जनाइएको छ ।

वर्तमान अवस्थाप्रति संवेदनशील र उत्तरदायी रहँदै स्थानीय तहसँग सहकार्य गरी समस्या समाधानमा रचनात्मक सहयोग पुऱ्याउन सबै संगठनहरू प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।