सोमबार, भदौ १५, २०८३
काठमाडौं । नेपाली सेनाले बाढी प्रभावित क्षेत्रमा पैदल गस्ती सुरु गरेको छ । सर्वसाधरणको अवस्था बुझ्न पैदल गस्ती सुरु गरिएको सेनाले जनाएको छ ।
“प्रभावित क्षेत्रका जंगल, एवं डाडाँहरूका साथै खोला र बस्ति इलाकामा स्थानीयहरूलाई सुरक्षा प्रत्याभूति दिलाई उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती गरी आम जनसमुदायसँग अवस्था बुझ्ने कार्य भएको छ,” नेपाली सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गस्तीका क्रममा स्याफ्रुबेसी इलाकामा राहत तथा राशन वितरणको कार्य, लाङटाङ हाइड्रो इलाकामा रेकी तथा गस्ती समेत सञ्चालन गरिएको सेनाको भनाइ छ ।
नेपाली सेनाले स्थापना गरेको आपत्कालीन उपचार केन्द्र, त्रिशूली र धुन्चेमा हालसम्म दुई हजार ६३२ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व) लगायत नवलपरासी पश्चिमका प्रभावित क्षेत्रहरूमा नेपाली सेनाका आठ हजार नौ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा खटिएको विज्ञप्तिमा उल्लेख छ ।
हालसम्म करिब २३ हजार १९४ केजी राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हवाई माध्यमबाट ढुवानी गरिएको सेनाले जनाएको छ ।
प्रतिक्रिया