कात्तिक २९, २०८३
काठमाडौँ । सरकारले वर्षौँदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक औद्योगिक संस्थानहरूलाई राज्यकोषबाट थप एक रुपैयाँ पनि आर्थिक भार नपर्ने गरी पुनः सञ्चालनमा ल्याउने गृहकार्य तीव्र पारेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा रहेको सार्वजनिक प्रतिष्ठान (सरकारी लगानी) व्यवस्थापन समिति’ अन्तर्गत गठित उपसमितिले पहिलो चरणमा गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट उद्योग र उदयपुर सिमेन्ट उद्योगको विस्तृत अध्ययन (डीडीए) अन्तिम चरणमा पुर्याएको हो। रास्वपा सांसद सुशील खड्काको संयोजकत्वमा रहेको उक्त उपसमितिले उद्योगहरूको सम्पत्ति र दायित्व मूल्यांकन गरी सञ्चालनको नयाँ आर्थिक मोडल सिफारिस गर्ने तयारी गरिरहेको छ।
के—के छन् सञ्चालनका विकल्प?
उपसमिति संयोजक खड्काका अनुसार जग्गा बिक्री नगरी र सरकारलाई थप दायित्व नपर्ने गरी उद्योग चलाउन विभिन्न विकल्पमा छलफल भइरहेको छ ।
सञ्चालन लिज (Operation Lease) उद्योगको स्वामित्व सरकारसँगै रहने तर निश्चित अवधिका लागि निजी क्षेत्रलाई चलाउन दिने।
‘हाइड्रोपावर’ मोडल (पीपीपी) जलविद्युत् आयोजनामा जस्तै ३० वर्षका लागि निजी क्षेत्रलाई लगानी र सञ्चालन गर्न दिने तथा त्यसबापत राज्यले रोयल्टी लिने र अवधि सकिएपछि पुनः राज्यकै स्वामित्वमा आउने मोडल।
रणनीतिक साझेदारः विशेषगरी नेपाल एयरलाइन्स र नेपाल टेलिकमजस्ता संस्थानमा रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत प्रारम्भिक छलफल भइरहेको छ।
लगानीको अवस्था र सम्भावना
सरकारको वार्षिक समीक्षा प्रतिवेदन, २०८३ अनुसार सार्वजनिक संस्थानहरूमा सरकारको कुल सम्पत्ति करिब ७ खर्ब ९८ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। तर, लगानीअनुसारको प्रतिफल आउन सकेको छैन।
उपसमिति संयोजक खड्काले राजनीतिक हस्तक्षेप र स्वायत्तताको अभावले उद्योगहरू धराशायी भएको बताउँदै अब व्यावसायिक ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। उनका अनुसार बजारमा गोरखकाली टायरको माग र झापामा भइरहेको रबर खेतीले उक्त उद्योगको सम्भावना बलियो देखाएको छ। त्यस्तै, उदयपुर र हेटौँडा सिमेन्टको गुणस्तरमा उपभोक्ताको उच्च विश्वास रहेकाले र प्रयोगविहीन रहेका करिब २० हजार बिघा जग्गाको सदुपयोग गर्न सके यी उद्योग सहजै नाफामा जान सक्ने अध्ययनको निष्कर्ष छ।
प्रतिक्रिया