नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडेका छनः झलनाथ खनाल

नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडेका छनः झलनाथ खनाल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

असोज ३, २०८१ , काठमाडौं ।

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता झलनाथ खनालले संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ठूला भनिएका दलको नेतृत्व तहकै व्यक्तिहरू काण्डै काण्डको माला भिरेर हिँडिरहेको बताएका हुन्।

त्यसकारण संविधान बनेको ९ वर्ष बितिसक्दा पनि देशका श्रमजीवि र किसानको जीवनमा खासै परिवर्तन नआएको बताएका हुन्।

उनले ठूला भनिएका पार्टीहरूलाई प्रश्नसमेत गरेका छन्।

‘आखिर कहाँ बगेर गयो त्यत्रो विपुल बजेटको लगानी ? किन मुठ्ठीभरका माथिल्ला वर्गका भ्रष्टाचारी, तस्कर, कालाबजारी र दलाल पुँजीपतिहरू मात्र करोडपतिबाट अरबपति खरबपति बन्दै गइरहेका छन ? यो देशका ठूला हौ भन्ने पार्टीका नेतृत्व पंक्तिका व्यक्तिहरू कसरी काण्डै काण्डका माला भिरेर हिँडिरहेका छन् ?,’ उनले भने।

खनालले जनता महँगीको मारमा पिल्सिनुपरेको,युवा र विद्यार्थीहरू विदेश जान बाध्य भएकादेखि एउटै पार्टीले दुई तिहाई बहुमत पाउँदासम्म काम गर्न नसकेकोबारे ठूला भनिएका दलहरूलाई प्रश्न गरेका छन्।

यी प्रश्नहरूको जवाफ ठूला पार्टीका नेताहरूसँग छैन । यसर्थ अरु कुनै कारण छैन । आज देशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यो ठूला पार्टीहरूका नेतृत्वमा रहेको दिशाहिनता, लक्ष्यहिनता, अकर्मण्यता, आत्मकेन्द्रित स्वार्थीपन, भ्रष्ट आचरण, सत्तालोलुप्ता, दम्भ, घमण्ड र सर्वोपरि रुपमा सिद्धान्तहिनता, नैतिकहिनता र निष्ठा विहिनताको अनिवार्य परिणाम हो,’ उनले भने।

संविधानको भाग ४ मा उल्लिखित कामहरूलाई मात्रै ठीक ढंगले लागू गरेको भएपनि देश अघि बढ्ने उनको भनाइ छ।

खनालले मुलुकमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक संकट गहिरिदै गएको र राष्ट्रियता माथिको संकट पनि चर्को बनिरहेको बताए।

‘विदेशी सेनाहरू अनेक बहानामा हाम्रो मातृभूमिका छातीमा बुट बजार्न थालेका छन । आम जनतामा असन्तोष, विरोध र आक्रोश उम्लिरहेको छ । उनीहरू समाजवाद र समृद्धिको बाटो खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवाद कता हराइरहेको छ ? ठूला पार्टीका वक्तव्य र भाषणबाट किन समाजवाद गायब भइरहेछ ? आम जनता व्यग्रताका साथ समाजवाद खोजिरहेछन् । आजको भ्रष्ट प्रणालीको विकल्प खोजिरहेका छन् । संविधानमा उल्लेखित समाजवादको वास्तविक रूप खोजिरहेछन्,’ उनले भने।

यस्तो अवस्थामा एकीकृत समाजवादीले नपाली विशेषताको समाजवाद कार्यक्रम अगाडि सारेको बताउँदै त्यसले जनता, युवा र बौद्धिक क्षेत्रको ध्यान तानेको बताए।

खनालले संविधानमा उल्लेखित प्रगतिशील र समाजवादी पक्षलाई केलाउँदै ती पक्षहरूको रक्षाका निम्ति दृढतापूर्वक खडा हुन पनि आह्वान गरेक छन्।

सन्देशमार्फत उनले भनेका छन् ,‘संविधानलाई पश्चगमन तर्फ लानबाट रोकौं । ठुला पार्टीहरुका जनता झुक्याउने नीतिहरूको भण्डाफोर गरौं, वास्तविक समाजवादको पक्षमा देशव्यापी जनजागरणको लहर सृर्जना गरौं र वर्तमान संविधानलाई ठूला पार्टीहरूको खेलौना बन्न नदिऔँ, यसलाई नेपाली जनताको आकांक्षा अनुरूप समाजवादको उचाइतिर अघि बढाऔं,’ ।